३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

गाैतमबुद्ध विमानस्थलमा धमाधम उडान, तर,छैनन् यात्रुका लागि न्यूनतम सुविधा !


९ मंसिर २०८१, आइतबार  


पछिल्लो समय गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी विमान कम्पनीहरूले धमाधम व्यवसायीक उडान गरिरहेका छन् ।


नेपाल वायुसेवा निगमसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडान थालेपछि केही उत्साह थपेको व्यवसायीहरू बताउँछन् ।


विमानस्थलका अनुसार यतिबेला दोहाबाट कतार एयरवेज, बैंककबाट एयर एसिया, दुबईबाट फ्लाई दुबई, कुवेतबाट जजिरा तथा नेपाल एयरलाइन्सले अहिले भैरहवाबाट उडान सुरु गरेका छन् । कुनै समय असान्दर्भिक हुन लागेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बनेको छ, स्थानीय व्यवसायी पनि उत्साहित छन् । 

काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल विस्तार हुन लागेकाले उडान कटौती भएको अवस्थामा भैरहवा सरेका एयरलाइन्सको सेवा दीर्घकालीन हुन्छ/हुन्न भन्नेमा भैरहवाका व्यवसायीको चासो र चिन्ता छ । त्यस्तै, श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, कार्गो, क्वारेन्टाइन जस्ता सेवा भैरहवामा नहुँदा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यता पनि छँदै छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा साना–ठूला सवारी साधनको घुइँचो छ । यात्रुको स्वागत तथा बिदाइका लागि आएका आफन्त र सुरक्षाकर्मीको ओहोरदोहोरले विमानस्थल व्यस्त बनेको छ । फ्लाई दुबई र कतार एयरवेजका जहाज प्रत्येक दिन दिउँसो अवतरण गर्छन् । एयर एसिया, जजिरा र नेपाल एयरलाइन्सले पनि उडान गरेका छन् । ठूला जहाज अवतरण/उडान गरेको अवलोकन गर्न भैरहवा–लुम्बिनी सडक किनारमा सर्वसाधारणको पनि भीड लाग्छ ।

भैरहवा विमानस्थलबाट नियमित उडान भइरहँदा रूपन्देही र आसपासमा आर्थिक गतिविधि बढ्ने विश्वासमा निजी क्षेत्र उत्साहित छ । विमानस्थल निर्माणसँगै पर्यटक बढ्ने विश्वासमा धेरै उद्योगी, व्यवसायीले होटल र रेस्टुरेन्टमा लगानी गरेका छन् । विमानस्थल उद्घाटनपछि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा धेरै व्यवसायी निराश बनेका थिए । धेरै होटल अधुरै छाडिएका थिए । एकैपटक पाँच वटा वायुसेवाका जहाज भैरहवा आउन थालेपछि लगानीकर्ता पुनः जुर्मुराएका छन् । उनीहरूले अधुरै छाडेका होटलको निर्माणलाई निरन्तरता दिएका छन् ।

बुद्ध जयन्तीका अवसर पारेर २०७९ जेठ २ मा विमानस्थल सञ्चालनमा आएको थियो । विमानस्थल उद्घाटनसँगै कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान थालेको थियो ।

अन्तर्राष्ट्रिय उडान थालेको पहिलो वर्ष सन् २०२२ मा ३१ हजार ३ सय ५५ यात्रु भैरहवाबाट बाहिरिएका थिए । सन् २०२३ मा ४ हजार ७ सय ५१ जनाले यहाँबाट उडान भरेका थिए । सन् २०२४ मेमा करिब १ हजार यात्रुले यहाँबाट सेवा लिए । भैरहवाबाट १० महिना उडान गरेको जजिरा एयरवेजले प्राविधिक कारण देखाउँदै सेवा स्थगित गरेको थियो । तर अहिले फेरि सातामा तीन दिन उडान गरिरहेको छ । त्यस्तै नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई सातामा चार दिन उडान गरिरहेको छ ।

थाइल्यान्डको थाई एयर एसियाले भैरहवामा गएकाे नोभेम्बर ३ अर्थात् कात्तिक १९मा पहिलो उडान गरेको हो । त्यो दिन थाई एयर एसियाको विमान यात्रुविहीन फर्किएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार त्यसपछि थाई एयर एसियाको विमान यात्रुविहीन हुनुपरेन । अहिलेसम्म थाई एयर एसियाको विमान यहाँ ४ पटक अवतरण भयो । दोस्रो पटक यहाँबाट उडान भर्दा ३२ यात्रु लिएर फर्किएको थियो । तेस्रो पटक ७९ र चौथो पटक ९४ यात्रु लिएर फर्कियो । ‘आउने/जाने गरेर थाई एयर एसियामार्फत अहिलेसम्म २ सय ३४ ले यात्रा गरिसके। उडानको प्रचार भएपछि यात्रु आउन थालेकाे विमानस्थलका महाप्रबन्धक तिवारी बताउँछन् ।

उनका अनुसार अहिलेसम्म जजिरा एयरवेजको विमानले १२ पटक उडान/अवतरण गरिसक्यो । जजिरामार्फत १ हजार ८ सय ३३ यात्रुले ओहोरदोहोर गरिसकेका छन् । ‘जजिराको जहाज प्रायः भरिभराउ हुने गरेको छ,लामो तयारी र प्रचारप्रसार भएकाले होला जजिराले यात्रु पाइरहेको छ।

