२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बालेनको समर्थन


२५ भाद्र २०८२, बुधबार  


आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् ।

जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् ।

बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन् ।

कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नामहरु समेत लिइरहेका छन् ।

बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।

धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ । मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन भनेका थिए ।

बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए । उनले संयोजक समेत तोकेर आउन आग्रह गरेका थिए । त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो ।

त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । त्यही कारण रक्षा बमसहितको समूह बाहिरिएको थियो । यद्यपि, अन्तिममा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति भएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ७ : ४६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित