यश चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चार महिनाकाे अवधिमा १८ अर्ब ६६ करोड ५१ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । दुई सय ६३ परियोजनामा सोही बराबरको वैदशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ। गएकाे कात्तिक महिनाामा मात्रै ५९ परियोजनामा दुई अर्ब २२ करोड ३७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।
चार महिनामा आएको लगानी प्रतिबद्धता गएका आर्थिक वर्षको यही अवधिको तुलनामा करिब दुई प्रतिशतले बढी हो । गएकाे आर्थिकको यही अवधिमा १८ अर्ब ३५ करोड ४३ लाखबराबरको लगानी प्रतिबद्धता आएको थियो । गएकाे आर्थिक भर भने ७० अर्ब दुई करोड सात लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो ।
समीक्षा अवधिमा पर्यटन क्षेत्रका एक सय १३ परियोजनामा ११ अर्ब १८ करोड लगानी प्रतिबद्धता आएको छ । यो कुल प्रतिबद्धताको ६० प्रतिशत हो । नेपालमा पर्यटनको सम्भावना र सरकारले पर्यटकलाई प्राथमिकतामा राख्दा पनि यस क्षेत्रमा लगानी आकर्षण भएको विज्ञहरू बताउँछन् ।
दोस्रो नम्बरमा भने सेवा क्षेत्र रहेको छ । समीक्षा अवधिमा सेवा क्षेत्रका २० परियोजनामा तीन अर्ब ८५ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । उत्पादनका १३ परियोजनामा एक अर्ब २२ करोड ८४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ ।
यसैगरी, आइटीका सात परियोजनामा १७ करोड ४० लाख रुपैयाँ, कृषिका दुई परियोजनामा पाँच करोड ८० लाख रुपैयाँ, खनिजका दुई परियोजनामा चार करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ ।
यो उद्योग विभागमार्फत आउने विदेशी लगानी प्रतिबद्धता मात्रै हो । लगानी बोर्डको तथ्यांक यसमा समावेश छैन ।