थाई एयर एसिया र जजिराले आफ्नो मुलुकबाट भैरहवा सिधा उडान गर्छन् । अन्य वायुसेवा कम्पनीले भैरहवालाई ‘ट्रान्जिट’ बनाएका छन् । वायुसेवालाई आकर्षण गर्न यहाँबाट ‘ट्रान्जिट’ उडानको व्यवस्था मिलाइएको पनि तिवारीले बताए ।
यसैगरी फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई दैनिक उडान गर्छ । फ्लाई दुबईले २६ पटक उडान/अवतरण गरेको छ । यसक्रममा ४ सय ६० यात्रुले भैरहवाबाट ओहोरदोहोर गरेका छन् । भैरहवा हुँदै काठमाडौं जाने यात्रु १ हजार ४ सय ६१ थिए ।

त्यस्तै ,कतार एयरवेजको जहाजले यहाँ २० पटक उडान/अवतरण गरिसकेको छ । यस अवधिमा ३३ यात्रुले भैरहवाबाट ओहोरदोहोर गरेका छन् । कतार एयरवेजबाट भैरहवा हुँदै काठमाडौं जाने यात्रुको संख्या ६ सय ४३ रहेको छ । कतार एयरवेजको वाइडबडी जहाज भैरहवा अवतरण गर्नु नै खुसीको कुरा हो। वाइडबडी अवतरण हुने भएपछि त्यसअनुसारका उपकरण र सुविधा थप्न पर्ने तिवारी बताउँछन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सकाे विमानले पनि यहाँबाट १२ पटक उडान/अवतरण गरेको छ । यस अवधिमा जम्मा ८ यात्रु भैरहवा आएका छन् । भैरहवा हुँदै काठमाडौं जाने यात्रुको संख्या ९ सय २१ रहेको छ । नेपाल एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार काठमाडौं–भैरहवा–दुबई उडान गरिरहेको छ ।

जाडोयाम सुरु भएसँगै यहाँ जहाजको उडान/अवतरणमा भने समस्या देखिन थालेको छ । बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि आन्तरिक र बाह्य उडान प्रभावित भइरहेका छन् । विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको कुवेतको जजिरा एयरवेजले पनि जाडोयाममा प्राविधिक कारण देखाउँदै सेवा स्थगन गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिबिलिटी’को समस्या हल गर्न ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस)’ उपकरण जडान गरिएको छ । आईएलएस’ को प्रयोगले सुरक्षा प्रभाव पर्ने जनाउँदै भारतले आपत्ति जनाएपछि त्यसको प्रयोग हुन नसक्दा समस्या दाेहाेरिने देखिन्छ ।
यस्तो अवस्थामा कम ‘भिजिबिलिटी’मा जहाजलाई उडान/अवतरण गराउन विमानस्थल व्यवस्थाले भूउपग्रहमा आधारित अवतरण प्रणाली (आरएनपी–एआर) प्रस्ताव गरेको छ । आगामी डिसेम्बरसम्म यसबारे निर्णय हुने महाप्रबन्धक तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार ‘आईएलएस’ प्रविधिमा उडान/अवतरणका लागि ८ सय मिटर ‘भिजिबिलिटी’ जरुरी हुन्छ । ‘आरएनपी–एआर’ प्रविधि जडान भएका विमानले ७००/८०० मिटर ‘भिजिबिलिटी’मा अवतरण गर्न सक्छन् । ‘त्यसैले आरएनपी–एआर प्रविधिलाई विकल्पमा प्रस्ताव गरिएको बताइएको छ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पाँच वायुसेवा कम्पनीले केही सातादेखि नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । तर,घुम्न र रोजगारीका लागि विदेश जानेले भने सहजै भैरहवाबाट विमान चढ्ने अवस्था छैन । त्यसका लागि आवश्यक्र प्रक्रिया पूरा गर्न संघीय राजधानी काठमाडौं धाउनैपर्ने बाध्यता छ ।

भैरहवामा स्वास्थ्य जाँच, म्यानपावर, भिसा सेन्टरलगायतका कार्यालय अहिलेसम्म स्थापना गरिएका छैनन् । यहाँका लगानीकर्ता, पर्यटन व्यवसायी र ट्राभल कम्पनीले साढे दुई वर्षदेखि बिदेसिन चाहिने आधारभूत प्रक्रिया पूरा गर्ने कार्यालय स्थापनाको माग गर्दै आएका छन् । ‘विदेश जाने प्रक्रियाका लागि चाहिने सबै कार्यालय स्थापना भइसक्नुपर्थ्यो । अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँमा यस्ता कार्यालय स्थापनाको माग गर्दै आएकाे रूपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की बताउँछन् ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाट उत्साहित निजी क्षेत्रले रूपन्देही र आसपासमा पर्यटनलगायत पूर्वाधार तयार गर्न एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् ।
सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विदेश जानका लागि सरकारी कागजात बनाउन काठमाडौं जानुपर्ने बाध्यता जतिसक्दो छिटो अन्त्य गरिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय उडान भइसक्दा पनि आधारभूत पूर्वाधारमा अल्झिनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए । एक सातामा हल हुने कुरामा सरकार अल्झिरहेको छ,’ उनले भने, ‘मन्त्रालयले निर्णय गर्नासाथ आवश्यक कार्यालय भैरहवा आउँछन्, त्यसका लागि पहल हुनुपर्‍यो ।’भैरहवाबाट धेरै विमानले उडान गरिरहेकाले निजी क्षेत्रले पनि विमान कम्पनीको व्यापार बढाउन सकारात्मक रूपमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ७ : ५३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित