१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

बालेन र घिसिङ,नेपाली समाजका’आइकन’


२ भाद्र २०८१, आइतबार  


चाणक्य भन्छन्, उच्च आसन, महलमा बसेर होइन,मानिस असल गुणले उत्तम हुन्छ। पक्कै पनि असल गुण र कर्मले मानिस महान हुने गरेका छन्, मानव सभ्यातको खास -खास समयमा ।त्यस्तै भएको छ ,नेपालको समकालीन युगमा पनि । भ्रष्ट दैत्यहरुको साम्राज्य चलिरहेको बेला नेपाल भूमिमा नायकहरु पनि जन्मिएका छन्। ती नायकहरु कुनै ठूलो कुल घराना र महलमा जन्मिएका भने होइनन्। आफ्नै इमान्दारिता र सत्कर्मले उदाएका पात्र हुन् । ती समकालीन नायकहरु हुन्ः काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ।

यी पात्रहरुको उचाइ निकै अग्लो छ। नेपाली समाजमा मात्रै होइन, संसारभरबाट तारिफ हुन्छ, उनीहरुको । महानगर प्रमुख बालेन्द्र साहले नर्क जस्तो काठमाडौलाई स्वर्ग बनाउन भगिरथ प्रयत्नमा छन्। गल्ली र चोक फोहोरले छपक्क भएको काठमाडौ अहिले नाकमुख थुन्नु परेको छैन । सार्वजनिक जग्गा हडपेर कुरुप बनाइएको काठमाडो फराकिलो भएको छ। दलिय संरक्षणमा पालन -पोषण गरिएका माफियाहरुको निद हराम भएको छ। राजनीतिक शक्तिको काँधमा बसेर उनीहरुले चलाएको लुटको दरबार निरन्तर भत्किदै छ। पावर र पैसाकै बलमा देशलाई खोक्रो बनाएका ती धमिराहरु यतिबेला भयभीत छन्। दलीय झण्डामुनि हुर्किएका धमिराहरुको गोलो यति धेरै भयानक छकी, त्यसको लागि ठूलो विद्रोहको मुस्लो चाहिने देखिन्छ। किनकी ३४ वर्षदेखि धमिराहरुले देश चुस्दै आएका छन्। किर्ना झै डसेर देशलाई रित्याएका छन्। ती धमिराहरु बालेनको कदमले त्राही त्राही भने भएका छन्।

प्रमुख बालेनेको एउटा सञ्जालको स्टाटसले यीनीहरुको मुटु हल्लिन्छ। किनकी सडक र सञ्जालमा बालेनका लाखौ फ्यान छन्। सडकमा पुग्दा बालेन जिन्दावाद भन्नेहरुको ताँती उर्लिदो छ। देशका राष्टपति र प्रधानमन्त्रीप्रति जनताको आक्रोश जति छ,उति धेरै प्रमुख बालेनप्रति सम्मान, विश्वास र भरोसा छ। अझ विेशेष गरी युवा पुस्तामा अझै धेरै लोकपृयता छ, बालेनको । यस पटकको तीजका गीतहरुमा बालेनकै तारिफ गरिएको छ। आँट भएका बालेन आए, काठमाडौ बनाए भन्दै गीतको माध्यमबाट सन्देश पवाह गर्नेहरुको ठूलो पंक्ति छ। तर, हिजो राजनीतिक त्याग तपस्या र बलिदान गरेर आएका भनिएका नेताहरुप्रति जनताको चरम घृणा र आक्रोश छ। यस्तो परिस्थिति बनिसकेको छकी , कोही -कसैले बालेन विरुद्ध कदम उठायो, भने सडक र सञ्जालबाट अरिंगाल झै झम्टिन जानेहरुको ठूलो भीड छ।

