३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

विदेशी सम्बन्धनमा सञ्चालित कलेज रित्तिदै, ४० शैक्षिक कार्यक्रममा विद्यार्थी शून्य !


३ मंसिर २०८१, सोमबार  


विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धनमा नेपालका कलेजहरूमा सञ्चालित ४० कार्यक्रममा विद्यार्थी नै नभएको सरकारी प्रतिवेदनले देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले विद्यार्थी संख्याका आधारमा २५ प्रतिशत कलेजको अवस्था दयनीय रहेको देखाएको छ । 

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी सम्बन्धमा सञ्चालित ५९ कलेजको मापदण्डबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन अनुसार ५९ कलेजले स्नातक र स्नातकोत्तरमा २१२ शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति पाएकाे थियाे तर, ४० वटा कार्यक्रममा विद्यार्थी संख्या शून्य भएको पाईएकाे छ । 

हाल सञ्चालितमध्ये सबैभन्दा धेरै ९६ वटा व्यवस्थापनसँग सम्बन्धित छ । त्यस्तै, ७० वटा आईटीसँग सम्बन्धित र अन्य विषयका पाँच वटा कार्यक्रम रहेको प्रतिवेदनमा देखिएको छ ।  

यस्तै, उच्च शिक्षा अध्ययन गराउने करिब २५ प्रतिशत कलेजमा एकसयभन्दा कम विद्यार्थी रहेको र १४ वटा कलेजमा २०० जनासम्म मात्रै विद्यार्थीले अध्ययन गरि रहेको उल्लेख छ । 

त्यस्ता कलेजको अवस्था विद्यार्थी संख्याका आधारमा दयनीय रहेको प्रतिवेदनले भनेको छ । अनुगमनमा केही कलेजमा खेलमैदान, फर्निचर, पुस्तकालय, शौचालय, प्राथमिक उपचार बाकसजस्ता न्यूनतम सुविधा पनि कमजोर रहेको पाइएको छ । 

एकतिहाइ कलेजमा मापदण्ड नपुगेका शिक्षकहरूले अध्यापन गराइरहेको, अनुगमन गरिएका कलेजहरूले विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध नगराएको जस्ता कमजोरी पाइएको प्रतिवेदनमा उल्लेख छ । 

हाल विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाबाट सञ्चालित कलेजमा १७२ कार्यक्रममा २८ हजार ७३ विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ । 
 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १ : ४४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित