४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

आयातमाथि विप्रेषणकाे ‘ओभरटेक’


३० आश्विन २०८१, बुधबार  



नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यसै चालू आर्थिक वर्षको दुई महिनामा नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोडको वस्तु आयात गरेको छ।

जबकि यसै अवधिमा जम्मा २५ अर्ब नौ करोडको निर्यात गरेको छ, भने विप्रेषण दुई खर्ब ६३ अर्ब १४ कराेड बढी भित्रीएकाे छ। पछिल्लो समयलाई विप्रेषणले आकाशिदाे आयातलाई समेत ‘ओभरटेक’ गरेको हाे।

नेपालको कुल विदेशी विनिमय सञ्चिति निरन्तर बढ्दो अवस्थामा रहेको छ । चालू आर्थिक वर्षको दुई महिनामै विदेशी विनिमय सञ्चिति एक खर्ब ११ अर्ब अर्थात् ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ ।

 विदेशी विनिमय सञ्चिति बढ्दै जानुमा नेपालको उत्पादन र निर्यातको योगदान नगण्य देखिन्छ । विप्रेषणको निरन्तर वृद्धि र आयातमा देखिएको संकुचनले विदेशी विनिमय सञ्चिति उल्लेख्य दरमा बढ्दै गएको तथ्यांकले देखाउँछ । 

चालू आर्थिकको दुई महिना (भदौसम्म)मा नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोडको वस्तु आयात गर्दा २५ अर्ब नौ करोडको निर्यात गर्न सकेको छ । यस अवधिमा नेपालले दुई खर्ब ३७ अर्ब ४५ करोडको व्यापार घाटा व्यहोरेको छ । त्यस्तै, खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा रहेको छ ।  तर, व्यापार र सेवामा रहेको उच्च व्यापार घाटाका बाबजुद नेपालको चालू खाता र शोधनान्तर स्थिति बचतमा देखिन्छ । यस अवधिमा चालू खाता ४९ अर्ब ६९ करोडले बचतमा रहेको छ । शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । 

सेवा र वस्तुको व्यापारमा उच्च घाटा हुँदा–हुँदै पनि नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित हुनुको मुख्य कारक विप्रेषण रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यो दुई महिनामा वस्तु आयातमा जति पैसा बाहिरएको छ, त्योभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । 

चालू आर्थिक वर्ष भदौसम्ममा नेपालमा दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । जुन गएको आर्थिक वर्षको यसैअवधिको तुलनामा १५.२ प्रतिशतले बढी हो ।

यो दुई महिनामा भित्रिएको विप्रेषण आयात रकमभन्दा ६० करोड रुपैयाँले बढी हो । नेपालले व्यहोरेको वस्तु व्यापार घाटाभन्दा विप्रेषण २५ अर्ब ६९ करोडले बढी हो ।नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापाले विप्रेषण अर्थतन्त्रको आधारस्तम्भजस्तै देखिएको बताए । विप्रेषणले वस्तु तथा सेवाको आयातमा बाहिरिने विदेशी मुद्रालाई सन्तुलनमा ल्याउन सहयोग पुर्‍याएको उनले बताए । त्यसका अलावा जीवनस्तर उकास्न तथा गरिबी निवारणमा समेत यसले महत्वपूर्ण गरिरहेको बताए । तर, आयात र व्यापारघाटाभन्दा विप्रेषण धेरै भयो भनेर खुसी हुन नमिल्ने उनको भनाइ छ । ‘अहिलेको अवस्थामा विप्रेषण बढेको राम्रो हो, यसले जनताको आवश्यकता परिपूर्तिदेखि जीवनस्तर उकास्न योगदान गरेको छ,’ उनले भने, ‘विप्रेषणसँगै बढेको विदेशी मुद्रा सञ्चितिलाई विकास र पूँजी निर्माणमा लगाउनुपर्छ ।’ 

 मुद्रास्फीति ३.८५ प्रतिशत, सबैभन्दा बढी सुदूरपश्चिममा
२०८१ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । समीक्षा महिनामा सहरमा भन्दा बढी मुद्रास्फीति गाउँमा देखिएको छ ।

ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । 


यस अवधिमा सबैभन्दा बढी मुद्रास्फीति सुदूरपश्चिम प्रदेशमा ५.९० प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमतीमा ३.२९ प्रतिशत रहेको छ । त्यस्तै, कोशी प्रदेशकोे उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेशको ३.८२ प्रतिशत, गण्डकीको ३.५० प्रतिशत, लुम्बिनीको ३.५३ प्रतिशत र कर्णाली प्रदेशको ३.५६ प्रतिशत रहेको छ । 

 बढ्याे कर्जा र निक्षेप !
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ७३ अर्ब ३९ करोड अर्थात् १.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड अर्थात् ०.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३५ अर्ब तीन करोड अर्थात् ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात अर्ब ५६ करोड अर्थात् ०.१ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा ०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित