पछिल्लो तथ्याङ्कअनुसार बैंकहरूले होटल तथा पर्यटन क्षेत्रमा २ खर्ब बढी लगानी गरेका छन् ।
पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, माउन्टेनिङ, ट्रेकिङ, रिसोर्ट र्याफ्टिङ र क्याम्पिङ लगायतमा बैंकहरूले कर्जा प्रवाह गरेका हुन् ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार कात्तिकसम्म बैंकहरूले २ खर्ब ७ अर्ब ७३ करोड रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा लगानी गरेका छन् ।
गएको वर्षको कात्तिकसम्ममा बैंकहरूले १ खर्ब ९० अर्ब ६७ करोड रुपैयाँ होटल तथा पर्यटनमा लगानी गरेका थिए । गएको वर्षको तुलनामा बैंकहरूले चालु आर्थिक वर्षको ५ महिनामा ८.९४ प्रतिशत अर्थात् १७ अर्ब ६ करोड १७ लाख रुपैयाँ होटल तथा पर्यटनमा कर्जा बढाएका हुन्।
यस अवधिमा कृषि विकास बैंक लिमिटेडले होटल तथा पर्यटन क्षेत्रमा आक्रामक रूपमा कर्जा वृद्धि गरेको छ । गएको कात्तिक महिनासम्म बैंकले ३१.१३ प्रतिशत अर्थात् १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ बढाएर ६ अर्ब १७ करोड ३३ लाख रुपैयाँ पर्यटन क्षेत्रमा लगानी गरेको छ । जबकि गएको वर्षको यही ही अवधिमा यश बैंकले ४ अर्ब ७० करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
त्यसैगरी दोश्रोमा प्रभु बैंक रहेको छ।यसले करिब २६ प्रतिशत अर्थात् २१ अर्ब ८६ करोड रुपैयाँ पर्यटन क्षेत्रमा लगानी गरेको छ। तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकको २४.५९ प्रतिशत १६ अर्ब १९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७.०७ प्रतिशत १८ अर्ब २९ करोड रुपैयाँ, एनएमबि बैंकको १४.९० प्रतिशत ८ अर्ब ४० करोड रुपैयाँ, एभरेष्ट बैंकको १४.८६ प्रतिशत ४ अर्ब २२ करोड रुपैयाँ होटल तथा पर्यटन क्षेत्रमा लगानी गरेका छन् ।
सानिमा बैंकको १३.१९ प्रतिशत ५ अर्ब ९३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १२.८५ प्रतिशत १० अर्ब ९४ करोड रुपैयाँ, प्राइम बैंकको १२.६१ प्रतिशत १७ अर्ब ७२ करोड रुपैयाँ, नेपाल बैंकको १२.२० प्रतिशत ९ खर्ब ११ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ७.४६ प्रतिशत ७ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
कृषि विकास बैंक लिमिटेडका नायब महाप्रबन्धक (डीजीएम) डा.बाबुकाजी थापाले लगानीका क्षेत्र संकुचित भइरहेका बेला होटल तथा पर्यटन क्षेत्रमा आशा जगाएकोले बैंकहरू लगानी गरिरहेको बताउँछन् । पछिल्लो समय नयाँ होटल तथा पर्यटकीय संरचना निर्माण भएकाले बैंकको लगानी बढेको उनको भनाइ रहेको छ ।
उनी भन्छन्, “लगानी क्षेत्र संकुचित हुँदै गए । अब केमा माग्न आउँछन्, अनि केमा छ त्यसैमा कर्जा दिने हो । होटल व्यवसाय, पर्यटकको आगामनले राम्रो भएको देखिन्छ । त्यसैले हाम्रो बैंकले पनि होटल पर्यटनमा आक्रामक भएर लगानी गरेकै हो, ‘हालै एउटा पाँचतारे होटलमा एक अर्ब रुपैयाँ कर्जा दियौं । हिल्टन होटलदेखि पोखराका राम्रा राम्रा होटलमा कर्जा दिइरहेका छौं ।”
डीजीएम थापाका अनुसार सुरक्षित पनि भएकाले होटल तथा पर्यटन क्षेत्र लगानी बढाइएको हो । लगानीको मुख्य क्षेत्र पर्यटन, जलविद्युत, कृषि, जडिबुटी नै हुन् । कच्चा पदार्थ, जनशक्ति, मेसिनरी सबै आयात गरेर उद्योग सञ्चालन गर्नुभन्दा यी क्षेत्रमा लगानी गर्दा देशका लागि पनि फाइदा हुने उनको दाबी छ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत (डीईओ) पवन रेग्मी पर्यटनसँग सम्बन्धित गतिविधि बढेका कारण बैंकहरूको कर्जा बढेको बताउँछन् । होटल व्यवसायमा नयाँ संरचना थपिएकाले पनि कर्जा बढेको हुन सक्ने उनको भनाइ छ ।
डीईओ रेग्मीका अनुसार पछिल्लो समय बैंकहरूसँग पर्याप्त तरलता रहेकाले कर्जा लगानी बढाइरहेका छन् । ब्याजदर पनि कम रहेकाले व्यवसायीहरूको मनोबल अझै बढाउनुपर्ने उनको भनाइ छ।