घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएको छ।
तीन पटकसम्म पनि अभिभावक भेलाबाट व्यवस्थापन समिति गठन हुन नसकेपछि झडप भएको थियोे । विद्यालयका प्रधानाध्यापक रूद्र बुढामगरले वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका छन् । विवाद उत्कर्षमा पुग्दा झडप भएको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिको गठनका लागि आयोजित भेलामा प्रधानाध्यापक रूद्र बुढा मगरले निर्णय लेख्न नमान्दा विवाद भएको हो।विवाद चुलिदै गएपछि बैठकमै वडाध्यक्षले हात हालेर आफूलाई भुइँमा लडाएपछि अन्य व्यक्तिहरूले मुक्का र लात्तीले आक्रमण गरेको प्रधानाध्यापक रूद्र बुढा मगरको आरोप छ।
यद्यपि सीसी टिभी फुटेजमा कुटपिट भएको दृष्य नभएकोले यो राजनीतिक प्रतिशोधले लगाइएको मिथ्या आरोप भएको नगर प्रमुख नरूलाल चौधरीले बताए । पटकपटक व्यवस्थापन समिति गठनको लागि भेला बोलाईएपनि प्रधानाध्यापक रूद्र बुढामगरले अटेरी गर्दै आएको उनको भनाइ छ।
यसैगरी यश विषयमा वडाध्यक्ष भानसिं बुढाले प्रधानाध्यापकको आरोप अस्वीकार गर्दै विद्यालयमा गुण्डा बोलाएर आतंक सिर्जना गरिएको दाबी गरेका छन् । उनी भन्छन् “समितिको निर्णय लेख्न प्रधानाध्यापक तयार भएनन् । त्यसैबीच बाहिरबाट ल्याइएका व्यक्तिहरूले स्थिति तनावग्रस्त बनाए । मैले कसैलाई छोएको पनि छैन, भिडियो प्रमाण सुरक्षित छ”।
विद्यालय जस्तो पवित्र स्थानमा राजनीतिक रङ मिसिदा शैक्षिक वातावरण समेत खलल भएको छ।अभिभावकहरू विद्यालयमा सिर्जित समस्या समाधान गर्न सबैलाई आग्रह गरेका छन् । यश विषय सामाजिक सञ्जालमा आफ्नै पक्षको संरक्षण गर्दै विवाद थप गिजुल्ने काम भइरहेको छ।
यता, जिल्ला प्रहरी र्यालय दाङका सूचना अधिकारी डिएसपी चक्रबहादुर शाहले विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद भएको बताएका छन् । विवादपछि प्रहरीमा उजुरी नपुगेपनि उनले जानकारी दिए।
उता,माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन समन्वय समिति दाङका अध्यक्ष झक्कु केसीले प्रधानाध्यापक रूद्र बुढा मगरमाथि वडाध्यक्ष भानसिङ बुढा सहितले सांघातिक आक्रमण गरेको विज्ञप्तिमार्फत दाबी गरेका छन् । विज्ञप्तिमा उनले एमालेबाट निर्वाचित वडाध्यक्ष भानसिं बुढाले सुनियोजित रूपमा आक्रमण गरेको दाबी गर्दै कारबाहीको माग गरेका छन् ।
यही फागुन २८ गते बुधबारका दिन शुभ प्रभात माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको विषय लिएर दुई समूहबीच झडप भएको थियोे ।प्रधानाध्यापक रूद्र बुढा मगरमाथि हमला कसले गर्यो, त्यो अहिले खुल्न सकेको छैन।दुबै पक्षले आफ्नै बचाउ गरिरहेका छन् ।