प्रकृतिको संरक्षण विना पानी जस्तो आधारभूत सेवाको आपूर्ति असम्भव छ। पानीको दीगो संरक्षण गर्न सकेमा विकासका हर चक्रलाई निरन्तरता दिन सकिन्छ ,यो विकासको अनुभवबाट स्थापित मान्यता हो।

पानी र जवानी विकासका पहिलो आधार हुन् भन्ने मोदी वाणी पनि छ। यो शाश्वत सत्य कुरालाई हामीले मनन् गरेका छौ या छैनौ यक्ष प्रश्न यही हो। हुन त हामीले स्थापित गरेको भाष्य यस्तो छ,कि,नेपाल विश्वको दोश्रो जलश्रोतको धनी देश हो।यो भाष्यको निर्माण भएको पनि धेरै भैस्क्यो ।तर,अझै पानीको लागि चीत्कार झेल्न हामी बाध्य छौ, विवश छौ।
सरकारी तथ्यांक अनुसार पनि ९५ प्रतिशत बढी जनसंख्याको घरमा शुद्ध पानी पिउने धारा पुगेको छ। धारामा पानी पुग्ने पानीको श्रोत अर्थात् मुहान कस्तो छरु हामीले कहिल्यै ध्यान दिएका छैनौं। बरू अन्धधुन्ध पानीको मुहान मासिने गरी विध्वंसकारी गरिरहेका छौ।
तर, पछिल्लो समय देशकै एक पालिका घोराही उपमहानगरले कृत्रिम जलाशयको कामलाई नमुनाका रूपमा स्थापित गरेको छ। यो पर्यावरण मैत्री विकासको एक सफल मोडल पनि हो। विश्व पानी दिवसको अवसरमा पंक्तिकार तथ्यलाई टेकेर विश्लेषण गर्न गइरहेको छ। तथ्यमा आधारित विश्लेषण हर सबैका लागि अभिप्रेरणा र सुझाव बन्न सकून् भन्ने ध्येय हो। त्यसैको शिलशिलामा स्थलगत अध्ययनमा पाइएका तथ्यहरूलाई मसिनो गरि केलाएर मार्च २२ अर्थात विश्व पानी दिवसको अवसरमा यो सामग्री पस्किने कोशीस गरिएको हो।

नगर प्रमुख नरूलाल चौधरीका अनुसार तीस लाख देखि ९० लाखसम्म जलाशय निर्माणमा पालिकामार्फत खर्च भएको छ। यी प्रत्येक जलाशयले औसतमा ८्० विगाह क्षेत्रफलमा सिचाइ सुविधा पुराएको नगर प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिए। उनले दिएको जानकारी अनुसार ४३ वटा जलाशयले करिब ३५ सय विगाह क्षेत्रफलमा बाह्रै महिना सिचाइ सुविधा पुगेको छ।यति मात्रै होईन,पानीको श्रोतको संरक्षण ,पर्यापर्टन,माछापालन जस्ता कृषि र पर्यावरण सम्वद्ध कामबाट स्थानीयले लाभ मात्रै लिएका छन् । कृत्रिम जलाशय पानीको दीगो व्यवस्थापनको बलियो आधार बन्ने गरेको छ।

घोराहीको कृत्रिम जलाशय देशकै नमुनाको रूपमा स्थापित छ।आज घोराहीले पानीको दीगो संरक्षणमा हासिल गरेको सफलता अरूका लागि अनुकरणीय बन्ने गरेको छ।

सबै तहका सरकार जिम्मेवार बन्ने हो भने जलश्रोतको दोश्रो धनी देश भन्न सुहाउँदो हुनेछ ।किनकि पानी जस्तो आधारभूत विषयमा सबै सरकार र सरोकारवाला कति जिम्मेवार छन् भन्ने प्रधान सवाल हो।पानी नै मानव सभ्यताको आधार हो।त्यसैले पानीको संरक्षण गर्नु मानव जाति लगायतको संरक्षण गर्नु पनि हो। हरेक प्राणीको जीवन रक्षा र अस्तित्व पानीमा निर्भर छ।यसर्थ पानीको संरक्षण निशर्त मुद्दा हो। वर्षमा एकदिन कर्मकाण्ड गरेर सम्झिने भन्दा पनि हर क्षण पानीको संरक्षणमा लाग्नु हरेक मानव जातिको दायित्व र कर्तव्य हो।

कुनै राज्य वा संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय निकायले मात्रै पहल गरेर हुने विषय पनि होईन।तर,संरक्षण र उपयोगका लागि नीति र कार्यक्रम बनाउनु पर्ने दायित्व र जिम्मेवारी भने उनीहरूकै हो।त्यस्तै एक निकाय हो, घोराही उपमहानगर पनि ।संघीय शासन शुरू भएयता घोराही सरकार प्रमुखको रूपमा रहेका नगर प्रमुख नरूलाल चौधरीको नेतृत्वको पालिकाले गर्नुपर्ने धेरै काम होलान्, कतिपय काम पूरा भए होलान् र अधुरा पनि होलान्। तर,देखिने गरि अनुभूति गर्न सकिने कृत्रिम जलाशयको विकास मोडल लोभ लाग्दो छ।करिब एक दशकयता ४३ वटा यस्ता जलाशय बनेका छन्। पालिकाले ३० लाखदेखि ९० लाख सम्मको खर्चमा पानीको दीगो व्यवस्थापनमा नमुनायोग्य काम गरेर देखाइदिएको छ।

आज मार्च २२अर्थात विश्व पानी दिवस। सन १९९३ देखि २२ मार्चलाई विशेष दिनको रूपमा मनाउने गरिएको छ। यश वर्ष ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ २२ मार्चमा विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदै छ ।
अत्यास लाग्दो अस्वभाविक सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारणले पानी संकट भइरहेको छ। पानी जस्तो आधारभुत सुविधाबाट अझै पनि धेरै मानिसहरू बन्चित छन्। पानीको कारण धर्तीमा रहेका जिवित सबै प्राणी र वनस्पति संकटमा छन् ।पानीको श्रोतको संरक्षण र दीगो व्यवस्थापन नहुँदा हर खडेरीमा पानीको हाहाकार छ।
पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएका छन् । त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको छ।यही वास्तविकतालाई बोध गरेरै यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको हो ।
सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसंघको विश्वव्यापी पहलकदमी हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको दाबी छ ।
संसारभर रहेको पानी मध्य झण्डै ९८ प्रतिशत पानी समुद्रमा छ। यो पानी नूनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनको लागिसमेत प्रयोग गर्न सम्भव छैन । पानीको सदुपयोग गर्न नसक्दा संसारभर नै समस्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक वर्ष एक जनाका लागि नौ हजार घनमिटर पानीको आवश्यकता पर्ने देखिन्छ ।
संसारभर उपलब्ध पानीमध्ये २.५ प्रतिशतमात्र पिउनयोग्य उपलब्ध छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको छ ।
नेपालको हकमा प्रतिव्यक्ति कुल जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर पर्न आउँछ ।तर, हाम्रो देशमा हालसम्मको उपभोग दर प्रतिव्यक्ति तीन सय ९३ दशमलव पाँच घनमिटर रहेको पाईएको छ । दाङमा ७ लाख जनसंख्या छ। यसको दैनिक माग करिब २५ लाख घनमिटर खाँचो छ। तर,आधा पनि आपूर्ति हुन सकेको छैन। यही यथार्थतालाई बोध गरेर घोराही नगरले पानीको दीगो संरक्षणको कार्यक्रमलाई निरन्तर अघि बढाएको नगर प्रमुख चौधरीले बताएका छन् ।पर्यावरणीय विकासको नमुना मोडल बनेको कृत्रिम जलाशय धेरै बाँझा भिजाएको छ, रोजीरोटी,उत्पादन र भोकको समस्या हल गरेको छ।यो कार्यक्रम आफैमा गौरवको आयोजना पनि हो।

पछिल्लो समय औद्योगिक राष्ट्रको कहालीलाग्दो औद्योगीकरण, जलवायु परिवर्तन र तापमान वृद्धिका कारण पानीको परम्परागत मूल सुक्दै गएका छन् । पछिल्ला वर्षमा हिमनदी सुक्दै गएका छन् भने विश्वका करिब एक अर्ब मानिस पानीको समस्या झेल्दै आएका छन् ।
जलवायु परिवर्तनले संसारभर पारेको प्रभाव हरितगृह ग्यास उत्सर्जन, हिमनदी र हिमताल फुट्ने खतरा बढेको सन्दर्भलाई मनन् गर्दै अगाडि बढ्नु जरुरी भइसकेको छ । नदीमा मानवीय अतिक्रमण बढेको, अनियमित तवरले भूमिगत पानी निकालिएको, पानीको रिचार्ज गर्नेतर्फ ध्यान दिन सकिएको छैन । वर्षातको पानी पनि खेर गइरहेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ । विश्वभर रहेका सात अर्ब बढी मानिस २५ लिटरका दरले मात्रै पानी उपलब्ध गराउने हो भने एक खर्ब ७५ अर्ब लिटर पानी आपूर्ति गर्नुपर्ने हुन्छ ।
द्रुत गतिमा बढ्दो सहरी जनसंख्या, कारखाना र जलवायु परिवर्तनको अनिश्चितता, सहरी जल प्रणालीमा द्वन्द्व र प्राकृतिक प्रकोपमा अन्तरराष्ट्रिय जगतको ध्यान खिच्न पानी दिवस सफल भए पनि प्रभावकारी कार्यान्वयनका लागि भने उपलब्धि हासिल हुन सकेको देखिन्न।








