३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

गणतन्त्र रक्षाका लागि तीन दल एकै ठाउँमा, व्यवस्था विरूद्धको हर्कतको प्रतिवाद गर्ने


७ बैशाख २०८२, आइतबार  


संसदका तीन मुख्य दलले गणतन्त्रको रक्षाका लागि एकता कायम गर्ने बताएका छन् ।

तीन दलको शीर्ष नेतृत्वले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकढिक्का भएर उभिने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ बालुवाटारमा बोलाएको कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संगको बैठकमा राप्रपाले आइतबार गर्ने भनिएको प्रदर्शनका बारेमा छलफल गरेका थिए ।

राप्रपाले निषेधाज्ञ तोड्ने सार्वजनिक उद्घोष गरेर संविधान र कानुनका विरुद्धमा अघि बढ्न खोजेको भन्दै नेताहरुले आपत्ति पनि जनाएका छन् ।

‘तीन नेताबीच बालुवाटारमा भएको छलफलको निष्कर्ष भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकढिक्का भएर उभिन्छौं भन्ने साझा निष्कर्ष हो, अर्को गणतन्त्र, लोकतन्त्र र संविधानका विरुद्धमा हुने जनप्रदर्शन आन्दोलन होइन । राजनीतिक अस्थिरता फैलाउने वितण्डा हो भन्ने नेताहरुको साझा बुझाइ छ,’ बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले भने, ‘तीनै जनाले संविधान र गणतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि हामी एक ठाउँमा छौं भन्ने सन्देश दिनुभएको छ ।’

बैठकमा तीन नेताका अतिरिक्त गृहमन्त्री लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेलसमेत सहभागी थिए ।

छलफलमा संक्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम भएको सल्लाहकार खरेलले बताए ।

यसैबीच गृह मन्त्रालयले राप्रपाको प्रदर्शनलाई लक्षित गरेर शनिबार विज्ञप्ति निकाल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले तोकिएको निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक रूपमा आएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृहले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने भन्दै यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने र समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आम नागरिकमा अपील समेत गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : ५१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित