२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

कोटीहोम – महायज्ञ धार्मिक व्यापार कि, आध्यात्मिक विचार ?


१२ श्रावण २०८१, शनिबार  


शास्त्रहरुले भन्छन्, “भौतिक सम्पत्तिप्रतिको लोभ र मोह त्याग्न सके सुखी भइन्छ, दुःखको निवारण हुन्छ। दुःखको कारण नै भौतिक सम्पत्तिको मोह हो । भौतिक जगतको मायारुपी संसारबाट मुक्त भएर आध्यात्मको बाटो रोज , ज्ञान र चिन्तनको बाटो खोज । तब यो अमूल्य मानवीय जीवन सार्थक बन्दछ ।” यही दर्शन र विचारमा दीक्षित छ, हाम्रो सनातन धर्म, सभ्यता र संस्कृति । सनातनी सभ्यता र संस्कृतिमा अथाह ज्ञान र विज्ञान छ। जसले मान्छेलाई मानव भएर जिउन सिकाउँछ। वेददेखि महाभारत र रामायण जस्ता ग्रन्थहरुले दिएका ज्ञानका कुरा आजको आधुनिक युगमा पनि उत्तिकै सान्दर्भिक र औचित्यपूर्ण छन्।

यीनै ग्रन्थमा रचिएका विराट ज्ञानका भण्डार लिएर पश्चिमाहरुले विज्ञानको विकास गरे । हाम्रो सभ्यताले आर्जन गरेको तन्त्र, मन्त्र र यन्त्रको ज्ञान मध्ये यन्त्रलाई छोड्यौ। त्यही यन्त्रको प्रयोगबाट पश्चिमाहरु आधुनिक र उन्नत भए। विश्वकर्माले विकास गरेको प्राचीन इन्जिनियरिङ एउटा उदाहरण हो। जसलाई हामीले अनुशरण गरेर यन्त्रको विकास गरेनौ, बरु त्यसलाई पूजापाठमै सीमित ग¥यौ । हामीले यन्त्रको पूजा मात्रै ग¥यौ। यन्त्रको थप नयाँ आविस्कारको बाटोतिर लागेनौ । हामी वैदिक ज्ञानभित्र धर्म र संस्कारलाई मात्रै लिएर अघि बढ्यौ। यन्त्रको विकासतिर हामी गएनौ । यति भनिरहँदा विज्ञानले प्रलयकारी विकास ग¥यो, संसारलाई सुविधा दियो, सम्वृद्धि दियो। तर, सुख र शान्ति दिएन। जसको कारण संसार विज्ञानले मात्रै सम्भव छैन, त्यसको लागि आध्यात्मको बाटो नै उपयुक्त हो भन्दै ज्ञान र ध्यानतिर लागिरहेको छ। ध्यान र अध्यात्मको पूण्य भूमि नेपाल हो । नेपाल देवभूमि योग र ध्यानको गन्तव्य हो भन्ने संसारले विस्तारै बुझ्दै गएको छ।संसारले विज्ञानमा प्रलयकारी विकास ग¥यो। भौतिक सम्पत्ति आर्जन ग¥यो । तर, मानवीय जीवनमा सुख र सन्तोष भेट्टाएन । सम्वृद्धिको अन्तिम चरणमा पुग्दापनि मानवीय जीवनबाट दुःखको निवारण भएन। तत्पश्चात आधुनिक भनिएको समाज आध्यात्मकको बाटोतिर सोझिएको हो । त्यो आध्यात्मकको मुख्य गन्तव्य भूमि नेपाल हो ।

तर, माथि उल्लेखित शास्त्रले भने जस्तै हाम्रो अवस्था छ त ? के धर्म भनेको हामीले जे व्यवहार गरिरहेका छौ,यही नै सही हो त ? धर्मको अर्थ धारण होकी द्रव्य प्रति अभिशप्त हुनु हो ? आधुनिकताको नाममा आफ्नो मानवीय धर्मबाट भडिकएको समाजालाई आध्यात्मिक चिन्तन र विचारले मानवीय कल्याण र दयाभावको दिशतर्फ उन्मुख गराउने अगुवाहरुको दायित्व होकी, “कुबेर” बन्ने सपना हो ? महायज्ञ र कोटीहोम जस्ता पूण्य कार्यमा प्रवचन दिनुको अर्थ शिक्षकले ट्यूसन शुल्क उठाए जस्तै हो त ? धर्मको अर्थ , सही सलामतको आचार व्यवहार प्रदर्शन गर्नु होइन र ? सादा जीवन र उच्च विचारभावले समस्त प्राणीको हित र कल्याणमा लाग्नु नै भगवानप्रतिको श्रद्धा र सम्मान होइन र ? ब्राम्हण्डमा भएका सबैको आ -आफ्नो धर्म छैन र ? जस्तै: सूर्यको धर्म ताप र प्रकाश दिनु, पानीको धर्म प्यास मेटाउनु , माटोको धर्म बीज अंकुराउनु, मानिसको धर्म मानिस लगायत समस्त प्राणीको हित र कल्याण गर्नु, सबैको सहअस्तित्वलाई स्वीकार्दै सर्वश्रेष्ठता प्रदर्शन गर्नु ।

यही तत्तत् दायित्व र जिम्मेवारी पूरा गर्नु नै धर्म हो भन्ने प्रबचन दिने प्रबचकहरुबाट धर्मको रक्षा भइरहेको छकी, धनको रक्षा ? यो निकै संगीन र सोचनीय प्रश्न हो, वैदिक सनातनी धर्मको प्रवद्र्धनमा लागेका सयौ विद्धानहरुप्रति पंक्तिकारको कुनै त्यस्तो आलोचना, टिप्पणी र निन्दा कदापि होइन। विद्धत वर्गप्रतिको उच्च सम्मानका साथ महायज्ञ र कोटीहोम जस्ता पवित्र धार्मिक कार्यमा प्रवचनको मोलमोलाइ तोक्ने प्रथाप्रति प्रश्को तीर भने अवस्य हो ।

पशुपति क्षेत्रमा जारी कोटीहोममा प्रवचन दिन भारतबाट आएकी देवी प्रतिभाको तडकभडक र रवाफी चालाले सबैलाई अचम्मित बनाएको छ। यति मात्रै होइन, उनले प्रवचन दिएवापत आयोजकसंग ५०लाख भारतीय रुपैया लिएको भन्ने खबर सामाजिक सञ्जालमा छरपस्टै छ। लोभ त्यागे सुख र शान्ति पाइन्छ, भनेर प्रवचन दिने धार्मिक कथा बाचिकाले “कुबेर” शैलीमा लाखौ धनको बीटाको थैली बोकेर फर्किइन्। ५० बढी सुरक्षाकर्मीसहित नेपाल आएकी उनले ती सबैको खर्चको प्रबन्ध पनि आयोजकबाट गराईन् भन्ने कुरा सामाजिक सञ्जालमा उछालिएको छ। यस विषयमा आयोजकले कुनै प्रतिक्रिया दिएका त छैनन्। तर, कोटीहोम -महायज्ञप्रति तिखो व्यगं गर्दै धर्मको नाममा व्यापार भएको भन्दै धेरै प्रश्नहरु उठेका छन्। यस अघिका दिनमा पनि भारतीय बाबा भनिने धीरेन्द्र शास्त्रीको नेपाल भ्रमणको बेलामा पनि विवाद उत्पन्न भएको थियो । यी घटना र प्रसंग एक उदाहरण मात्रै हुन्।

यस्ता विकृतिजन्य उदाहरणहरु बल्ग्रेती छन्। जसले हाम्रो धर्म र सभ्यतामाथि प्रश्नसंगै अनास्था बढाइरहेको छ। ‘कर्म गर, फलको आश नगर’ भन्ने गीताको शास्त्रीय सिद्धान्त घोकेर बोकेर धार्मिक यात्रामा निस्केकाहरुबाट प्रदर्शन हुने यस्ता व्यवहार र अनुचित लाभको विषयले धर्म आचारकी व्यापार भन्ने अवस्था बनेको छ। यति भनिरहँदा धार्मिक गुरुहरुको पनि व्यक्तिगत जीवन छ, एकसरो लगाउन र खान जरुरी पर्दछ, त्यसका लागि भक्तालुले हृदयदेखि गरेको दान दक्षिणा काफि हुन्छ। दायाँ हातले दान गरेको बाँया हातले थाहा नपाओस् भन्ने भगवानको शिक्षा र दीक्षा हो भन्ने स्वयं धार्मिक गुरु र गुरुआमाले महायज्ञ र कोटी होममा द्रव्यको बीटै बोकेर हिड्दै जाने हो भने, धर्मलाई आचार होइन व्यापार हो भन्ने भाष्य जबरजस्ती स्थापित हुन सक्छ।

यसर्थ धर्मगुरुहरुले द्रव्यको मोलमोलाइ गरेर धार्मिक प्रबचन दिने गलत प्रथाको अन्त्य गर्न इमान्दारिता देखाउन सक्नुपर्छ। गेरु वस्त्र पहिरिएर, निधारमा चन्दन लगाएकै भरमा श्रद्धा र सम्मान नहुन सक्छ। मुल कुरो त व्यक्तिको त्याग र समर्पण हो । भौतिक सम्पत्तिको लोभ गर्न हुदैन भनेर संसारलाई ज्ञान बाँड्ने धर्म गुरुहरुमा देखिएको यस्तो प्रवृत्ति बेलैमा सच्चिनुपर्दछ। निजी सम्पत्तिको मायारुपी संसार छोडेर सन्यासी भएको व्यक्तिबाट धर्मको नाममा धन सम्पत्तिको लोभ गर्ने “कुबेर मनोविज्ञान”बाट हाम्रो धर्मको रक्षा र उननयन हुन्छ भनेर इमान्दार सनातनीले विश्वास कसरी गर्ने ?

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ७ : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित