मुलुकको राजनीतिक यथार्थता मदनले परिकल्पना गरेको जनताको बहुदलीय जनवाद हो, अर्थात जनताको माझमा गएर श्रेष्ठता हासिल गर्नु हो।सिद्धान्त र व्यवहारबीचको तादम्यता अनुसार जनताको अवस्था बदल्नु हो।
यश कारण जबज नेपाली मौलिकतामा आधारित उन्नत विचार हो। दस वर्षे हिंसात्मक द्वन्दपछि शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डद्वारा प्रतिपादित २१ औ शताब्दीको जनवाद पनि जबजकै वरिपरि घुमेको छ। नेपाली समाजमा अहिलेसम्मको श्रेष्कर विचारको दस्तावेज अनुसार निर्मित पार्टी हो, एमाले ।त्यसका समकालीन व्याख्याकार हुन्, एमाले महासचिव शंकर पोखरेल ।
यही विचारकै प्रभावका कारण एमाले ठूलो शक्ति बन्यो।२०७४ मा ठूलो कम्युनिस्ट पार्टी बनेको एमालेले ४१ महिना शासन गर्यो। त्यसअघि मनमोहनले ९ शासन गरे।उनको शासनकालमा एमाले सर्वाधिक लोकपृय बन्यो। आफ्नो गाउँ आफै बनाऔ जस्ता लोकपृय कार्यक्रमले एमाले कम्युनिस्ट केन्द्रको रूपमा स्थापित भयो । सिहँदरबारको योजना गाउँमा गयो,यो अहिलेको जस्तो संघीयता भएर पनि होइन। यद्यपि कतिपयले यसलाई पञ्चायती संस्करण पनि भने।
तर, एमालेको जग यही नै थियोे । तर,मनमोहनको मृत्युपछि संसदीय फोहोरी खेल,संसद किनबेच र तस्करी जस्ता काण्डमा कांग्रेससंग एमाले मिसिदै गयो ।२०६४ मा एमालेले अकल्पनीय क्षति बेहोर्यो।तर, २०७० मा पुग्दा एमाले फेरि बौरियो।२०७४ मा सबैभन्दा ठूलो दल बन्यो। तर, पार्टी र ओली उस्तै उस्तै भनेर जबर्जस्त देवत्वकरण शुरू भयो एमालेभित्र । यद्यपि एमालेको ४१ महिने कालमा ठूलाठूला राष्ट्रिय गौरवका आयोजना अघि बढे।
नागढुंगा सुरूङमार्ग,दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन ,सुनकोशी मरिणडाइभर्सन,मध्यपहाडी लोकमार्ग जस्ता ठूलाठूला गौरवका आयोजना अघि बढेका हुन्।नाकाबन्दीमा भारतसंग प्रतिवादसंगै गुमेको भूमि फिर्ता गर्नेसम्मका कामहरू एमालेकै अगुवाइमा भएका हुन्। तर, एमालेले राष्ट्रिय विकासको संकल्प जसरी अघि सार्यो र कार्यान्वयन गरेर पनि देखायो, त्यसमा भ्रष्टाचार र अनियमितताको बदनामका श्रृङखलाहरू पनि संगसंगै बेहोर्यो।
एमालेले एकातिर ओलीको देवत्वकरण र अर्कोतिर विकासका आयोजना तथा कार्यक्रमरूमा भएका भ्रष्टाचारको संरक्षण गर्दै गयो। समीक्षा, सच्चिने र सच्याउने भन्दा पनि ओलीको स्वेच्छाचारी र अहंकारलाई उच्याउने गर्दै गयो। पार्टी एकता र विभाजनका श्रृङखला भए ।त्यसमा मदन विचारको क्रमश हत्या हुँदै गयो। २०७९ को निर्वाचनसम्म आइ पुग्दा एमालेमा अझै सुधार हुन्छ कि भन्ने धेरैले अपेक्षा गरेका थिए, त्यही कारण २०७९ मा पनि एक्लै लडेर राम्रो मत लियो।एमाले २०७९ को चुनावमा १० वटा दलका विरू्द्ध एक्लै चुनाव लड्यो र दोश्रो ठूलो दल बन्यो।यति हुनुमा ओली अहंकार र दम्भ होइन, मदनको विचार,मनमोहनको सदाचारको परिणामको निरन्तरता हो।
माधव झलनाथले एमालेलाई अघि बढाएपनि उनीहरूको पद ओगट्नु बाहेक त्यस्तो योगदान छैन,एमालेमा।तर, २०७८ मा माधव नेपालले पार्टी विभाजन गरेपछि एमालेमा ओली सर्वसत्तावादी शैली हाबी हुदै गयो। दुई दुई पटक संसद विघटन र आफ्नै विशाल कम्युनिस्ट पार्टी खरानी बनाएका ओलीमा अझै महत्त्वकांक्षा,मनपरि र अहंकार पलायो।
जति जति ओलीमा अहंकार र प्रतिशोधवादी भावना पलाउदै जान्छ ,त्यति त्यति जबजका व्याख्याकार शंकर पोखरेल लगायतले साथ दिदै आए । २०७० र २०७९ मा दाङमा चुनाव हारेका शंकर ओलीकै प्रशंसा र चाकडीमा राजनीति जीवन गुजारी रहेका छन् ।आफूलाई विचारक ठान्ने शंकर एमाले भित्रका वेदागी नेता भने अवस्य हुन् । एकपटक मुख्य मन्त्री र एक मन्त्री पटक बाहेक राजकीय पदमा धेरै पटक नगएका उनीमा निरन्तर विचलन देखिन्छ ।
एमाले जस्तो लोकतान्त्रिक शक्ति महासचिव भएर पनि ओलीका वफादार कार्यकर्ता जस्ता छन् । ओलीका खराब कदममाथि प्रश्न होइन, उनी सधैं प्रशंसा गर्दछन्। पछिल्लो समय कांग्रेससंगको अप्राकृतिक गठबन्धनका सुत्रधार समेत रहेका शंकर अहिलेसम्म पनि ओलीको अतिवादलाई ठीक भन्दै प्रतिरक्षा गरिरहेका छन् ।
निवर्तमान कांग्रेस एमाले गठबन्धन सरकारले गर्दै आएको स्वेच्छाचारी र भ्रष्टाचारी प्रवृत्तिको बचाउ गर्दै आए। ओलीलाई बोक्दा २०७९ मा चुनाव हारेका उनी पछिल्लो समय आफ्नै गृहजिल्लामा अलोकपृय छन् ।अबको निर्वाचनमा उनको जमानत जफत हुन सक्छ। मुख्य कारण ओली प्रवृत्ति बोक्ने र सत्तामा पुराउने तर, जिल्लाबासीको विकास चाहनामा सधैं धोकाधडी गर्ने कारण शंकर अब दंगाली जनताको आशा र भरोसाको नेता होइनन्, ओलीको नोकरचाकरमा बदलिएका छन् ।
ओली अहंकारको कारण जेनजी विद्रोह भयो। रक्तपात विद्रोहमा कलिला युवाहरू मारिए ।त्यसको नैतिक जिम्मेवार समेत लिएनन् ओलीले। न्यूनतम मानवीय संवेदना समेत नभएको ओलीलाई अझै बोकिरहेका छन् ,शंकर ।समकालीन कम्युनिस्ट आन्दोलनका एक विचारक र व्याख्याकारको रूपमा हेरिएका उनी अब ओलीको अहंकार ,दम्भ, प्रतिशोधी र घृणावादी चिन्तनसंगै सती जाने देखिएको छ।
बालुवाटारबाट लखेटिएका ओली यतिबेला भक्तपुरको गुण्डुमा आश्रय लिइरहेका छन् । ओलीको अस्थायी आश्रय स्थलमा भएको पार्टीको सचिवालय बैठकमा ९ जनाले आफ्नो धारणा राखेका छन् । त्यसमध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, रामबहादुर थापाले पार्टी पुर्गठनको अडान लिए । पुनर्गठनको अडान लिएका नेताहरूमध्ये अष्टलक्ष्मी शाक्यले लिखित रुपमै पहिलोपटक ओलीको राजीनामा मागिन् ।
उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेलले ओलीको बचाउमा बोलेका छन् भने उपमहासचिव प्रदीप ज्ञवालीले मध्यमार्गी प्रस्ताव राखेका छन् ।
महासचिव शंकर पोखरेलले भने ओलीलाई स्थापित गरेरै अगाडि बढ्नुपर्ने लामो व्याख्या नै गरे। गुण्डुमा पनि ओलीको बलियो बचाउमा पोखरेल सशक्तरूपमा उभिए। ओली तारिफ भने महेश बस्नेतले पाए।
जेनजीका नाममा आफू नेतृत्वको सरकार ढाल्ने र एमालेलाई कमजोर पार्ने षडयन्त्र भएको तर्क ओलीले गरेका थिए । तर, उपाध्यक्ष शाक्यले नयाँ पुस्तालाई पार्टीको भविष्य जिम्मा लगाउनुपर्ने प्रस्ताव राखिन् ।अष्टलक्ष्मीसँग मिल्दोजुल्दो तर्क बिष्णु पौडेलले गरेका थिए । दोष अरुलाई दिएर उम्कन नमिल्ने पौडेलको तर्क थियो ।
कमजोरीको समीक्षा गर्दै पुनगर्ठित एमाले अबको कोर्ष हुने पनि पौडेलले बताए । पार्टी पुनर्गठनको प्रस्ताव गरिरहँदा उनले ओलीलाई साथ दिइरहेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालहरूप्रति कटाक्ष नै गरेका थिए । उनले सधैं ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थितिको मूल्याकंन हुँदैन । यहाँ बोकेको ल्यापटपले तलको स्थिति बुझ्न सकिँदैन भनेर कटाक्ष गरेका थिए । बैठकमा सबै पदाधिकारी ओली विपक्षमा हुँदा शंकर र रिमालले ओली बोकिरहे। ओलीले गुरु मानेका प्रदिप ज्ञवाली समेत मझधारमा उभिदा शंकर अझै पनि ओली बोक्न तम्सिए।
उनको यो राजनीतिक मतिभ्रष्टले उनी त सकिन्छ नै।नेपालको कम्युनिस्ट आन्दोलनसंगै आम दंगालीको अपेक्षा पनि क्रमश खरानी बन्ने पक्का छ।








