२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न


६ भाद्र २०८३, शनिबार  


मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष टोपबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रमुख अतिथि तथा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिले खानेपानी मानव जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको दिगो व्यवस्थापनका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

नगर प्रमुख महेन्द्र केसीले रुकुमको खानेपानीको वर्तमान अवस्थाबारे धारणा राख्दै आम नागरिकले जथाभावी रूपमा मुहानबाट आफूखुसी पाइप जडान गर्दा संस्थालाई पानी व्यवस्थापनमा समस्या भइरहेको बताए। उनले नवनिर्वाचित कार्यसमितिले यस विषयलाई प्राथमिकताका साथ लिएर छिटो व्यवस्थापन गर्न सुझाव दिए।

त्यसैगरी राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले विद्युत् महसुलमा १३ प्रतिशत भ्याट तथा जनसहभागितामा ३० प्रतिशत ब्याजदरलगायतका प्रावधान राखेर आम नागरिकमाथि आर्थिक भार थपेको बताए। उनले खानेपानीको महसुल महँगो भएको भन्ने गुनासोका विषयमा उपभोक्तालाई पानीको महसुस नभई सेवा शुल्कका रूपमा शुल्क निर्धारण गरिनुपर्ने धारणा राखे।

अधिवेशनको निर्वाचन प्रक्रियाबाट महेन्द्रराज गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली, नगर प्रमुख, निवर्तमान अध्यक्षलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नवनिर्वाचित कार्यसमितिले संस्थाको खानेपानी व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र उपभोक्तामैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ८ : ३५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित