समय आउँछ पर्खिदैन।यदि समयको पदचापलाई ठीक –ठीक ढंगले पछ्याउन सकिएन भने, पछुतो बाहेक अरु बाँकी रहन्न। हो यस्तै नियती भएको छ, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका लागि। जसले समयलाई अवसरमा बदल्न सकेन, बठ्याईमा सत्ता रजाँइ ग¥यो, उसको हातमा न बाँस छ, न बाँसुरी भो यतिबेला । करिब १९ महिनादेखि बालुवाटार दरबारको बास भएपनि यो अवधिमा कुनै सम्झनलायक देखिएन देशको चित्र । शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता बताउने उनै प्रचण्ड तीन पटक सत्तामा उक्लिए।
करिब १८ वर्षको शान्तिपूर्ण राजनीति यात्रामा मुलुककै सत्ता राजनीतिको मियोमै उनी छन्। एशियाकै धनी र सम्पन्न देश बनाउन भन्दै शहर छिरेका उनी निरन्तर सत्ता राजनीतिमा पिड खेल्दै आएपनि फेरिएन देशको चित्र र चरित्र ।जनयुद्धको राप र तापबाट सत्तामा उक्लिएको नेताको सत्ता यात्रा हात लाग्यो शून्य जस्तै देखिन्छ यतिबेला । सिंहदरबारमा फोटो झुण्ड्याउने,दुइचार थान मन्त्री अनि नाता र दातालाई आयोग र दूताबासमा नियुक्ति बाहेक उनले के भिन्न त्यस्तो काम गरे, जो देउवा ओलीले गरेका थिएनन् यस अघि ।
यही असार ८ गतेको समय हो, देशमा उथलपुथल ल्याउने भन्दै हुँकार गरेका थिए उनै सुप्रिमो प्रचण्डले । देशकै जिम्मेवार प्रधानमन्त्री पदमा बसेर ओकल्ने यस्ता उनको हुँकार र अभिव्यक्ति अन्तः प्रत्यूपादक सिद्ध भयो। जादूगर नम्बरले छक्याउदै सत्तामा बुर्कुसी मार्दै आएका उनी पछिल्लो पटक भने नराम्ररी पछारिए त्यही जादूगर नम्बरले । कहिले ओली त कहिले देउवाको काखमै बसेर सत्ता मस्ती गरेका उनलाई अन्तः ओली देउवाले खोलाको माछो बगरमा पछारे झै पछारे। चतुर ओली र कम बोल्ने देउवालाई पनि उपयोग गर्दै उनको १९ महिना सत्ताको म्याराथन लगभग बीट मरिसकेको छ। सत्तामा पटक –पटक परीक्षण भएपनि आफूलाई अब्बल सावित गर्न नसकेका प्रचण्ड सत्तामा मात्रै असफल देखिन्नन्। उनको दलको हविगत झनै वैरागलाग्दो छ।
२०६४ को पहिलो संविधान सभामा ३१ प्रतिशत जनमत बटुलेको प्रचण्ड नेतृत्वको माओवादी २०७९ मंसिरमा आइपुग्दा मुश्किलले तेश्रो दल अर्थात ११ प्रशितमा खुम्चियो। यसको मुल कारण जरो स्वयं प्रचण्ड थिए र हुन्। करिब ३६ वर्षदेखि पार्टी नेतृत्व र १८ वर्ष जति सत्ताको वरिपरि फन्को मारेका उनीबाट अब देश र जनताले आशा गर्ने कुनै ठाउँ छैन र देखिन्न।
संसदीय फोहोरी राजनीतिको डंगुरले लत्पतिएका छन् उनी। न त सरकार संचालनमा इमान्दारिता देखाउन सके, न सरकारमा रहेको बेला ठोस र प्रभावकारी काम गरेर देखाउन सके।बरु जनयुद्धको जगमा स्थापित नायकत्व गुमाए। भुइ मान्छेको आशा र भरोसा बनेर उदाएका प्रचण्ड अन्तः सत्ताको चास्नीमै डुबुल्की मारेर नकाम भए।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमपछि उनको उपादेयता सकिएको मात्रै छैन, उनकै पार्टीको जनसम्बन्ध सबै भत्किसकेका छन्। देशभर बलियो संगठन भएको पार्टी छ या छैन। अब त टुक्की बालेर खोज्नुपर्ने अवस्था देखिन्छ। नेतृत्वमा मौलाएको यस्तो नव धनाढ्य प्रवृत्ति र सत्ता भोगविलासले शान्ति प्रक्रियाको २० वर्षको सेरोफेरोमै माओवादी पूर्णरुपले विर्सजनको घाटतिर उन्मुख छ।यद्यपि यो देशमा गणतन्त्र स्थापना गनेमा उनै प्रचण्ड नायक हुन्, तर, उनै नायकले सत्ता संचालनमा ढंग नपुराउँदा आफ्नै नायकत्वको ओज गुमाए ।
मंगले आफ्नै ढंगले भने झै प्रचण्ड बाह्य कारण भन्दा बठ्याई र धुत्र्याइले पछारिएका हुन्। सधै छक्याएर सत्ता मस्ती गर्ने उनको सपना चकनाचुर भयो, गएको सोमबार मध्यरातमा । देउवा ओलीबीचको राजनीतिक प्रेमको सुइको नपाएका उनी दुइ दलबीचको समझारीपछि बेहोसी भए, अनि एमाले कांग्रेस गठबन्धनको आरिसले संविधान उल्टाउने र चलाउने भन्दै ठूलो स्वर निकाल्न थाले । उनको जतिसुकै स्वर ठूलो भएपनि त्यसको अब कुनै औचित्य देखिन्न। किनकी प्रचण्ड र उनको दलले जनविश्वास पूरै गुमाइसकेको छ। माओवादी बौरिन असम्भव जस्तै देखिन्छ।
समावेशी र समानुपातिका नाममा नेताको बथान बाहेक गएको १८ वर्षमा देशले खासै त्यस्तो तात्विक भिन्नता पाउन सकेन। राजकीय पदको लाभ लिएर कसै कसैको जीवनस्तर उकासिएपनि जनताको अवस्था जहाँको तँही रह्यो । संघीयतापछि मुलुकको सार्वजनिक ऋण १८ खर्बमाथि चुलियो। जुन सार्वजनिक ऋणको उछाल उत्तिकै छ। मुलुकभित्र भ्रष्टाचार र बेथितिले चौतर्फी जरा गाड्यो। समावेशीका नाममा दलीय शटर खोलेर च्याँखे थाप्ने र सत्ता दोहन गर्ने बाहेक उल्लेख्य भएन प्रगति । बरु जनतामा त्यत्ति ठूलो बलिदानीबाट प्राप्त गणतन्त्रमाथि अविश्वास चुलिदै गयो।
लोकतन्त्र नै यस्तै च्याँखे थाप्ने राजनीतिक धन्दाले मुलुक बर्बादी भन्दा केही भएन। यस्तो अवस्थामा च्याँखे थापेर राजनीतिक धन्दा चलाउने प्रथाको अन्त गर्न पनि अब संविधानको समीक्षा गर्दै नयाँ बाटो कोर्नु पर्ने बेला भैसक्यो । जनतामा चरम निराशा र आक्रोश छ। यस्तो अवस्थामा संविधान कार्यान्वयनको समीक्षा गर्दै अघि बढ्नु बान्छनिय हुन्छ। सधै भरी च्याँखे थापेर सत्ता चलाउने थापा –चन्द प्रवृत्तिले गणतन्त्र र लोकतन्त्रको रक्षा हुदैन र गर्दैन पनि ।
यी सबै खाले खतरा देखिएपछि मुख्य दल एमाले कांग्रेसले सहमति गरेका हुन् भने त्यसलाई आपत्ति मान्नु हुदैन। यद्यपि भ्रष्टाचारका काण्डमा संलग्नहरुलाई ओत्नका लागि समीकरण गरिएको हो, भने उनीहरुलाई निकै महंगो पर्न जानेछ। यसर्थ कांग्रेस एमालेले हिजो गरेका गल्तीहरुको गम्भीर समीक्षा गरुन्। सत्तामा उक्लिदा गरेका बेधर्मलाई पखाल्ने गरी अब देश र जनताको हितमा काम गरुन्। प्रधानमन्त्री प्रचण्डले संसदमा म्याजिक र लजिक दुबै गुमाइसकेका कारण उनको दलले पनि प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गरोस्। जनता अब सत्ताको चर्खामा राजनीतिक जोकरहरुले तमासा गरेको टुलुटुलु हेरेर बस्ने अवस्थामा छैनन्, चेतना भया ।