२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

नख्खु बाढीमा उद्दार गर्ने चणिकलाललाई डेढ लाख पुरस्कार दिदै बागमती प्रदेश सरकार


११ जेष्ठ २०८२, शनिबार  


बागमती प्रदेश सरकारले चणिकलाल तामाङलाई डेढ लाख पुरस्कार दिने भएको छ। गएको असोजमा आएको नख्खु बाढीमा बाबुछोरीलाई उद्दार गरेका तामाङलाई प्रदेश सरकारले पुरस्कार दिन लागेको हो।


काभ्रेको तेमाल गाउँपालिका ९ स्थायी घर भइ ललितपुर बस्ने तामाङलाई यही जेठ १५ गतेको गणतन्त्र दिवसको अवसर पारेर पुरस्कार दिन लागिएको हो।


गएको वर्षको असोजमा भएको भारी वर्षाले काठमाडौं उपत्यका नराम्ररी प्रभावित बनेको थियो। यही क्रममा असोज १२ गते ललितपुरको नख्खु खोलामा आएको बाढीले धेरैको ध्यान खिचेको थियो।

नख्खु खोला छेउको बस्तीमा पस्दा एक टिनको टहरामा बस्ने परिवार घण्टौँसम्म टहरोको छतमा बसेर उद्धारको याचना गरिरहेका थिए। तर,समयमै उद्धार हुन नसक्दा टहरो भत्किएर त्यहाँ रहेका चारै जना बगेका थिए।

बगेका एक जना आफै पौडिएर जोगिएका थिए भने दुई जनाको ज्यान काभ्रेको तेमाल गाउँपालिका–९ का चणिकलाल तामाङले बर्खे भेलमा पसेर जोगाएका थिए। एक बालिका भने बेपत्ता भइन।

तामाङले साहसको प्रदर्शन गर्दै जोगाएकामा रौतहट घर भई त्यहाँ बसोबास गरिरहेका राजु साह र उनकी छोरी ६ वर्षीय मेघना थिइन्।

यसरी साहस गरेर ज्यान जोगाउने कर्म गरेका चणिकलाललाई बागमती प्रदेश सरकारले एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको हो। यही जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले चणिकलाललाई पुरस्कार दिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा रहने प्रदेशस्तरीय गणतन्त्र दिवस २०८२ मूल समारोह समितिले चणिकलाललाई उक्त पुरस्कारसहितको सम्मान गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, शनिबार  ३ : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित