टेरामक्स खरिद प्रकरण भ्रष्टाचार मुद्दाका अभियुक्त पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियारकै प्रतिनिधिले प्रमुख अतिथि बनाएर सार्वजनिक कार्यक्रम गरेका छन् ।
जिल्ला जिल्लामा अख्तियारको प्रतिनिधिको रूपमा सीडीओलाई जिम्मेवारी दिइएको हुन्छ । तर, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने बस्नेतलाई खुसी पार्नकै लागि जिल्ला प्रशासन कार्यालयले कार्यक्रम आयोजना गरेर बस्नेतलाई प्रमुख अतिथि बनाएपछि थापाको आलोचना सुरू भएको छ ।
सिन्धु प्रशासनको आयोजनामा असार ३२ गते बाह्रबिसेमा बाढी पहिरोले अरनिको राजमार्गमा हुनसक्ने क्षति र रसुवामा बाढीपहिरो गएपछि तातोपानी नाकाको सम्भावित सुरक्षा जोखिमबारे पालिकाका प्रमुख, व्यापारिक संघरसंस्थालगायत सरोकारवालाको समन्वयात्मक बैठक राखिएको थियो ।
यस बैठकमा अख्तियारले मुद्दा दर्ता गरेका सिन्धुपाल्चोकका निलम्बित सांसद बस्नेतलाई प्रमुख अतिथि बनाइयो । तर, यहीँका संघीय सासंद माधव सापकोटालगायत प्रदेश सभाका कोही सांसदहरु कसैलाई बोलाइएको थिएन ।
बैठकमा विशेष गरी क्षेत्र नम्बर १ का चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, भोटेकोशी, सुनकोशी, बलेफी गाउँपालिकाका प्रमुख, भन्सार कार्यालयलगायत १८ सरकारी र गैरसरकारी कार्यालयलाई बोलाइएको थियो ।
सीडीओ थापाले रसुवामा बाढी गएपछि तातोपानी नाकामा मालवाहक सवारी साधानहरूको चाप बढेको, राजमार्गमा समस्या भएपछि त्यसलाई सहजीकरणका लागि जिल्ला समन्वय समितिको आग्रहमा आफूहरूले बैठक राखेको जानकारी दिए ।
‘
अभियुक्त पूर्व मन्त्रीलाई प्रमुख अतिथि बनाएर सार्वजनिक कार्यक्रम गरिएको भन्दै माओवादीले आपत्ति जनाएको छ। यद्यपि स्थानीय प्रशासनले स्थानीय बासिन्दाको रुपमा निम्तो गरिएको दाबी गरेको छ। ‘
माओवादी केन्द्रका सांसद सापकोटा भने योजनाबद्ध रूपमा षडयन्त्र गरेर भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई बोलाएर सीडीओले कार्यक्रम गर्नु गलत भएको बताउँछन् । अख्तियारका प्रतिनिधिले अख्तियारले नै मुद्दा दर्ता गरेको व्यक्तिलाई सरकारी कार्यक्रममा बोलाएर कानूनकै धज्जी उडाएको उनको टिप्पणी छ ।
पूर्व कानूनमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले पनि अख्तियारको प्रतिनिधिले कानूनविपरीत काम गरेको टिप्पणी गरे । विपदजस्तो संवेदनशील सवालमा सरोकारवाला सबैलाई बोलाएर समन्वय गर्नु ठीक भएपनि योजनाबद्धरूपमा कसैलाई खुसी पार्न गरिने यस्ता गतिविधि सही नभएको उनको जिकिर छ ।
त्यसैगरी नेकपा माओवादी सिन्धुपाल्चोकले विज्ञप्ति निकालेर निलम्बित सासंदलाई शिरमा बोकेर हिँड्ने जिल्ला प्रशासन कार्यालय र सीडीले जिल्लाबासीको शान्ति सुरक्षा र अमनचैनको अधिकारलाई हनन् हुने गरी बेथितिको प्रदर्शन गरिरहेको आरोप लगाएको छ ।
माओवादी केन्द्र सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनतामा क्षमायाचना गर्नुपर्ने, जनताको काममा तल्लीन हुन र अन्य राजनीतिक गतिविधि नगर्न चेतावनीसमेत दिइएको छ ।








