४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

बिर्सिजाने ‘उनी’लाई अमर शुभकामना !


२६ माघ २०८१, शनिबार  


हामी छुट्टिएर ठीकै भो । खासै फरक परेन,किनकी तिमीले म भन्दा काबिल सहयात्री भेट्टाइछ्यौ। तिमी जेमा खुशी भैयौ। मपनि त्यसैमा खुशी हुन तयार भएँ । भाग्यमा लेखेको थिएन होला। त्यही भाग्यको परिभापा पढेर आफूलाई सम्हालेँ ।

जिन्दगीको यात्रामा केही समय सहकार्य गर्ने अवसर मिल्यो, भावनाहरु मिले। शरीर दुईवटा भएपनि भावना र सपनाहरु एउटै थिए। । त्यसका लागि तिमी जिन्दगीभर धन्यवादको पात्र बन्नेछ्यौ। यादहरु अजर र अमर हुन्छन् होला। यही कुरा प्रेमको पुस्तकालयमा पढेको थिएँ ।

सपना क्षितिजसम्मको थियो। प्रेमको सुन्दर घरको ओतमा जिन्दगीको कुइनाटाहरु पार गर्नु थियो । तर, तिमी पहिलो पाइलोमै अलग्गियौ। सँगै जीवन काटौला भनेको थिए । समय परिस्थिति अनुसार हाम्रा ती सपनाहरू केवल सपनाहरू मात्र रहे । सम्झनाहरू आउँछन् । यादहरु मनमा डुल्छन्। कहिलेकाही त आफै छटपटाउँछु ।अनि झसङ्गै हुँदै भाग्यको ऐना हेरेर आफ्नै मनलाई आफै शान्त बनाउन खोज्छु। फेरि पनि सम्झिन्छु ,ती दिनहरू कति रमाइला थिए भनेर । तिमीसँग बिताएका पलहरु । अविस्मरणीय पलहरु बने, ती क्षणहरु जिन्गदीमा।

साँच्चै अब यस्ता अविस्मरणीय पलहरु मेरा जिवनमा आउँदैनन् होला। हामीले अनुभव गरका पलहरु भन्दा पनि अझै सुन्दर बनाउनु है, अबका आउँदा दिनहरुमा तिमी। अब कहिल्यै नभत्काउनु है प्रेमका महलहरु। काँडै भएपनि गुलाब सधै गुलाब नै हुन्छ। एकछिन काँडाले घोचेपनि मानिसहरु गुलाबकै सुन्दरताका अगाडि तिखो काँडालाई विर्सिदिन्छन्। हो, तिमी पनि त्यही गुलाब जस्तै मुस्कुराउनु दुनियाँका अघि बासना छरेर सबैलाई लोभ्याउनु । तर, साँचो प्रेमको सुन्दर घर कहिल्यै नभत्काउनु ।
हाम्रो पहिलो भेट! त्यो अनौठो आश्चार्य तर, बिर्सन नसकिने । त्यो क्षण। त्यो मौसम अनि परिवेश। प्रकृतिले पनि लज्जाए झै लाग्ने। तिम्रो उपस्थिति अनि मेरा सामिप्यताका, ती क्षणहरु बार बार बौराइरहन्छन् मनलाई।

अनि आज पनि म स्मरण गरिरहन्छु। ती पहिलो भेटका शब्दहरूअनि तिम्रो त्यो मधुर आवाज । त्यो पहिलो हाँसो, त्यो पहिलो मुस्कान। हामीले एकअर्कासँग बिताएका ती चार वर्षहका हर क्षणहरु । हरेक ऋतुहरु चक्कर लगाउँथे तर, कुनै पनि दिन छोटा थिएनन्। ती क्षणहरू ब्रह्माण्डको ध्वनि जस्तै गूञ्जिरहेका हुन्थे । ती सम्झनाहरू आज पनि मेरो आँखामा झल्किन्छन् । ज्वारभाटा झै हृदयमा तुफानी ल्याइदिन्छन्। केही मीठा कसमहरू। केही मिठा बातहरु । साथमा भएका अद्भुत यात्राहरू। सँगै हिँड्दा, डाँडाका पाखाहरूमा दुई शरीरको एकै पाइला जस्तै थिए, ती पाइलाहरु चाल्दा, अनि एकअर्कामा हामीले गरेका प्रणहरुले साँच्चिकै हाम्रो सम्बन्धलाई निकै बलियो बनाएको थियो। यति बलियो लाग्थ्योकी, जुन अजम्बरी हुने छ। संसारकै सूरवीरहरुलेका पराक्रमले पनि डगमगाउन आँट गर्ने छैन ।

हामीले सँगै बिताएका स्मरणीय ती पलहरू । केही पल भरका लागि मात्रै थिएनन्। संगै जिउने र संगै मर्ने संकल्पका लागि कोरिएका अलिखित धारा र दफाहरु थिए । त्यही भएरै हाम्रो प्रेम महान लाग्थ्यो सामान्य मित्रता मात्रै हुन्थ्यो भने मैले विछोडलाई पनि सहजै लिन्थे हाला । तर, प्रेम यति गहिरो थियोकी, एकले अर्कामा अलग हुने कुरा त सोच्न पनि म सक्दिन थिएँ। प्रेम थियोे र त हामीले एक अर्कालाई त्यति सहजसँग स्वीकार्न सक्यौ । हामी एकअर्काका मित्र, साथी, र जीवनका हरेक उतारचढावका साक्षी थियौं। हाम्रो प्रेम केवल शब्दको रेखामा मात्रै कोरिएको थिएन। हृदयका पत्रपत्रमा शिलामा मूर्ति कुदिएँ झै थियो । ती हरेक हाम्रा अनुभवमा जीवन्त थियो। ती दिनहरू त्यति सरल र मिठा थिए। जुन पलहरु कहिल्यै बिर्सन सकिदैन। अजर र अमर भएर कुदिएका यादहरु ।