त्यसको एउटा उदाहरण हो, न्यूरोडको फुटपाथ विस्तारको प्रसंग ।जहाँ बालेनसंग सिंगौरी खेल्न पछिल्लो समय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि अघि सरे। न्यूरोडको विषयमा आफ्ना बफादार कार्यकर्ता सडकमै उतारे । तर, अन्तिमममा उनी र उनका बफादार कार्यकर्ताहरु पनि सेटव्याक भए। प्रमुख बालेनले धरहरामा निकुल्क पार्किङको व्यवस्था गरिदिएका छन्। दैनिक लाखौ रुपैया जनताको पैसा जोगिएको छ। पार्किङका नाममा माफियाहरुको लुटिखाने मुल सुकेको छ। त्यसपछि प्रधानमन्त्री ओलीलाई हारगुहार गरेका छन्। अनि ओलीले पार्किङ शुल्क उठाउनुपर्छ भन्छन्। तर, उनी विद्युतको वक्यौता २२ अर्ब छ। कुलमान घिसिङले उठाउन खोज्दा कुलमानलाई हटाउने धम्की दिन्छन। यति सम्मकी कांग्रेसको तर्फबाट उर्जा भन्त्री भएका मानिस हुन्,दीपक खड्का । उनै उर्जामन्त्री भएका दिपक खड्काले स्काउटको जग्गा झ्वाम पारेका छन्। सरकारी जग्गा लिजमा लिएर ब्वाँसो झै मुसार्दै मुसार्दै अन्तमा आफ्नै निजी बनाउने उदेश्यले अनेकन बखेडा झिकिरहेका छन् ।

त्यस्ता पात्रहरुले कुलमानलाई भन्छन्, ‘सरकारले दिएको निर्देशन मान,तिमी कारिन्दा हौ, तिमीलाई विद्युत महशुल असुली गर्ने अधिकार छैन’ भन्दै कुलमानलाई कमजोर बनाउने कोशीसमा छन्। यति मात्रे होइन, लेखा समितिमा समेत कांग्रेस र एमालेका सांसदको एउटै स्वर छ। माओवादीको मधुरो स्वर छ। बरु राप्रपाका ज्ञानबहादुर शाहीले कुलमानलाई काम गर्न देउ। कुनै विचार र आस्थाको आधारमा राम्रा मान्छेलाई नसताउ भनिरहेका छन्। ज्ञानबहादुर शाही जत्तिको पनि यीनीहरुलाई देशप्रति माया छैन। ३४ वर्षदेखि धमिराले रुख खोक्रो पारे झै यीनीहरुले ध्वस्तै पारेका छन्। घुमिफिरी रुम्जाटार भने झै ओली, प्रचण्ड र देउवाले पालैपालो सत्ता दोहन गरिरहेका छन्। विद्युत क्षेत्रमा देउवा र ओली भन्दा प्रचण्ड तुलनात्मकरुपमा उपलब्धिमूलक काम गरेका पात्र हुन्।

उनको पछिल्लो १९ महिने शासन पनि स्मरणीय रह्यो। विेशेष गरी उनले दोश्रो पटक २०७३ मा प्रधानमन्त्री हुँदा कुलमानलाई प्राधिकरणको कायकारी निर्देशकमा ल्याए। जसको परिणाम आज मुलुक अध्याँरोबाट मुक्त भएको छ। ३५ अर्ब घाटामा डुबेको प्राधिकरण ४७ अर्ब नाफा गरेको छ। ६ सयको हाराहारीमा रहेको जडित विद्युत अहिले ३ हजार मेगावाट माथि पुगेको छ। भारतलाई विद्युत बेचिएको छ। बंगलादेशलाई बेच्ने तयारी छ। देशको ९८ प्रतिशत घरधुरीमा बत्ति पुगेको छ। देशभर ५९ लाख घरपरिवारमा विद्युत पुगेको छ,यसमा २२ लाखले न्यूनतम शुल्क ३० रूपैया मात्रै तिर्छन्। यति घरपरिवारले सहुलियतमा बत्ती बाल्दा पनि कुलमानकाे सफल नेतृत्वले प्राधिकरण नाफामा मात्रै गएन, उर्जा क्षेत्रमा ठूलो क्रान्ति नै आयो। यसो हुनुमा पर्दा पछिका खास पात्र माओवादी अध्यक्ष प्रचण्ड हुन्। उनको प्रस्तावमा प्राधिकरण छिरेका कुलमानले मुलुकलाई उज्यालो मात्रै बनाएनन्। विकासका अन्य आयामहरु खस्किएका बेला उर्जा क्षेत्रमा ठूलो परिवर्तन आएको छ।

२०७३ भदौ २९मा नेपाल विद्युत प्राधिकरणमा कार्यकारी भएर आएका उनले त्यसै वर्षको लक्ष्मी पूजादेखि लोडसेडिङ घटाउन शुरु गरे। सधै लक्ष्मी पूजाका दिनमा पनि अध्याँरोमा बस्दै आएका नेपालीले उज्यालोको सास फेर्न पाए। उनले ४ वर्षे कार्यकालमा विद्युत क्षेत्रमा ठूलो चमत्कार देखाइदिए भने, लोडसेडिङका नाममा जनतालाई अध्याँरोमा थुनेर केही घरानाहरुले बत्ति जलाएका थिए। उनीहरुले त्यस्तो आपतविपतमा जलाएको बत्तिको बील भुक्तानी गर भन्दा उल्टै यतिबेला केही घराना र ओली सरकार कुलमानमाथि खनिएको छ। तर, कुलमानको पक्षमा लाखौ मानिसहरु छन्। कुलमान व्यक्तिगतरुपमा ठीक या बेठिक छन्। त्यो थाहा छैन,तर, उनले १८ घण्टा लामो लोडसेडिङ अन्त्य गरेर देशमा उज्यालो छरे, भन्छन्, कांग्रेस नेता डा चन्द्र भण्डारी । कुलमानले धमाधम काम गरिरहेकोले उनलाई हटाउने कुरा सर्वथा गलत भएको उनको टिप्पणी छ। कुलमानले विद्युत वक्यौता उनको विवेकले होइन, लाल आयोगदेखि सर्वाेच्च र विभिन्न समयमा समितिहरुले दिएको निर्देशन मात्रै पालना गरेका हुन्। यस अघिको सार्वजनिक लेखा समितिले समेत बक्यौता उठाउनु भनेर निर्देशन दिएकैले उनी जसरी पनि बक्यौता उठाउन लागि परेका छन्। त्यो उनको पदीय जिम्मेवारी र दायित्व पनि हो । तर, सरकार केही मुठ्ठीभरका व्यापारीको लहलहैमा लागेर थप बदनाम हुँदैछ । पहिलो कुरा त भ्रष्टहरुको गठजोड सरकारको आरोप खेपिरहेको सरकारले असल काम गर्ने पात्रलाई सघाएर राजनीतिक लाभ लिनु पर्नेमा उल्टै काम गर्नेलाई घुर्काएर बहादुरीता देखाइरहेको छ।

सरकारको यस्तो रवैयाले जनविश्वास गुमाएको मात्रै छैन। भोलिका निर्वाचनमा विशेष गरी एमालेलाई यस्तो गलत कदम निकै महंगो पर्नेछ। प्रधानमन्त्री ओलीले यो सत्यतालाइ बेलैमा बुझेनन् भने, उनी त इतिहासमै नालायक प्रधानमन्त्रीको रुपमा सिद्ध हुनेछन्, भने उनको कदमविरुद्ध सडकमै प्रतिरोध हुन सक्छ। किनकी कुलमानको पक्षमा लाखौ जनता छन्। कुलमानको कर्मको कारण उनीमाथि जनताको ठूलो भरोसा छ। एउटा जिम्मेवार राजनीतिज्ञले यत्ति कुराको पनि अक्कल राख्न नसक्नु इगो र प्रतिशोध भन्दा अरु केही देखिन्न। जसले स्वयलाई खरानी बनाउने पक्का छ। कुलमानलाई पदबाट हटाएर ओली सरकार थप नागो हुनेछ भने कुलमान झनै नायकत्व हासिल गर्नेछन्। यसर्थ कर्मबाट सिद्ध भएका नायकहरु काठमाडौका प्रमुख बालेन्द्र साह र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान जस्ता नायकहरुलाई हिलो छ्याप्न खोज्नु आफ्नै अस्त्वि समाप्त पार्नु हो, चेतना भया ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : ४८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित