अर्थतन्त्र सकसमा छ। बेरोजगारी र गरिबी थपिएको छ।स्वदेशी उत्पादन र राेजगारी नहुँदा देशको अवस्था कहालीलाग्दो छ।
विप्रेषणका भरमा देशको अर्थतन्त्र जेनतेन बाँचेको छ। तर, केही सीमित वर्गको विदेश भ्रमण र खर्चको तथ्यांक भने अस्वभाविक देखिन्छ । नेपालीकाे प्रतिव्यक्ति आय १४ सय डलरको हाराहारीमा छ।
तर,विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।
यसमध्ये शिक्षामा ३२ अर्ब १८ करोड रुपैयाँ विदेशिएको हो । बाँकी रकम नेपालीले घुमफिर प्रयोजनमा विदेश लगेका हुन् । जुन २३ अर्ब ६० करोड रुपैयाँ देखिन्छ । यस अवधिमा विदेशी पर्यटकले १७ अर्ब ७२ करोड रुपैयाँ खर्च गरेको देखिन्छ । यो विदेशी नागरिकले नेपालमा गरेको खर्च हो ।
यस प्रकार तीन महिनामा विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्चमाथि रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनामा भ्रमण आय सामान्य मात्र बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा भ्रमण आय १७ अर्ब १३ करोड थियो । भ्रमण व्यय भने उकालो लागेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रुपैयाँमात्र थियो । जसमध्ये शिक्षामा ३२ अर्ब ९२ करोड विदेशिएको थियो । शिक्षामा विदेशिने रकम अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटेको देखिन्छ ।