सम्बन्धको प्रारम्भ रमाइलो र हर्षको हुन्छ। तर, जस्तो–जस्तो समय बित्दछ, केही न केही समस्याहरू यात्रा भित्र प्रवेश गर्छ। हामीले आफूलाई अनगिन्ती समयमा पख्र्याै। एकअर्कालाई बुझ्नको लागि। प्रेम बुझ्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विश्वास र इमानदारी हो। हामी यो दुःखद मोडमा पुगेपछि बुझ्न थालेका थियौं कि हामीले एकअर्कासँग गरेका विश्वासका प्रतिज्ञाहरू अब पूरा सायद गर्न सक्दैनौ होला ।


सम्भवतः यो एउटा अनिवार्य बिछोड हो। जसले हामीलाई साँचो मायाको अर्थ सिकाउँछ। हाम्रो सम्बन्धको प्रत्येक चासो र प्रयत्न अब समयसँग सम्झनामा परिवर्तित भएको छ। समयको साथ हाम्रो भावनाहरू अलि अलि बदलिन थाले र ती परिवर्तनको कारण हाम्रो जीवनको धारा पनि बदलियो।


हामी बीचको त्यो प्रेम एकदिन समाप्त भइहाल्छ,भन्ने कहिल्यै सोच्न सक्दैनथ्यौं। त्यसैले, यो साँचो सत्यसँग जुध्न भनेको आफ्नो चित्तलाई सहज बनाउनु हो। अब, त्यही प्रेमका सन्देशहरूले मात्र मेरो मनमा चोट पुर्याउँछन्। ती तस्बिरहरू चलचित्रका पर्दामा देखाइएका जस्ता दृश्यहरू भए । ती कुरा, ती बचनहरू अब अतीतको पानामा मात्रै स्मरणका रूपमा जीवित छन् र हुनेछन्।
आज हामी बीचको सम्बन्ध एक चुडिएको स्वप्न जस्तो बनिसकेको छ। हाम्रा विचार, हाम्रा संवेदनाहरू, अब अलि अलग छन्।

तैपनि,यथार्थ यही हो। जीवनमा प्रत्येक मिलनको एउटा विछाृेको मोड पनि हुँदो रहिछ। हरेक सम्बन्धको एउटा किनारा पनि हुँदो रहिछ। नदी जति समुद्र पुग्न हतार गरेपनि आफ्नै साक्षी किनारालाई छोडे जस्तै हुँदो रहिछ प्रेमको यात्रा पनि । नदीले अंकमाल गरेको आफ्नै किनारालाई एक्ले छोडेर समुद्र भेट्न गए झै तिमी पनि मबाट दूर हुँदै गयौ । अब यी कुराहरु अतीतका कहानीमै सम्झनेछौं, र फेरि भविष्यमा हामी दुईको मार्गका थप नयाँ यथार्थहरूको सामना गर्नेछौं।


के हामी यसरी छुट्टिने भनेर आफ्नो प्रेमको मोल नलाग्ने कुरा बुझ्ने थियौं ? के हामी यो असफलता स्वीकार्न तयार थियौं ? यस्ता अनेकन प्रश्नहरूले मेरो मस्तिष्कलाई घौािरहन्छन्।। यद्यपि, हरेक स्थिति, हरेक मोडले हामीसंग आफ्नो साहस र हिम्मतको साथ जीवनलाई अझ नयाँ ढंगले अगाडि बढाउनुको विकल्प त छैन । तैपनि अतीत नुतन योजना र सपनाहरुका पानाहरु बेलो बेला पल्टिन थाल्नछन् अनि म आफै भावूक बन्छु। तैपनि अन्तिममा प्रेमको परिभाषा यही नै हो भन्ने ठानेर आफैले आफैलाई सम्हाल्छु ।
अन्तमा, एउटा कुरा भने निश्चित छ । हाम्रा सम्झनाहरू, हाम्रा अनुभवहरू, र हाम्रा मायाका पलहरू कहिल्यै मेटिने छैनन्। यीनीहरु अजर र अमर बन्नेछन् यादका पुस्तकालयमा सजिनेछन्। अनि पलपलामा झस्काउनेछन्। यद्यपि हामी अब एउटै यात्रा तय नगरे पनि, मेरो मनमा ती सबै सँगै भएका क्षणहरू जिन्दगीभर रहिरहनेछन्। तिमी सँग बिताएका ती चार वर्षको प्रेम, ती अभूतपूर्व,अविस्मरणीय र अनमोल क्षणहरूका लागि, तिमीप्रति म सधैं आभारी छु र रहनेछु।


मलाई झैँ सम्झना तिमीलाई पनि आउँछ होला। आएर पनि के गर्नु ? अब गुमाएपछि अब बिर्सिनु यस्ता कुराहरू । भेट्दा हाँसेर बोलिदिनु ।नचिनेको झैँ नगर्नु असल मित्रको रुपमा अर्थ्याउनु । जहाँ भएपनि जस्तो अवस्थामा भएपनि प्रेमको महल ढलेपनि मित्रताको महल सधै बाँचिरहोस् । जिन्दगीको नयाँ सहयात्रा सधै खुशी उमंगको बहार बनोस्। तिमी सधै खुशी भएको खबर पाउँ, तिमी रमाएको सुन्न पाउँ र देख्न पाउँ सफल दाम्पत्य जीवनको अनमोल शुभकामना।।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ८ : ३७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित