२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

राजनीतिमा ‘देउवा’को ‘कला कि चर्तिकला’ ?


२७ माघ २०८१, आइतबार  



राजनीति धेरै फापेका मानिस हुन्, शेरबहादुर देउवा। कांग्रेसका सभापति समेत रहेका उनी सत्ता राजनीतिमा अहिलेसम्म पछाडि फर्कन परेको छैन । कांग्रेसभित्र कोइराला परिवारसंग भिड्दै आएका उनी यतिबेला कांग्रेसको धुरी खाँबो जस्तै हुन्। जता देउवा उतै – उतै कांगेस देखिन्छ । देउवा कांग्रेसभित्र अझै पनि एक्ला शीर्ष नेता देखिन्छन्।

शेखर र शशांखहरुले अलग्गै अड्डा खडा गरेपनि संस्थापनसंग तुस पोख्ने बाहेक कुनै त्यस्तो ल्याकत देखिन्न । कांग्रेस जस्तो दलभित्र यस्ता सानातिना गुट हुुनु खासै अर्थ पनि देखिन्न । यद्यपि ती गुटलाई पनि कमजोर बनाउनका लागि देउवा निकै कला भर्न खप्पिस छन्। यस अघि देउवाको उछितो काढ्दै आएका गगन थापा समेत यतिबेला देउवाकै पछि– पछि देखिन्छन्। देउवालाई चिढाएर भन्दा रिझाएर नेतृत्वमा पुग्न सकिने बुझाइ उनमा देखिन्छ।

देउवा स्वयं पनि फरक मत राख्नेलाई मिलाउन खप्पिस छन्। देउवाले फरक मत राख्नेलाई कहिल्यै वैरभाव राखेको देखिन्न। कम्युनिष्टहरुलाई भिडाएर सत्ता राजनीतिमा अवसर लिइरहेको कांग्रेस चतुर छ। सरकारका राम्रा कामको जस लिने र खराबी अरुलाई बोकाउने उनको चलाखी देखिन्छ। सत्ता उपयोगमा उनी जतिको सिपालु अरु कोही छैनन्। सत्ता राजनीति र पार्टी राजनीतिमा देउवा गलाविहिन कला भर्न सक्ने काविल पात्र हुन्। राजनीतिक विज्ञान भन्दा ज्योतिष विज्ञानलाई राजनीतिको शुभसाइट ठान्ने देउवा कांग्रेस जस्ता मास पार्टीको मुल नेतृत्व हुन्। कांग्रेसभित्रका गुट र उपगुटलाई सम्हाल्न सक्षम देखिन्छन्।

कांग्रेस जस्तो मास पार्टीलाई रानी माहुरी झै गोलबन्द गर्न उनी सिपालु छन्। आफ्नो विपक्षमा बोल्नेलाई दण्ड उनी दिन्नन्। बरु पुरस्कार दिने उनको राजनीतिक कला रोचक छ। पार्टी राजनीतिमा पाखुरा सुर्काउदै आएका रामचन्द्र पौडेललाई माओवादीको काँध चढेर राष्ट्रपति जस्तो उच्च पदमा पुराए। रामचन्द्र पौडेलेको राजनीतिक रहर उनले पुराइदिए । गएको महाधिवेशनमा सभापतिमा पौठेजोरी खेल्ने प्रकाशमान सिँहलाई पनि अवसर दिए। पहिलो चरणमा सभापति पदमा कसैको पनि जित नभएपछि प्रकाशमानलाई फकाएर उनले सभापति जितेका थिए। यतिबेला उनै प्रकाशमानलाई एमालेसंगको सल्लाहमा उपप्रधानमन्त्री पदमा पुराएका छन्। देउवाकै आशिरवादले प्रकाशमान सिंहले सरकारी झण्डा हल्लाएर सिहँदरबारको जागिर खाइरहेका छन्। मासिक घरभाडा मात्रै करोडौ उठाउने यी प्रकाशमान पदका लागि बार्गेनिङ गर्न सिपालु छन् ।

चुनाव बेला मात्रै पाटी संगठन चलायमान हुने कांग्रेसका सभापति देउवा एक भाग्यमानी नेता हुन्। थोरै बोलेर धेरै अवसर पाउँदै आएका छन्। ज्योतिषले भने अनुसार उनी ७ औ पटक देशको प्रधानमन्त्री हुनेछन्। ओलीले सत्ताको कुम फेरेपनि उनी बालुवाटार करब १५ महिनापछि जानेछन्। पार्टीको महाधिवेशनको हल्ला गर्दै शेखर शशांखहरु देश दौडाहमा निस्किएपनि देउवा मौन छन्। राजनीतिमा हतार लतार नगर्ने स्वभावका उनी धैर्य गर्ने पाका नेताका रुपमा चिनिन्छन्। देउवा भाग्यमानी व्यक्ति हुन्। राजनीतिक विज्ञान भन्दा ज्योतिष विज्ञानलाई भरोसा ठान्ने देउवा अक्सर गरेर थोरै बोल्छन्। धेरै पटक सत्ताको लक्की ड्र हात पार्दै आएका उनी अनौठा पात्र हुन्। चन्चलेले गाल पा¥यो, घुसघुेले ताल पा¥यो भन्ने तेपाली उखान छ, देउवाको स्वभाव यही उखानसंग मिल्दो छ। घुसघुमै राजनीतिमा अवसरको ताल पार्दै आएका छन्।


नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । विसं २०४८, २०५१, २०५६, २०७४ र २०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका उनी २०६४ र २०७० को संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । अब आउँदो करिब १५ महिनाभित्र उनी फेरि प्रधानमन्त्री बन्ने लगभग निश्चित छ। पहिलोपटक विसं २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा विसं २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए ।

यही वर्ष असोज १८ गते उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका हुन् ।पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक( को उनी सभापति बनेका थिए । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी पार्टीको वरिष्ठ नेता भएका थिए । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उनी सभापतिमा निर्वाचित भएका थिए ।

देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार पहिलो पटक सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराउन सफल भए। सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसयता उनी नेतृत्वकै सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय तहको र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन् ।


यसरी सत्ता राजनीति या पार्टी राजनीतिमा देउवा खास खेलाडी हुन्। विद्यमान नेपाली राजनीतिमा पनि उनी निर्णयक पात्र हुन। उनी ओली र प्रचण्डलाई नचाएर कांग्रेसलाई बलियो बनाउने र आसन्न २०८४को आम निर्वाचनमा बहुमतका साथ सरकारमा जाने योजनामा छन्। पार्टीभित्र गुट र उपगुटलाई मिलाउन सक्षम देउवा ओली प्रचण्ड जस्तो निरंकुश छैनन्। ओलीले फरक मत राख्नेको साधारण सदस्यता पनि खाइदिए । तर, देउवाले फरक मत राख्नेलाई राजकीय अवसर दिए।यस कारण देउवा कांग्रेसभित्र सर्वमान्य र सत्ताराजनीतिमा धैयता र संयमता भएको नेताको रुपमा बुझिन्छन्।

अंक गणितीय संसदीय व्यवस्थामा देउवा कांग्रेसका लागि उचित पात्र हुन सक्छन्। तर, समग्र मुलुकको शासन प्रशासनमा उनी विवादित छन्। २०४६ यता सबै १२ पटक कांग्रेसले सत्ता सम्हालेको छ। । जतिपटक कांग्रेसले सत्ता सम्हालेको छ, त्यत्तिपटक त्यत्ति ठूला भ्रष्टाचारका काण्ड भएका छन्।

लाउडादेखि बाइडबडी काण्डले कांग्रेस बदनाम छ। यसैमा पनि देउवा पत्नी आरजु देउवा भ्रटचारकी कुलदेवी भनेर भनिन्छ। नक्कली भुटानी शरणार्थीदेखि उम्मेदवारलाई टिकट बाँडदा समेत कमिसन खाने गरेको आरोप छ। छोरा जयवीरको अस्वभाविक सम्पत्ति र लगानीको श्रोतकै कारण उनी विवादको घेराबाहिर छैनन्। कम बोलेपनि सुशासनको क्षेत्रमा निकै कमजोर छन्। सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएका देउवा सम्भवतः नेपालका धनी नेताहरुको शीर्ष स्थानमा पर्न सक्छन्।

चप्पल पड्काएर राजनीतिमा लागेका उनको चल अचल सम्पत्ति र त्यसको श्रोत अदृष्य छ। प्रजातान्त्रिक आन्दोलनमा १० वर्ष जेल बसेपनि प्रजातन्त्रको पुर्नउदयपछि उनको पारिवािरक जीवन उच्च घरानाको छ। राजनीति जस्तो पवित्र सेवा क्षेत्रमा लागेको मानिसको अस्वभाविक सम्पत्ति थुप्रिनुले पनि उनीमाथि शंकाको सुइ सोझिएको छ । धेरै पटक चर्चामा आएको सबै नेताहरुको सम्पत्तिको छानबीन गर्ने हो भने सबै भन्दा धेरै अकुत धन भएको व्यक्ति उनी हुन सक्ने धेरैको आँकलन छ। यद्यपि सम्पत्तिको विषयमा पनि देउवा सधै मौन छन्।


पार्टी मिलाउने देखि सम्पत्ति कुम्ल्याउनेमा माहिर देखिएका देउवामा राजनीतिक कला भन्दा पनि झमेला बढी भएको भन्ने एकथरी छन्। देउवाले राष्ट्र हित भन्दा पाटी र आफ्नो स्वार्थलाई सधै केन्द्रमा राखेको आरोप लाग्दै आएको छ। यस अघि माओवादीसंग सत्ता सहकार्य गरेका देउवा पछिल्लो समय ओलीसंग राजनीतिक प्रेम चक्करमा छन्। हिजो तिनै ओलीले देउवा र उनको दलले गिरीबन्धुको ७० विगाहा जग्गा बेचेर खाएको अरोप लगाएका थिए। भने उता कांग्रेसले ओली मुछिएको गिरीबन्धु चिया बगानको विषय संसदमा निकै उठाएको थियो । अहिले सत्ता सगोत्री भएपछि दुबै दल चुपचाप छन्।


ओली नेतृत्वको सरकार गठन भएको ६ महिना बढी भो । तर, सरकार भएको जनताले कुनै अनुभुति गरेका छैनन्। मुलुकभित्र भ्रष्टाचारले नयाँ नयाँ कीर्तिमान कायम गरेको छ। जताततै बेथिति र विकृति छ। जनताको दैनिकी कष्टकर छ। मुलुकको अर्थतन्त्र बेहाल छ। व्यापार व्यवसाय सुक्खा छ। युवाको विदेश पलायन थामिनसक्नुछु । सर्वत्र निराशाको कालो बादल मडारिरहेको छ ।

यस्तो विषम परिस्थितिमा सरकार अभिभावक बन्न सकेको छैन। आफ्ना केही सीमित कार्यकर्ताको भरणपोषण बाहेक सरकारको काम कारबाही उदेकलाग्दो छ। तैपनि देउवा ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको भन्दै तारिफ गर्दै हिडेका छन्। उनको तारिफले लोक लजाएपनि उनी ओलीको उरेन्ठ्यौला र अराजक गतिविधिलाई सलाम गरिरहेका छन्। कांग्रेस जस्तो जिम्मेवार दलको नेताले सत्ताको नेतृत्व लिएर मुलुुकलाई सही बाटोमा हिडाउनको साटो ओलीको बोलीमा लोली मिलाएर कुर्सीको पखाईमा बस्नुले उनीमा कला भन्दा झमेला बढी त होइन ?

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १० : ३४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित