३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

शरदकालीन सिजनमा ७२ देशका विदेशी पर्यटकले हिमाल आराेहण गर्दै …


१६ मंसिर २०८१, आइतबार  


यतिबेला विदेशी पर्यटकले हिमाल आराेहणका लागि पूर्वकाे सखुवासभामा पर्ने मकालु हिमालदेखि दार्चुलाको अपि हिमालसम्म चाप बढेको छ।

वसन्तकालीन सिजनपछिको आकर्षक मानिने शरद्कालीन हिमाल आरोहणका लागि ७२ वटा देशका १ हजार २ सय ५१ नागरिक नेपाल आइपुगेका छन् । मकालु हिमालदेखि अपीसम्मका ४६ वटा हिमाल आरोहण गर्न यस पटक ७२ वटा देशबाट आरोही नेपाल आएको पर्यटन विभागले शुक्रबार जारी गरेको तथ्यांकमा उल्लेख छ । 

यस पटक सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १ सय ३१, बेलायतबाट १ सय ५, फ्रान्सबाट ८३, चीनबाट ७९, जर्मनीबाट ७७ रसियाबाट ७५, जापानबाट ६४, चेक रिपब्लिकबाट ६२, स्पेनबाट ५१ र अस्ट्रेलियाबाट ५० आरोही नेपाल आएका छन् ।

शरद्कालीन सिजनको आरोहणका लागि २ सय ९२ महिला र ९ सय ५९ पुरुष आरोही रहेको विभागका अधिकृत सन्देश मास्केले जानकारी दिए। विदेशीबाहेक ४३ जना नेपाली पनि यश यामको लागि हिमाल आरोहणमा जाँदै छन् ।

विभागले शुक्रबारसम्म हिमाल आरोहण अनुमतिबाट ८ करोड ५८ लाख सलामी दस्तुर संकलन गरेको छ । यस सिजनमा सगरमाथा आरोहणमा भने कोही गएका छैनन् । अरू ८ हजार अग्ला मनास्लु, धौलागिरि, मकालु र चोयुसहितका ४६ हिमालमा १ सय ५९ वटा आरोहण दल गएका छन् ।

यस पटक सबैभन्दा धेरै अमादब्लममा ४ सय ८१, मनास्लुमा ३ सय ८, हिमलुङमा १ सय ४४, वरुणसेमा ५१, थापापिक धम्पुसमा ३२, पुथाहिमचुलीमा २८, सारीबुङमा २१ जना आरोही पुगेका थिए ।

नेपालले १२ महिनामा तीन सिजन हिमाल आरोहण खुला गर्दै आएको छ । वसन्त, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद् र डिसेम्बर, जनवरी, फेब्रुअरीमा पर्ने जाडो–गर्मीयाम गरी तीन सिजनमध्ये सबैभन्दा धेरै वसन्तयाम र सबैभन्दा कम जाडो–गर्मीयाममा आरोहण हुने गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित