२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

पदाधिकारीकै मिलेमतोमा त्रिभुवन विश्वविद्यालयकाे एक हजार राेपनी जग्गा हिनामिना !


२४ मंसिर २०८१, सोमबार  



मुलुककै जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयकाे एक हजार राेपनी जग्गा हिनामिना गरेको पाईएकाे छ।

विश्विद्यालयको ३ हजार ७ सय २२ रोपनी जग्गामध्ये एक हजार रोपनी जग्गा हिनामिना भएको पाइएको हाे ।

विश्वविद्यालयका पदाधिकारीकाे मिलेमतोमा नै विश्वविद्यालयकाे जग्गा विभिन्न संघसंस्थाका नाममा बाँडेको सरकारी छानबिन समितिले भेटाएको हो ।

जग्गा खोजबिन गर्न गठित समितिले विश्वविद्यालयको एक हजार रोपनी जग्गा बाँडीचुँडी गरेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक भएको पछि जग्गा हिनामिना भएको खुलासा भएको हाे ।

विश्वविद्यालय बनाउन स्थानीय जग्गाधनीबाट सुरुमै अधिग्रहण गरिएको जग्गा विश्वविद्यालयका पदाधिकारीले मनलाग्दी रूपमा बाँडेपछि अहिले विश्वविद्यालय जग्गामा सिमित समूहले हडपेको प्रतिवेदनमा उल्लेख छ । 

विश्वविद्यालयको अतिक्रमित जग्गा खोजबिन गर्न सरकारले यही साल २०८१ गएकाे जेठ दोस्रो सातामा पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको थियो । त्रितालको संयोजकत्वमा समिति बनाएपनि उनी बिरामी परेपछि महेन्द्रकुमार थापा संयोजक बनेका थिए । समितिमा जानकीबल्लभ अधिकारी, प्राडा. प्रेम सागर चापागाईं सदस्य थिए ।

समितिले खोजबिन पुरा गरेर शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको छ ।  विश्वविद्यालय स्थापना गर्दा सुरुमै जग्गा धनीहरूलाई मुआब्जा दिएर विश्वविद्यालयको नाममा आएको जग्गा संरक्षण गर्न नसकेको छानविन समितिको ठहर छ ।

त्रिवि पदाधिकारीले जग्गा संरक्षण नगरी शैक्षिक संस्था बाहेकलाई पनि जग्गा भोगचलन गर्न दिएर लापरवाही गरेको भन्दै खोजबिन समितिले जिम्मेवार पदाधिकारीमाथि छानविन गर्न सुझाव दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको जग्गा गणतन्त्र स्मारकको नाममा ६० रोपनी, बीपी कोइराला विज्ञान संग्रहालयले १५० रोपनी, कृषि मन्त्रालय अन्तर्गतको समशीतोष्ण बागवानी केन्द्रले २८२ रोपनी जग्गा प्रयोग गरिरहेका छन् ।

यस्तै, १० रोपनी जग्गा कब्जा गरी ढुंगा, गिट्टी र बालुवाको डिपो सञ्चालन गरिएको छ। त्रिभुवन विश्वविद्यालयमा कार्यरत विभित्र दलका भातृसंग प्राध्यापक संघ / संगठनले विश्वविद्यालय जग्गामा भवन बनाइ मासिक भाडा असुली रहेका छन् । विश्वविद्यालयकाे सम्पत्ति संरक्षण गर्ने जिम्मेवार प्राध्यापक नै विश्वविद्यालय जग्गामा व्यापार गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ७ : ३८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित