लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा यही आइतबार सम्पन्न आर्थिक वर्ष २०८२्/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटलाई ‘साइज’मा राख्नेगरी तयारी थाल्न निर्देशन दिएका हुन् ।
प्रदेश सरकारले योजना तर्जुमा निर्देशिका निर्माण गरी टुक्रे योजना कटौती गर्ने र प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको उनले जानकारी दिए । वार्षिक योजना आयोजना बैंकबाट छनोट गर्ने व्यवस्था पनि निर्देशिकामार्फत लागू गरिने बताए । ‘आगामी आर्थिक वर्षको बजेट यथार्थपरक बनाउन जरुरी छ । अघिल्लो वर्ष पनि प्रयास गरिएको थियो, तर प्राविधिक कारणले केही समस्या देखियो,’उनले भने, ‘अब बजेटलाई व्यवस्थित आकारमा ल्याएर प्रभावकारी कार्यान्वयनतर्फ लैजान्छौं । सबै निकाय जिम्मेवार बन्नुपर्छ ।’
मुख्यमन्त्री आचार्यले परिणाममुखी कार्यसम्पादनमा जोड दिँदै जनताको अपेक्षाअनुसार कामको गति बढाउन निर्देशनमा भने, ‘हामीले गर्ने प्रत्येक कामले स्पष्ट परिणाम दिनुपर्छ । जुन कामले प्रत्यक्ष नतिजा दिन्छ, त्यसलाई प्राथमिकतामा राख्नुपर्छ,’उनको भनाइ थियो ।
उनले गएको आर्थिक वर्षमा सम्पन्न भई भुक्तानी हुन बाँकी रहेका आयोजनाको रकम फागुन महिनाभित्रै निकासा गर्न निर्देशन दिए ।‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी ढिला गर्नु हुँदैन । यसमा गम्भीरता आवश्यक छ,’ उनले भने ।
प्रदेशको आन्तरिक आम्दानी वृद्धि गर्न राजस्वको दायरा विस्तार गर्नुपर्नेमा उनले जोड दिए । निर्माण सम्पन्न भएर पनि प्रयोगमा नआएका संरचनाको प्रभावकारी सदुपयोग सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ । साथै समपूरक, सशर्त र विशेष अनुदानअन्तर्गतका आयोजनालाई समयमै सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।








