१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

ग्लाेबल आइएमई बैंकमा २१ बैंक तथा वित्तीय संस्था मर्ज ,तीन ठूला बैक पनि मर्जरतिर !


५ पुस २०८१, शुक्रबार  


वाणिज्य बैंकहरूकाे अग्रणी संस्था हाे, ग्लाेबल आइएमई बैंक । यश वाणिज्य बैंक १ अर्ब ५० कराेड चुक्ता पुँजीबाट २०६३ सालमा स्थापना भएको थियोे ।

स्थापनाकाे करिब १८ वर्षमा यश बैंकले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थालाई मर्ज तथा प्राप्ति गरेको छ।२०६८ माघ २० ग्लाेबल आ इएमई भै एकीकृत काराेबार थालिएको थियोे ।

करिब १८ वर्षको अवधिमा यश बैंकमा २१ वटा बैंक तथा वित्तीय संस्था मर्ज तथा प्राप्तिमा गएका छन् । मर्ज तथा प्राप्तिका ग्लाेबल सफल बैंकको रूपमा स्थापित छ। सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था मर्ज तथा प्राप्ति गर्नेमा ग्लोबल आइएमई बैंक अर्थात चन्द्र प्रसाद ढकालको नाम अगाडि आउँछ ।उनै ढकालको नेतृत्वमा रहेको ग्लोबल आइएमई बैंकले अहिलेसम्म २१ वटा संस्था मर्ज गरिसकेको हाे।

ग्लोबल आइएमइमा बैंकले पछिल्लो पटक बैंक अफ काठमाण्डूलाई मर्ज गर्यो । यसका साथै जनता बैंक, हाथवे फाइनान्स, रिलायबल डेभलपमेन्ट बैंक, सोसल डेभलपमेन्ट बैंक, गुल्मि विकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, आइएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, कमर्श एन्ड ट्रस्ट बैंक मर्जर तथा प्राप्ति गरिसकेको छ ।

यस्तै लुम्बिनी बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक, शुभलक्ष्मी फाइनान्स, एकता विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, नेपाल आवास फाइनान्स, नेपाल कन्जुमर डभेलपमेन्ट बैंक लगायतका संस्था ग्लोबलमा मर्ज हुनु अघिका संस्थाहरुमा मर्ज भइसकेका थिए ।

धेरै बैंक तथा वित्तीय संस्था मर्ज गर्ने सूचीमा प्रभु बैंक दाेश्राेमा पर्छ । किष्ट फाइनान्सबाट किष्ट बैंक हुँदै बनेको प्रभु बैंकले विभिन्न १५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती गरेको छ ।

प्रभु बैंकले पछिल्लो पटक कान्छो वाणिज्य बैंकको रुपमा रहेको सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज तथा प्राप्ति गरेको हो । त्यसअघि ग्राण्ड बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, वैभव फाइनान्स, प्रभु फाइनान्स, समृद्धि विकास बैंक, नेपाल डेभलपमेन्ट बैंकलाई मर्जर तथा प्राप्ति गरेको छ ।

अन्य बैंकमा मर्ज भएका मध्ये इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, अरनिको डभेपलमेन्ट बैंक, सगरमाथा फाइनान्स, सेती फाइनान्स कालान्तरमा प्रभु मै विलय भएका छन् ।

मर्ज गर्ने क्रममा नबिल र तत्कालिन नेपाल बंगलादेश बैंकको पनि चर्चा निकै भएको थियो । बंगलादेश बैंक नबिलमा मर्ज हुनु अगावै नबिलले नेपाल युनाइटेड फाइनान्सलाई मर्ज तथा एक्वायर गरेको थियो ।

नेपाल बंगलादेश बैंकले भने एनबी फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्सलाई मर्ज तथा एक्वायर गरेको थियो । अझै पनि मर्जर तथा प्राप्तिका लागि नबिल बैंक हात फैलाएर बसिरहेकाे छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले पिपल्स फाइनान्स, नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सिङ र प्रिमियर फाइनान्सलाई मर्जर गरेको छ ।

हिमालयन बैंकमा विलय हुन पुगेको सिभिल बैंकले एक्सिस डेभलपमेन्ट बैंक, युनिक फाइनान्स,सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स, हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई मर्ज गरेको थियो ।

एनसिसी बैंक कुमारीमा विलय हुन पुग्यो । त्यसअघि एनसिसी बैंकले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई मर्जर तथा प्राप्ति गरेको थियो।

त्यस्तै कुमारी बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, देवः विकास बैंक, महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई मर्ज तथा प्राप्ति गरेको थियो ।

मेगा बैंकलाई मर्ज तथा प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्सलाई मर्ज तथा प्राप्ति गरेको थियो । मेगा बैंकले भने पश्चिमाञ्चल विकास बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकलाई मर्ज गरेको थियो ।

पछिल्लो पटक कैलाश विकास बैंकलाई मर्ज तथा एक्वायर गरेको प्राइम कमर्सियल बैंकले विराट लक्ष्मी विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंक र कन्काइ विकास बैंकलाई मर्जर तथा प्राप्ति गरिसकेको थियो ।

एनएमबी बैंकले भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, पाथीभरा विकास बैंक, प्रुडेन्सियल फाइनान्स र ओम फाइनान्सलाई मर्जर तथा प्राप्ति गरिसकेको छ ।

बैंकहरु मर्ज तथा प्राप्तिको चर्चा गर्दा लक्ष्मी बैंकको नाम सदैव अगाडि आउने गरेको थियो । लामो चर्चा पनि लक्ष्मी बैंक र तत्कालिन सनराइज बैंक मर्ज तथा प्राप्तिमा गए ।

लक्ष्मी बैंकले त्यसअघि नै हिसेफ फाइनान्स र प्रोफेसनल दियालो विकास बैंकलाई मर्ज तथा प्राप्ति गरेको थियो ।

थोरै बैंक तथा वित्तीय संस्था मर्ज गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकले स्ट्याण्डर्ड फाइनान्सलाई मर्ज गरेको छ । तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालले अघि सारेको मर्ज तथा प्राप्ति नीतिका कारण वाणिज्य बैंकहरू मर्जरमा गएका हुन्।

केही वर्षअघिसम्म बैंकहरुले वार्षिक साधारण सभाको सूचना प्रकाशन गर्दा विशेष प्रस्तावमा एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) का विषय हुने गर्दथे । त्यो क्रम अहिले धेरै कम छ ।तर,अझै पनि तीन वटा बैंक मर्जरका लागि तयारी अवस्थामा नै छन् ।

मर्जरका लागि तयारी अवस्थामा रहनेमा नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंक रहेका छन् । नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंकको साधारणसभा सकिएको छ । तीन वटा नै बैंकले मर्जरमा जाने नीति पारित गरिसकेका छन् ।

नबिल बैंकले साधारण सभामा नबिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय साधारण सभाबाट पारित गरेको छ ।

यस्तै प्राइम बैंकले बोलाएको साधारण सभाले मर्जको प्रस्ताव पारित गरेको छ । प्राइम बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्ज (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

यस्तै सिटिजन्स बैंक इन्टरनेसनलको सभाले पनि मर्जरको नीति पारित गरिसकेको छ । सिटिजन्स बैंक इन्टरनेसनल र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न) वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ।
सन २०१२ मा नेपालमा ३२ वाणिज्य बैंक थिए। जबकि सन १९८० मा नेपालमा २ वटा मात्रै वाणिज्य बैंक अस्तित्वमा थिए। मर्ज नीति पछि वाणिज्य बैंकको संख्यामा २० मा झरेको हाे।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ४६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित