गाजामा रहेका इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गर्दै हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले तीमध्ये नेपाली नागरिक विपिन जोशीको पनि तस्वीर राखेको छ ।
कतारस्थित सञ्चारमाध्यम अल जजिराका अनुसार इजरायली सेनाले घेरेको क्षेत्रको सबैभन्दा ठूलो शहरमा नियन्त्रण लिन तथा ध्वस्त पार्ने अभियान जारी रहेका बेला हमासले यो संकलित फोटो सार्वजनिक गरेको हो।

शनिबार अनलाइनमा राखिएको उक्त तस्वीरमा जीवित र मृत दुवै अवस्थाका बन्दीहरूलाई देखाइएको छ र सबैलाई ‘रोन अराड’ शीर्षक दिइएको छ ।
रोन अराड सन् १९८६ मा दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा विमान क्षतिग्रस्त भएपछि बेपत्ता भएका इजरायली पाइलट हुन् । उनलाई तत्कालीन आमल आन्दोलनले पक्राउ गरी पछि हिज्बुल्लाहलाई सुम्पेको थियो। उनको मृत्यु भएको विश्वास गरिए पनि हालसम्म निर्णायक प्रमाण भेटिएको छैन ।
हमासले तस्वीरसहित उल्लेख गरेको टिप्पणीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ‘गाजाको नरसंहारात्मक युद्ध अन्त्य गर्न कुनै सम्झौता नगर्ने’ अडान र इजरायली सेनाप्रमुख एयाल जामिरको ‘गाजा सिटी विजय’ योजनामा असहमति जनाए पनि स्थल र हवाई आक्रमण विस्तार गरेको प्रसंग उल्लेख छ ।
हमासले बारम्बार गाजामा बढ्दै गएको इजरायली आक्रमणले बन्दीहरूको जीवन जोखिममा परेको चेतावनी दिँदै आएको छ । समूहले केही बन्दी इजरायली बम प्रहारमा मारिएको दाबीसमेत गरेको छ ।
इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दी जीवितै रहेको अनुमान गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संख्या २० भन्दा कम हुन सक्ने बताएका छन् । नेतान्याहू र ट्रम्प दुवैले सबै बन्दीलाई फर्काउने र हमासलाई ‘ध्वस्त’ गर्ने घोषणा गरेका छन् ।
शनिबार तेल अभिभसहित विभिन्न शहरमा लाखौं इजरायली नागरिक युद्ध अन्त्य र बन्दीहरूलाई तत्काल फर्काउन सम्झौता गर्न माग गर्दै सडकमा उत्रने तयारी भइरहेका बेला हमासले यो सूची सार्वजनिक गरेको हो ।
यसअघि पनि हमासले पटक–पटक इजरायली बन्दीहरूको भिडियो सार्वजनिक गर्दै आएको छ, जसले बन्दी परिवार, इजरायली सरकार तथा सहयोगी मुलुकहरूबीच असन्तोष र दबाब बढाएको छ ।








