२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

वडाध्यक्ष कार्कीको नेतृत्वमा कृषि फर्म सञ्चालन


१७ पुस २०८१, बुधबार  


राजनीतिलाई उत्पादनमा नजोडेसम्म कृषि क्षेत्र उकासिन मुश्किल छ, नीतिहरूको नीति भएको राजनीति उत्पादन नीतिमा संलग्नता भए पछि अन्य क्षेत्र पनि आकर्षित हुन्छन् ।

अहिलेसम्म हाम्रो राजनीति कृषि उत्पादनसंग नजोडिदा कृषि क्षेत्र सबैको हेय भएको छ। यही वास्तविकतालाई बोध गरि माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धनेन्द्र कार्की यतिबेला कृषि उद्ममै व्यस्त देखिन्छन्।

सामाजिक छवि निकै उचाइ बनाएका उनै कार्कीको नेतृत्वमा वडामा कृषि फर्म सञ्चालनमा ल्याईएपछि उनी यता पनि व्यस्त भएका हुन्। वडामा उत्पादन संस्कृतिको प्रवर्द्धन गर्न प्यूठान जिल्ला माण्डवी गाउँपालिका वडा नम्बर ३ नयाँ गाउँमा रहेको बाँझो जमिनलाई उपयोग गर्ने गरी कृषि फर्म सञ्चालनमा ल्याईएको हो। वडाले वार्षिक १२ हजार लीज भाडामा लिएर तरकारी खेती गर्न लागेको वडाध्यक्ष धनेन्द्र कार्कीले बताए ।

उनका अनुसार पहिलो चरणमा आलु र प्याज रोपण गरिएको छ।कृषि प्राविधिकहरूको सल्लाह र परामर्शमा नयाँगाउमा तरकारी खेती प्रारम्भ गरिएको हो। वडाले साढे तीन रोपनी क्षेत्र फलमा तरकारी खेती गर्न लागेको हो। वडाध्यक्ष कार्कीले उत्पादन संस्कृतिमा समग्र वडालाई जोडेर अघि बढ्ने बताए ।

कृषिको उनयन विना आत्मनिर्भरता सम्भव नभएकोले वडाले कृषि उत्पादनलाई सामूहिकरूपमा अगाडि बढाएको पनि जानकारी दिए। वडा नम्बर ३ लाई कृषि उत्पादनको केन्द्र बनाउने लक्ष्यसहित अघि बढेको पनि वडाध्यक्ष कार्कीले बताए । यसरी जनप्रतिनिधिको अगुवाइमा खेतीको प्रवर्धन हुन थालेपछि सबैमा सकारात्मक सन्देश प्रवाह भएको स्थानीय जानकार बताउँछन् ।

पछिल्लो समय खेतीयोग्य जमिन बाँझिदै गएको छ, देशभर १० लाख हेक्टर जमिन बाँझिएको भने उत्पादन पनि घट्दो छ,यस्तो बेलामा वडा तहबाटै थालिएको यस्तो सकारात्मक कदमले राजनीतिक र सामाजिक रूपमा मात्रै होईन कृषि अर्थतन्त्रमा समेत प्रभाव पार्ने कृषि अर्थविद् डाक्टर देवेन्द्र गौचन बताउँछन् ।यसले संघीयतालाई पनि थप मजबुत बनाउने उनको भनाइ छ।


प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ८ : ३४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित