२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

बैकुण्ठ दाहालको प्रश्न, ‘देश विपत्तिमा डुब्दा किन सञ्जालमै झुमिरहेको छ, युवा शक्ति?’


१५ भाद्र २०८३, सोमबार  


देश विपत्तिमा पर्दा सबैभन्दा पहिले सम्झनुपर्ने शक्ति भनेको युवा जनशक्ति हो। युवामा ऊर्जा छ, साहस छ, सीप छ र जोखिम मोलेर काम गर्ने क्षमता छ। तर पछिल्ला विपत्तिका घटनाले एउटा गम्भीर प्रश्न जन्माएको छ—देश डुब्दा, जनता मर्दा र धनजनको ठूलो क्षति हुँदा हाम्रो युवा शक्ति कहाँ हुन्छरु

भाद्र १० गते बिहान पौने ९ बजे भोटेकोसीले उग्र रूप लिँदै धुन्चेतर्फ उर्लिँदा त्यस क्षेत्रमा ठूलो विपत्ति आयो। समयमै सूचना पाउनेहरू सुरक्षित स्थानतर्फ लागे, तर सबैले त्यसरी भाग्ने अवसर पाएनन्। वृद्धवृद्धा, बालबालिका तथा अन्य धेरै नागरिक बाढीको चपेटामा परे। हजारौँ घरगोठ, खेतबारी, अन्नबाली तथा चौपाया बगे। पुलपुलेसा र भौतिक संरचनामा ठूलो क्षति पुग्यो। केही समयमै मानिसहरूको जीवन तहसनहस भयो।

सरकारले सेना, प्रहरीलगायत सुरक्षा निकायलाई उद्धार तथा राहतमा परिचालन गर्नु स्वाभाविक र आवश्यक काम हो। तर प्रश्न यहाँ उठ्छ—राजनीतिक दलका हजारौँ युवा संगठन कहाँ थिए ?

नेपाली कांग्रेसको तरुण दल, नेकपा एमालेसम्बद्ध युवा संगठन, नेकपा माओवादी केन्द्रसम्बद्ध युवा संगठन तथा अन्य दलका हजारौँ युवालाई विपत्तिको समयमा उद्धार र राहतमा परिचालन गर्न सकिँदैनरु चुनावका बेला जुलुस निकाल्न, सभा गर्न, पोस्टर टाँस्न र सामाजिक सञ्जालमा प्रचार गर्न युवालाई परिचालन गर्ने राजनीतिक दलहरूले देश र जनता संकटमा पर्दा आफ्ना युवालाई पीडितको घरदैलोमा किन पठाउँदैनन् ?

यो प्रश्न गम्भीरतापूर्वक उठाउनैपर्छ !

विपत्तिको समयमा मोबाइल निकालेर भिडियो बनाउनु, लाइभ गर्नु वा सेल्फी खिच्नु भन्दा पहिले कसैको ज्यान बचाउने प्रयास गर्नुपर्छ। सामाजिक सञ्जाल आफैँ खराब होइन। संकटको समयमा सही सूचना फैलाउन, उद्धार आवश्यक ठाउँ पहिचान गर्न, राहत जुटाउन र हराएका मानिसको जानकारी दिन सामाजिक सञ्जाल निकै उपयोगी हुन सक्छ। तर विपत्तिलाई केवल ‘भ्युज’ र ‘लाइक’ कमाउने माध्यम बनाउनु गलत हो।

पीडितको आँसु हाम्रो मनोरञ्जनको कन्टेन्ट बन्नु हुँदैन !

