त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवधि बढेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र हवाई यात्रुको संख्यामा वृद्धि भएको छ ।
धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्रको जोखिमपूर्ण निर्माणका लागि गएको कार्तिक २३ गतेदेखि चैत १८ गतेसम्म विमानस्थल दैनिक १६ घण्टा मात्रै सञ्चालन गरिएको थियो । त्यस्तै, १९ चैतदेखि थप दुई घण्टा सञ्चालन अवधि थपिएसँगै विमानस्थलमा उडान र यात्रु संख्या बढेको हो ।
विमानस्थलका अनुसार अप्रिल महिनामा मात्रै १२ हजार आठ सय ६१ उडान–अवतरण भएका छन्, जुन संख्या मार्चको तुलनामा एक हजार ८७ वटाले बढी हो । अप्रिलमा आठ लाख ६४ हजार नौ सय चारजना यात्रुले हवाईसेवा लिएका छन्, जुन संख्या मार्चको तुलनामा ३२ हजार ६ सय सातजनाले बढी हो । मार्चमा आठ लाख ३२ हजार दुई सय ९७ जनाले हवाईसेवा लिएका थिए ।
१९ चैतदेखि विमानस्थल दैनिक १८ घण्टा (बिहान ६ बजेदेखि राति १२ बजेसम्म) खुला भएसँगै ११ अन्तर्राष्ट्रिय उडान थपिएका छन् । १ अप्रिलदेखि लागू भएको समर सिजनमा दैनिक ५५ अन्तर्राष्ट्रिय उडान ९अराइभल र डिपार्चर गरी ११०० भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
यसअघि त्रिभुवन विमानस्थलमा दैनिक ४४ फ्लाइट ९अराइभल र डिपार्चर गरी ८८० हुँदै आइरहेको थियो । उडान अवधि बढेसँगै अप्रिलमा हवाई सेवा र सेवा लिनेको संख्या चार महिनायताकै सबैभन्दा बढी भएको हो ।
अप्रिल महिनामा अन्तर्राष्ट्रियतर्फ दुई हजार आठ सय ९२ वटा उडान–अवतरण भएको छ । जसमा चार लाख ५७ हजार १० जनाले यात्रा गरेका छन् । त्यस्तै, आन्तरिकतर्फ नौ हजार नौ सय ६९ वडान उडान–अवतरण भएको छ, जसमा चार लाख सात हजार आठ सय ९४ जनाले यात्रा गरेका छन् ।








