-सन्ध्या रेग्मी
त्रिकोण रक्तिम आकाशमा
उदाएका चन्द्र सूर्य
बोकेर छातीमा
हिँडेको चेतन मन
आज बोझिलो किन ?
गह्रौ किन ?
मेरो बारीमा
मेरै माटोभित्र
रोपेका फूलहरू
र सयौ थुंगा फूलका अनगिन्ती पत्रहरू
सजाएर केशभरि
मेरो देशभरि
जुरुक्क उठेका मेरा खुट्टाहरू
स्वाभिमानी मेरो शिर
र दरा पाखुरीहरू
शिथिल किन ?
प्रकम्पित किन ?
आशाको फूल
मैले रोप्दा मेरो माटोमा
तिमी थियौँ
म थिएँ
र, माटो थियो मेरो धरणीको
उम्रियो सुमसुम्यायौँ
असंख्य हाम्रा हातहरूले
अन्जुलीको कोमल स्पन्दनले
मुसुक्क हाँसेको आशाको फूल
झोक्रिएको किन ?
ओइलाएको किन ?
कसमाथि शंका गरूँ म
मैमाथि तिमीमाथि
रोप्ने हातहरूमाथि
तिम्रो पौरख
मेरो पौरख
या रसायनमाथि
बोझिलोझैँ छ माटो
अचेल किन ?
प्रदूषितझैँ छ आकाश
अचेल किन ?
इन्द्रेणीका सप्त रंग
फिका फिका
माटोको सुगन्ध
फिका फिका
आकाशको निलिमा
फिका फिका
आलोक चन्द्र सूर्यको
फिका फिका
गगन फिका धर्ती फिका
मन फिका उपवन फिका
दृष्टि रित्तो किन ?
सृष्टि रित्तो किन ?
म हराए कतै
तिमी चुक्यौ कतै १
कथाभित्र माटो खोज्यौ
टुक्का टुक्कामा टुक्रा टुक्रा भएको
झुत्रा झुत्रामा धुजा परेको
राष्ट्रवादभित्र राष्ट्र खोज्यौ
अतिवादभित्र वाद खोज्यौ
मन्त्रभित्र तन्त्र खोज्यौ
विधि खोज्यौ विधान रोज्यौ
मालिकका गल्ली गल्ली चहार्यौं
मालिक बन्ने सपना बुन्यौ
रगतका आहुती दियौँ
स्वस्ति वाचन गर्यौं
तिम्रो विरोधका सबै स्वरहरू
मुटुभित्रै दाब्यौ दबायौ
मालिक थप्यौ
रैती बन्यौ
सुकुल रोज्यौ
सिहांसन दियौ
निरो बनायौ
बाँसुरी दियौ ।
नमिता सुमिताझैँ फेरि
निर्मला दियौ
भागरथी दियौ
कन्नन दियौ
चीत्कार दियौ
स्वाभिमान र अस्मिता दियौ
भोका पेट र नांगो छाती दियौ ।
हामी निरीह पन्छी
आश्वासनको चारो खायौ
र हेरि राख्यौ
तिम्रो सुन्दर आकृति
भुर्रर डाली
भुर्र चारो
यस्तै गर्यौं
तिम्रो अट्टालिका वरिपरि
के बिरायौ ?सतायौ किन ?
लुट्यौ किन ? लुटायौ किन ?
विधि मास्यौ किन ?
रीति नास्यौ किन ?
भन्न मन छ अझै पनि
जिउन मन छ अझै पनि
त्यसैले कठ्यांग्रिएको मन
र खिया लागेको चेतनालाई
शब्द शब्दले घोच्दै रेत्दै
तिखार्नु छ( सिर्जनाको कोदाली
रोप्नु छ( फूल फेरि पनि
उमार्नु छ गोड्नु छ
सिंचित गर्नुछ चेतनाको
फूलाउनु छ
आशाको फूल
राष्ट्रको फूलबारीमा
युगौ युगसम्म
तिमीसम्म, मसम्म र उनीसम्म
जुनी जुनीसम्म ।।