दशै मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् । घटस्थापनादेखि पाँच दिनसम्म ७ लाख यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।फूलपाति दिनसम्म १० लाखले उपत्यका छाेड्ने प्रहरीले अनुमान गरेको छ। याे संख्या गएको वर्षको तुलनामा करिब ५०% मात्रै हाे।
२४ घण्टामा झन्डै एक लाख यात्रु राजमार्ग भएर बाहिरिरहेका छन् । उक्त aसङ्ख्या फूलपातीका दिनसम्म अझ बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयको दाबी छ । मङ्गलबार, बुधबार र बिहीबार धेरै सङ्ख्यामा यात्रु बाहिरिने भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुसार गरिएको कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन कार्कीले बताए।
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका दिन पनि यात्रा गर्न सकिने जनाएको छ । सार्वजनिक सवारी नियमित रूपमा सञ्चालन हुने भएकाले लामो तथा छोटो दुरीका सवारी सञ्चालन हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए। बसहरू नियमित रुट र क्यु फ्रीमा सञ्चालन हुने छन् ।
असोज २४ गते फूलपातीका दिनसम्म यात्रुको चाप हुने भएकाले थप गाडी सञ्चालन गरिएको छ तर सडक भत्किएकाले समयमा काठमाडौँ आउनुपर्ने सवारी आउन नसक्दा व्यवस्थापनमा कठिनाइ भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए।