भृकुटी कागज कारखाना एकताका एशियाली बजारमा प्रभुत्व जमाएको थियो। गुणस्तरीय कागज उद्योगको माग जापान, इण्डोनेशिया,कोरिया र भारत लगायतका मुलुकमा हुन्थ्यो । यति ठूलो विशाल बजारमा प्रभाव जमाएको भृकुटी कागज कारखाना कहाँ छ ? आज हामी तपाईलाई देखाउँदैछौ ।
प्रारम्भमा हेरौ, भृकृटी कागज कारखानाको यस्तो छ, इतिहास ।
२०३९ साल ताका हो, जतिबेला तत्कालीन पञ्चायत सरकारले नेपालमा गुणस्तरीय कागज कारखाना स्थापना ग¥यो । स्थापनाको ३ वर्षपछि २०४२ साल वैशाखदेखि व्यवसायीक उत्पादन सुरु गरेको कागज उद्योग हो, भृकुटी कागज कारखाना। भृकुटी पल्प एण्ड पेपर नाममा छिमेकी राष्ट्र चीनको आर्थिक र प्राविधिक सहयोगमा स्थापना भएको कागज एशियाकै गुणस्तरीय कागज उत्पादन गर्ने कारखाना हो । जापानी एन अर्थात नोट छाप्नमा समेत माग भएको यस उद्योगको बजार एशियाभर थियो । स्वदेशी मागलाई ढुक्कसंग धान्ने मात्रै होइन, विदेशी मुद्रा आर्जनको बलियो आधार बनेको भृकुटी कागज कारखाना यतिबेला झाडीको खोरियामा हराइरहेको छ ।
भृकुटी कागज कारखाना कसले र कसरी डुबाइयो ? यो पनि हेरौं।
भृकुटी पल्प एण्ड पेपर लिमिटेड नामबाट स्थापना भएको कागज कारखाना नाफामा थिए । स्थापनाको चार वर्षमा उसको बजार प्रभुत्व र प्रभाव रहरलाग्दो थियो । तर, २०४६ को राजनीतिक परिवर्तनसंगै यो उद्योगमाथि पनि तत्कालीन सत्ताधारीहरुले निशाना लगाए । निजीकरण र उदारीकरणको नाममा राष्ट्रिय उद्योगहरुलाई कौडीको भाउमा बेच्न थालियो । विशेष गरी आमनिर्वाचनबाट २०४८ पछि बनेको तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उदार आर्थिक नीति र निजीकरणलाई प्राथमिकता दिएपछि भृकुटी काजग कारखानाको दशा लाग्न थालेको हो ।
यही नीति अनुसार पहिलोपटक निजीकारण गरिएका तीन उद्योगमध्ये भृकुटी कागज पनि एक हो । उद्योगलाई २०४९ पुस २० गतको निर्णय अनुसार निजीकरण गरिएको हो । नवलपुरको गैडाकोटमा रहेको यो विशाल क्षेत्रमा यतिबेला भत्किएका भवनहरु झारले ढाकिएका छन् । उद्योग खण्डहर भएको छ। यो दृष्य देख्ने जोकोही राष्ट्रभक्त नेपालीको हृदय छिया छिया हुन्छ । प्रजातन्त्रको नाममा नेताहरुले राष्ट्रिय उद्योगलाई कसरी खण्डर बनाए ? यही प्रश्नको जवाफ यहाँ पुग्नेहरुले अनुभूति र अनुभव गर्ने गर्दछन् ।
एक समय यस्तो थियो । यहाँ मेसिनहरूको आवाज गुञ्जिन्थ्यो। सयौँ मानिसहरूको रोजगारी थियो । मुलुकलाई औद्योगिकीकरणमा लैजाने विराट सपनाको एक आधार थियो, यो भृकुटी कागज कारखना । नेपालको औद्योगिकीकरण इतिहासको जिउँदो सम्पत्ति आज लगभग अस्त्वि समाप्तिको क्षणमा छ ।
के बालेनले पुनः सञ्चालनमा ल्याउन सक्लान् ?
३६ वर्षदेखिको भ्रष्ट राजनीतिको शिकार भएको हो, भृकुटी कागज कारखाना पनि । दलीय भर्तीकेन्द्र उद्योग बन्दा निरन्तर उद्योगलाई घाटामा पुराइयो र घाटामा गएको बाहनामा अमूक घरानीयाँलाई तत्कालीन सरकारहरुले कौडीको भाउँमा बेचे । देशभरका राष्ट्रिय उद्योगहरु जस्तै भृकुटी कागज कारखानाले पनि उही नियती भोग्यो । देशका उद्योगहरु धमाधम बन्द गर्दै युवाहरुलाई खाडीमा बेच्न थालियो ।
उनै युवाले बगाएको रगत र पसिनाले प्राप्त विप्रेषणबाट देश चलाउन थालियो । पछिल्लो समय विश्व अर्थव्यवस्थाको इकोसिस्टम खलल पर्न थालेपछि श्रमको विश्व बजार पनि असुरक्षित बनेको छ । लाखौ नेपालीहरु स्वदेशमा रोजगारी भएमा फर्कन तयार छन् । त्यसको लागि २१ फागुनमा रास्वपालाई जनताले करिब दुई तिहाइ मत दिएका छन्। यही दुई तिहाइ जनमत प्राप्त बालेन सरकारले भृकुटी कागज कारखाना जस्तो उद्योगहरुलाई व्युउँतान् त ? यही संगीन प्रश्न बालेन सरकार अघि छ । उनीहरुले गरेको बाचा अनुसार उद्योगहरु पुनः सञ्चालनमा आउने सके आत्मनिर्भरता मात्रै होइन, स्वाधीन राष्ट्र बनाउन पनि धेरै समय नलाग्ला की ? ००००








