२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

प्रेस चौतारी निर्वाचनमा ओलीको हस्तक्षेप, उम्मेदवारी दिए कारबाही गर्ने गणेश बस्नेतको धम्की


१० चैत्र २०८१, सोमबार  


विराटनगरमा जारी प्रेस चौतारी नेपालको नयाँ नेतृत्व निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले ठाडो हस्तक्षेप गरेका छन् ।


आफूले रूचाएका पात्र गणेश पाण्डेको विकल्पमा राजेश राईले उम्मेदवार दिन थालेपछि उनले जबर्जस्ती हस्तक्षेप गरेका हुन्।

अध्यक्षमा वर्तमान उपाध्यक्ष गणेश पाण्डेलाई सुनिश्चित गर्न बालुवाटारको निर्देशनमा नेताहरूले हस्तक्षेप गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी राजेश राईलाई रोक्न अध्यक्ष मण्डलले मनोनयन पत्र नै नदिएको हो । 

उपाध्यक्ष राईले निर्वाचन माग गरिरहेका बेला एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको अध्यक्षमण्डलले मनोयन पत्र नै नदिई निर्वाचनमा जानबाट रोकेको हो । 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै प्रचार विभाग प्रमुख गौतम र जनसंगठन समन्वय संम्यस्न्त्रका प्रमुख भानुभक्त ढकालले नयाँ नेतृत्वमा दाबी गरिरहेका राई पक्षलाई पाखा लगाउने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन् ।

जसअनुसार सोमबार अपरान्ह ४ बजेर २० मिनेटसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तालिका तय गरिएको छ । तर, सबैभन्दा अनौठो कुरा चाहिँ अन्तिम नामावली सार्वजनिक भएको १० मिनेट अर्थात् ४ बजेर ३० मिनेटमा अन्तिम परिणाम घोषण गर्ने भनिएको छ।

एमाले यहाँनिर चौतारीको निर्वाचन कार्यक्रममै कू गरेको छ । निर्वाचन कार्यक्रममा मतदान प्रक्रिया गायब बनाएको एमालेले अध्यक्षसहितका नयाँ नेतृत्वको सूची भित्तामा टाँस्ने तयारी गरेको छ । अहिले अध्यक्षसहित ९ जना पदाधिकारी गरि ९९ सदस्यीय केन्द्रीय कमिटीको सूचीलाई अन्तिम रूप दिइँदैछ । 

आइतबार उद्घाटनका क्रममै अधिकांश नेताहरूले कुनै हालतमा चुनावमा जान नदिने बताएका थिए । चौतारीका इन्चार्ज गौतमले त कसैले बुरुक्क उफ्रिनुको अर्थ नभएको बताउँदै कारबाहीको चेतावनी दिएका थिए ।

यता वर्तमान अध्यक्ष गणेश बस्नेतले निर्वाचनसम्म जान नदिने बताउँदै चुनावको मागसहित हस्ताक्षर गर्नेलाई अधिवेशनस्थलबाट निकाल्ने चेतावनी दिएका थिए । उनले यदि निर्वाचनमै जाने अवस्था आएमा बरु आफू आत्महत्या गर्न तयार रहेको बताएका थिए । त्यो भनाइलाई लिएर प्रतिनिधिमा तीव्र असन्तुष्टि देखिएको थियो ।

पाण्डेलाई अध्यक्ष बनाउन यसअघि एमाले प्रचार विभागमा नियुक्त भएको १० दिनमै राजीनामा गर्न लगाइएको थियो । उता उपाध्यक्ष राईले निर्वाचनमा जानै पर्ने अडान राखे पनि उनीसहितका आकांक्षीलाई मनोनयन पत्र नै नदिई  प्रतिस्पर्धामा निषेध गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ४ : ४३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित