निवर्तमान अमेरिकी राष्ट्रपति जो बाईडेनको पालामा गैर कानुनी रूपमा अमेरिका छिर्ने नेपालीहरूको संख्या करिब नौ हजार भएको पाईएको छ। ती मध्ये दुई हजार ८जना आईश हिरासतमा रहेका छन् ।
गैर कानुनी रूपमा यसरी अमेरिका छिरेकाहरूलाई नेपाल फर्काउने क्रममाबुधबार १० नेपालीलाई चार्टर विमानबाट अमेरिकाले नपाल पठाउँदै छ । उनीहरूलाई बुधबार बिहान काठमाडौं उतार्ने तालिका रहेको छ । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार, ती १० नेपाली बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान १० बजे अवतरण गर्ने तालिका छ ।
चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन लागेको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आउनेछ ।
बुधबार काठमाडौंमा आउने चार्टर विमान बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कनेछ । उक्त विमान ६ जना यात्रु लिएर अमेरिका फर्कने अध्यागमनका अधिकारीले बताए । माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हाले यता यस्तो नीति कार्यान्वयनमा आएको हो।
‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ का अनुसार तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका छिरेका थिए । तीमध्ये २ हजार ८ जना आइसको हिरासतमा परेका थिए । अमेरिकाले पहिलो चरणमा १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । सूचीमा १ हजार ३ सय ६५ जना नेपाली छन् ।
पहिलो चरणमा अमेरिका निकालाको सूचीमा रहेकामा होन्डुरसका सबैभन्दा बढी २ लाख ६१ हजार ६ सय ५१ जना छन् । ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना छन् । सूचीमा चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना छन् । आइसका अनुसार यो सूचीमा २४ नोभेम्बर २०२४ सम्म डिपोर्टका लागि अन्तिम आदेश भइसकेका तर पक्राउ नपरेका समावेश छन् ।
ट्रम्प प्रशासनले गत फेब्रुअरीमा गैरकानुनी रूपमा अमेरिका पस्न खोज्नेको संख्या ८ हजार ३ सय २६ रहेको जनाएको छ । जुन डिसेम्बरको तुलनामा ९७ प्रतिशतले कम हो । उनीहरूलाई तत्काल निष्कासन वा आवश्यकताका आधारमा अमेरिकी कानुनअनुसार कारबाही गरिएको आइसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा गैरकानुनी रूपमा सीमा पार गर्न खोज्नेको संख्यामा कमी आएको भन्दै सामाजिक सञ्जाल एक्समार्फत सीमा सुरक्षामा खटिएकालाई धन्यवादसमेत दिएका छन् । गत डिसेम्बरमा ३ लाख आप्रवासी गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए । अमेरिकाले सन् २०२४ मा अवैध रूपमा सीमा पार गर्न खोज्नेमध्ये २ लाख ७१ हजार २ सय २४ लाई सीमाबाटै फर्काएको थियो ।
‘प्यु रिसर्च सेन्टर’ को रिपोर्टअनुसार अमेरिकामा हाल आधिकारिक कागजातविहीन आप्रवासी करिब १ करोड १० लाख छन् । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् । दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार छन् । तेस्रोमा भारतका ७ लाख २५ हजार जना छन् । त्यस्तै ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् । अमेरिकामा रहेका आधिकारिक कागजातविहीन नेपालीको संख्या भने अझै यकिन हुन सकेको छैन ।