बीमितले बीमा बापत जम्मा गरेको पैसामा बीमा कम्पनी सञ्चालकहरूले मनमौजी गरेको आरोप लागेको छ। बीमितको रकममा मनमौजी गर्ने आरोप लागेको बीमा कम्पनी हो,सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड।
२०७९ कार्तिक ४ गते सूर्य लाईफ र ज्योति लाईफ मर्ज भएर सूर्य ज्योति लाईफ ईन्स्योरेन्स कम्पनी बनेको थियोे ।यश कम्पनीका अध्यक्ष हुन्, केदारप्रसाद भट्टराई। उनै भट्टराई नेतृत्वको सञ्चालकहरूले प्रचलित व्यवस्था विपरीत दोहोरो भत्ता लिएको आरोप लागेको हो। कम्पनीका सेयर सदस्यहरूले उनीहरूमाथि यस्तो आरोप लगाएका हुन्। दोहोरो भत्ता लिनेदेखि हरेक वर्षको साधारणसभा उपत्यका बाहिर गर्ने गरेको उनीहरूले बताएका हुन् ।
हरेक पब्लिक कम्पनीको संचालकहरुले बैठक भत्ता मात्र लिन पाईने व्यवस्था भएपनि यस सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालकहरूले बैठक भत्तासँगै मासिक भत्ता समेत लिने गरेको खुलासा भएको हो। कम्पनीको वार्षिक प्रतिवेदन अनुसार कम्पनीले संचालकहरुलाई मासिक भत्ता २२ लाख ७० हजार ६६७ रुपैयाँ र बैठक भत्ता भनेर ३० लाख ५८ हजार रुपैयाँ खर्च गरेको पाईएको छ ।यस विषयमा नेपाल बीमा प्राधिकरणले चासो लिनु पर्ने हो। तर, प्राधिकरण पनि मौन देखिन्छ ।
राजधानीमा वार्षिक साधारणसभा गर्दा सेयरधनीको चर्को विरोधसँगै साधारणसभा सभा रद्द हुने डरले साधारणसभा राजधानी बाहिर गरिएको समेत सेयर धनीहरूले आरोप लगाएका छन् । कम्पनीले यही पुस ६ गते शनिबार बिग होटल विराटनगरमा १७ औं वार्षिक साधारणसभा गर्दैछ ।
यश विषयमा हामीले कम्पनीका सचिव भरत केसीसंग जिज्ञासा राखेका थियौ । हाम्रो जिज्ञासामा सचिव केसी भन्छन् “कम्पनी रजिस्टार कार्यालय विराटनगरमा दर्ता भएकोले साधारणसभा बाहिर विराटनगरमा राखिएको हो। यसको साथै सञ्चालकहरूले मासिक र बैठक भत्ता लिएको भन्ने कुरा पनि गलत हो। साधारणसभा पारित गरेपछि मात्रै सुविधा लिन पाईन्छ ,त्यो पनि प्रचलित व्यवस्था बाझिनु भएन।”
सूर्य ज्योति लाईफ ईन्स्योरसेन्स निजी जीवन बीमा कम्पनी हो। यसको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख बढी छ। यसमा प्रोमोटर ५१ प्रतिशत र पब्लिकको सेयर ४९ प्रतिशत रहेको छ।
बीमा कम्पनीको इतिहासमा सधैं तोकिएको समयमै साधारणसभा सम्पन्न गर्दै आएको यश कम्पनीको दाबी छ। हरेक वर्षको पुस मसान्तभित्र वार्षिक साधारणसभा सभा गर्नुपर्ने कानुनी व्यवस्था छ।








