भारतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा त्यस्तो विवादास्पद टिप्पणी ! जसले भारतीय राजनीति र समाजमा डिजिटल आँधी ल्याइदिएको छ । आँधी झै फैलिएको डिजिटल रेभुलुसनले भारतीय सत्ताधारीहरुको मुटु हल्लाइदिएको छ ।
कक्रोच रेभुलुसन नाममा चलाइएको डिजिटल विद्रोह लाखौँ भारतीय युवाको असन्तुष्टि, बेरोजगारी, राजनीतिक निराशा र सामाजिक आक्रोशको प्रतीक बनेको छ । ‘म पनि कक्रोच’ भन्ने नारा अहिले भारतभरका युवामाझ भाइरल बनेको छ । सामाजिक सञ्जालमा लाखौँ पोस्ट, मीम, भिडियो र व्यंग्यात्मक राजनीतिक सामग्री यही नारामाथि आधारित छन् ।
यही मे १५ मा सर्वाेच्च अदालतमा भएको सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवासम्बन्धी टिप्पणी गरेका थिए । उनले भनेका थिएर्, ‘कक्रोचजस्ता युवाहरू’ । उनको यो शब्द चयनले भारतीय शासकहरुलाई बेचैन बनाएको छ । दिल्ली उच्च अदालतमा वरिष्ठ वकिल नियुक्तिसम्बन्धी मुद्दाको बहसका क्रममा सूर्यकान्तले ‘रोजगार नपाएका र पेसामा स्थान नभएका कक्रोचजस्ता युवाहरू’ सामाजिक सञ्जाल र विभिन्न गतिविधिमार्फत प्रणालीमाथि आक्रमण गरिरहेका छन् भन्ने आशय व्यक्त गरेका थिए ।सूर्यकान्तको टिप्पणी सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया सुरु भयो । विशेषगरी बेरोजगारी, परीक्षा घोटाला र आर्थिक संकटसँग संघर्ष गरिरहेका भारतीय युवाले यस अभिव्यक्तिलाई आफूहरूमाथिको गम्भीर अपमानका रूपमा अथ्र्याए ।
यद्यपि विवाद बढ्दै गएपछि प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो भनाइलाई सच्याए । तर त्यसबेलासम्म एउटा नयाँ आन्दोलन जन्मिइसकेको थियो । अभिजीत दीपके नामका ३० वर्षीय भारतीय विद्यार्थीले सामाजिक सञ्जाल एक्समा ‘सबै कक्रोचहरू एकजुट भए भने के हुन्छ ?’ भनी एउटा पोस्ट गरे । यही वाक्यले केही घण्टाभित्रै विशाल डिजिटल आन्दोलनको रूप लियो ।
हाल बोस्टन विश्वविद्यालयमा पब्लिक रिलेसन्स अध्ययन गरिरहेका दीपकेले त्यसपछि ‘कक्रोच जनता पार्टी’ नाममा वेबसाइट, इन्स्टाग्राम र एक्स अकाउन्ट सुरु गरे । भारतीय जनता पार्टीको नामलाई जिस्काएर उनले यो नाम राखे । अनि ‘सबै कक्रोचहरूका लागि नयाँ प्लेटफर्म’ भन्दै युवाहरूलाई जोडिन आह्वान गरे । बिहीबारसम्म कक्रोजमा सवा करोड बढी फलोअर्स पुगिसकेका छन् । यो क्रम युद्धस्तरमा बढीरहेको छ।
दीपकेका अनुसार भारतका युवाहरू अहिलेको राजनीतिक प्रणालीसँग आफूलाई जोडिएको महसुस गर्दैनन् । उनीहरू आफ्नो भाषा, हास्य, व्यंग्य, निराशा र सामाजिक अनुभवलाई प्रतिनिधित्व गर्ने नयाँ राजनीतिक अभिव्यक्ति खोजिरहेका छन् । ‘सत्तामा बसेकाहरूले नागरिकलाई कक्रोच र परजीवी ठान्छन्,’ उनले भनेका छन्, ‘तर उनीहरूले बुझ्नुपर्छ कि कक्रोचहरू सडेगलेका ठाउँमा जन्मिन्छन् । आज भारत त्यस्तै बनेको छ ।’
यो आन्दोलनले सुरु भएको ४८ घण्टाभित्रै अभूतपूर्व लोकप्रियता हासिल मात्रै गरेन । केही दिनमै यसको इन्स्टाग्राम अकाउन्टमा ३० लाखभन्दा बढी फलोअर पुरायो । लाखौँ मानिसले यसको सामग्री साझा गर्न थाले । चार लाख बढी मानिसहरुले आवद्धता दर्शाए ।
सामाजिक सञ्जालमा ‘म पनि कक्रोच’, ‘कक्रोच रिभोलुशन’ र ‘अल्छी छौँ, तर जीवित छौँ’ जस्ता ह्यासट्याग ट्रेन्ड भइरहेका छन् । यो आन्दोलनले आफूलाई ‘धर्मनिरपेक्ष, समाजवादी, प्रजातान्त्रिक, अल्छी’ भन्ने नारासहित प्रस्तुत गरेको छ । विशेषगरी ‘अल्छी’ शब्दको प्रयोगले धेरै युवालाई आकर्षित गरेको छ ।
बेरोजगार युवामाथि गरिने आलोचनालाई व्यंग्य गर्दै आन्दोलनले ‘हामी अल्छी होइनौँ, प्रणालीले अवसर दिएको छैन’ भन्ने सन्देश दिन खोजिएको बुझिन्छ । यस आन्दोलनले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेको छ । घोषणापत्रमा बेरोजगारी, परीक्षा घोटाला, मतदाता हेरफेर, कर्पाेरेट मिडियाको प्रभाव, न्यायिक नियुक्ति, राजनीतिक जवाफदेहिता र युवाको प्रतिनिधित्वजस्ता विषय उठाइएको छ । ००००