आज सामाजिक सञ्जालको भित्तामा बसेर देशको भविष्यबारे ठूलो बहस गर्ने युवा धेरै छन्। तर देशलाई वास्तविक समयमा चाहिएको युवा भनेको विपत्तिको मैदानमा पुगेर श्रम गर्ने युवा हो। बाढीले घरमा माटो पस्यो भने त्यो माटो पन्छाउने युवा चाहिन्छ। बाटो बन्द भयो भने बाटो खुलाउने युवा चाहिन्छ। पीडितलाई खाना र पानी चाहियो भने राहत बोकेर पुग्ने युवा चाहिन्छ। वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित स्थानमा पुर्‍याउने युवा चाहिन्छ।

यही हो वास्तविक राष्ट्रसेवा !

राजनीतिक दलहरूले आफ्ना युवा संगठनलाई केवल चुनावी प्रयोजनमा सीमित राख्नु हुँदैन। हरेक जिल्लामा, पालिकामा र वडामा प्रशिक्षित युवा स्वयंसेवक टोली निर्माण गर्नुपर्छ। विपत्ति आउनुअघि नै प्राथमिक उपचार, उद्धार, राहत व्यवस्थापन र विपद् व्यवस्थापनसम्बन्धी तालिम दिनुपर्छ। आवश्यकता पर्दा सेना, प्रहरी र स्थानीय प्रशासनसँग समन्वय गरेर तुरुन्तै परिचालन गर्नुपर्छ।

श्रम संस्कृति पार्टीले आफ्ना कार्यकर्तालाई विपत्ति प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न आह्वान गरेको र स्वयं पनि काममा खटिएको देखिनु सकारात्मक कुरा हो। तर विपत्तिमा सेवा गर्नु कुनै एउटा दलको मात्र जिम्मेवारी होइन। सबै राजनीतिक दलका युवा, सामाजिक संघसंस्था र स्वतन्त्र युवाहरू एकजुट हुनुपर्छ।

विपत्तिमा दलीय झण्डा होइन, मानवीयता करूणा झल्किनु पर्छ !

हामीले युवालाई गाली गरेर मात्र समस्या समाधान हुँदैन। राज्यले पनि युवालाई सही दिशामा परिचालन गर्ने वातावरण बनाउनुपर्छ। युवालाई राजनीति, उत्पादन, उद्यम, कृषि, उद्योग र सामाजिक सेवासँग जोड्नुपर्छ। युवाको ऊर्जा देश निर्माणमा प्रयोग गर्नुपर्छ।

आज अरूको घर बगेको छ, भोलि हाम्रो घर पनि बग्न सक्छ। आज अरूको परिवार संकटमा छ, भोलि हाम्रो परिवार पनि संकटमा पर्न सक्छ। त्यसैले ‘मलाई के मतलबरु’ भन्ने सोच त्यागेर ‘म के सहयोग गर्न सक्छुरु’ भन्ने सोच विकास गर्नुपर्छ।

देशप्रेम सामाजिक सञ्जालमा लेखिने स्टाटस मात्र होइन। देशप्रेम भनेको संकटमा परेका नागरिकको हात समात्नु हो। राष्ट्रवाद भाषणमा मात्र होइन, व्यवहारमा देखिनुपर्छ।

त्यसैले अब युवा शक्ति सामाजिक सञ्जालको भित्तामा हाेइन, विपत्तिकाे बगरमा खडा हुनुपर्छ !

‘गफ जोतेर देश बन्दैन, श्रम गरेर देश बन्छ।
नारा लगाएर मात्रै देश बन्दैन, सेवा गरेर देश बन्छ।
भिडियो बनाएर मात्रै देश बन्दैन, विपत्तिमा हातेमालो गरेर देश बन्छ।’

देश विपत्तिमा पर्दा युवा अगाडि आउनैपर्छ। श्रम गरौँ, श्रमदान गरौँ, पीडितको सेवा गरौँ र देश निर्माणमा आफ्नो ऊर्जा लगाऔँ।
यही नै आजको आवश्यकता हो।
यही नै युवा शक्तिको वास्तविक परीक्षा हो।

(लेखक दाहाल ,श्रमसंस्कृति पार्टी धादिङ उपाध्यक्ष हुन्)

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ११ : ५३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित