बैंकहरुको कर्जाको ब्याजदर साढे ८ प्रतिशत तल झरेको छ। प्रत्येक महिनामा कर्जाको ब्याजदर घट्दै गएको छ। राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर पनि २.६९ प्रतिशत घटेको छ ।
गएको पुस महिनामा यस्तो ब्याजदर ८.६९ प्रतिशत कायम भएको छ । जबकि, गएको वर्षको यही महिनामा भने बैकहरुको व्याज दोहोरो अंक अर्थात ११.३८ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार गएको मंसिर महिनामा पनि बैंकहरुको कर्जाको ब्याजदर ८.९० प्रतिशत कायम भएको थियो । चालू
आर्थिक वर्षको सुरुवातदेखि नै कर्जाको ब्याजदर निरन्तर घटीरहेको छ । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा कर्जाको ब्याजदर ९.६८ प्रतिशत रहेको थियो । यस्तै, भदौमा ९.५२ प्रतिशत, असोजमा ९.३३ प्रतिशत, कात्तिकमा ९.०७ प्रतिशत र मंसिरमा ८.९० प्रतिशत रहेको थियो ।
हाल बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग भने निकै सुस्त देखिएको छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ । जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैंकहरूको लागतमा पनि घटेको छ ।
गएको पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशतमा झरेको छ । गएको वर्षको पुस महिनामा भने यस्तो ब्याजदर ७.३२ प्रतिशत रहेको थियो । एकै वर्षको अवधिमा नै निक्षेपको ब्याजदर २.५७ प्रतिशत बिन्दुले घटेको छ । राष्ट्र बैंकका अनुसार गएको मंसिर महिनामा पनि निक्षेपको ब्याजदर ४.७८ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत रहेको थियो । यस्तै, साउनमा ५.६६ प्रतिशत, भदौमा ५.५३ प्रतिशत र असोजमा ५.२४ प्रतिशत रहेको थियो ।
यता, विकास बैंकहरुको कर्जाको ब्याजदर पनि एक वर्षमा ३.०४ प्रतिशत बिन्दुले घटेको छ । गएको वर्षको पुस विकास बैंकहरुको यस्तो ब्याजदर १३.१४ प्रतिशत रहेको थियो । तर, यो वर्षको यही महिनामा भने घटेर १०.१० प्रतिशत कायम भएको छ । विकास बैंकहरुको निक्षेपको ब्याजदर पनि २.९९ प्रतिशत घटेर ५.५६ प्रतिशत कायम भएको छ ।
यस्तै, वित्त कम्पनीको कर्जाको ब्याजदर पनि २.९९ प्रतिशत बिन्दु घटेर ११.१० प्रतिशतमा झरेको छ । यस्तै, वित्त कम्पनीको निक्षेपको ब्याजदर ६.६६ प्रतिशत कायम भएको छ।
यसरी प्रत्येक महिनामा निक्षेपको ब्याजदर निरन्तर घट्दा कर्जाको ब्याजदर पनि सस्तिएको हो । यता, लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ ।
हाल वाणिज्य बैंकहरुको आधार ६.६५ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा नै २.७ प्रतिशत बिन्दु घटेको देखिन्छ । यस्तै विकास बैंकको २.८८ प्रतिशत बिन्दु घटेर ८.६१ प्रतिशत र वित्त कम्पनीको पनि ३.२७ प्रतिशत बिन्दु घटेर ९.५० प्रतिशत कायम भएको छ ।अर्थतन्त्र शिथिल हुँदा लगानी बढ्न सकेको छैन। लगानी प्रवाह नहँुदा बैंकहरुमा तरलता थुप्रिएको छ। लगानीयोग्य रकम राष्ट्र बैंकले अधिकांंश दिन खिच्दै आएको छ।