२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

ट्याल पास गर्नुस् , हातकै माेबाईलमा सवारीचालक अनुमतिपत्र पाउनुस्


४ कार्तिक २०८१, आइतबार  


आजदेखि (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ।

नौ वर्षदेखिकाे माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आजदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो।

आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो फेसबुकमार्फत अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका थिए।

लाइसेन्स छपाइ नहुँदा परेको समस्याको अन्त्य भएको चर्चा गर्दै उनले लेखेका थिए। ‘आईतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ । कुनै पनि कामका लागि लाइन बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्ने छ भन्ने हामीले आशा राखेका छौँ ।’

प्रधानमन्त्री ओलीले सवारी नियम उल्लङ्घनमा जरिबाना तिर्दा हुने झन्झट पनि हटेको बताएका छन्। उनले लेखेका छन्, ‘नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ।’

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पाँच महिनादेखि नागरिक एपमा लाइसेन्स वितरणको परीक्षण गर्दै आएको थियो।

परीक्षणको सफलतापछि सबै संरचनालाई डिजिटल बनाएर सुरु गर्न लागिएको मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाले बताए।

मन्त्रालयले डिजिटल लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई मोबाइल उपलब्ध गराएको छ। सचिव निरौलाले भने, ‘बागमतीमा आइतबारबाट औपचारिक रूपमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गरिँदै छ। जाँचका लागि ट्राफिक प्रहरीलाई १०४ वटा मोबाइल उपलब्ध गराइएको छ।’ यसै आर्थिक वर्षमा पाँच सय वटा मोबाइल प्रहरीलाई उपलब्ध गराइने उनको भनाइ छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा लाइसेन्स छ भने प्रिन्टकपी नखोजिने जनाएको छ। प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रविन कार्कीले भने ‘एपमा छ भने हार्डकपी खोजिँदैन, सकेसम्म प्रविधिमैत्री भएर जान्छौँ तर सवारीचालक प्रविधिमैत्री नभएको खण्डमा चिट नै काट्नुपर्नेछ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ३६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित