२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

प्रधानमन्त्रीलाई कुलमानको सल्लाह, ‘टनेलभित्रको अवरोध हटाउन विशेष उपकरण चाहिन्छ’


१८ भाद्र २०८३, बिहिबार  


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी मुलुकको विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका विषयमा सुझाव दिएका छन् ।

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी विपत्तिबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझाव दिएका हुन् ।

भेटका क्रममा घिसिङले मुलुकमा आइपरेको संकटको घडीमा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकहरूको उद्धारका लागि आवश्यक प्रविधि र उपकरण परिचालनमा जोड दिन उनले आग्रह गरे । सडक सञ्जालको पुनःस्थापनाका विषयमा छलफल गर्दै उनले स्याफ्रुबेँसीलगायत क्षेत्रमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक स्थानमा बेलिब्रिज निर्माण गर्न सुझाव दिए ।

यस्तै, ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै घिसिङले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।

अध्यक्ष घिसिङले भने, ‘सुरुङभित्रको अवरोध हटाउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष उपकरण आवश्यक छ । भौगोलिक विकटताका कारण उपकरण पुर्‍याउन कठिन भएका स्थानमा हेलिकोप्टरमार्फत हेभी इक्विपमेन्ट ढुवानी गरेर भए पनि कामलाई गति दिनुपर्छ । करिब २३५ मेगावाटका आयोजना प्रभावित भएका छन्। निजी क्षेत्रका प्रवर्द्धकलाई प्रोत्साहन गर्न र बीमा भुक्तानी प्रक्रिया सहज बनाउन सरकारले नीतिगत सहजीकरण गर्नुपर्छ ।’

भेटका अवसरमा दीर्घकालीन सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइनमा पुनरावलोकन गर्नुपर्ने र बेसिन म्यानेजमेन्ट ९नदी किनारा व्यवस्थापन० मा ध्यान दिनुपर्ने विषयमा पनि छलफल भएको थियो । घिसिङले जोखिम विश्लेषण गरेर मात्र नदी किनारमा सडक तथा अन्य संरचना निर्माण गर्न सुझाव दिए ।

जवाफमा प्रधानमन्त्री साहले घिसिङले प्रस्तुत गरेका सुझावलाई सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाहबमोजिम प्रभावकारी कदम चाल्ने आश्वासन दिए ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहिबार  १ : ३५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित