सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को संयुक्त सहकार्यमा नेपालमै पहिलोपटक स्वदेशमै उत्पादित कार–टीु सेल प्रविधिमार्फत क्यान्सर बिरामीको सफल उपचार गरिएको छ।
टिचिङ अस्पतालमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (रगतको क्यान्सर)को उपचार गराइरहेका बिरामीमा यही असोज ११ गते यो सेल चढाइएको हो। हेमाटो अङ्कोलोजिस्ट डा। अञ्जन श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीका अनुसार हाल बिरामीको अवस्था स्थिर रहेको छ र उपचारको प्रारम्भिक नतिजा अत्यन्तै उत्साहजनक तथा सकारात्मक देखिएको छ।
यो प्रविधिमा बिरामीकै शरीरको टी-सेल ९रोग प्रतिरोधात्मक कोष० लाई प्रयोगशालामा जेनेटिक रूपमा परिमार्जन गरी क्यान्सर कोष पहिचान गर्न सक्ने बनाएर पुनः बिरामीकै शरीरमा चढाइन्छ। प्रमुख वैज्ञानिक डा. सञ्जीवन गौतमका अनुसार सन् २०२२ देखि सुरु भएको प्रिक्लिनिकल अनुसन्धान र विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड एवं नियामक प्रक्रिया पूरा गरी सन् २०२६ मा यसको क्लिनिकल प्रयोगको स्वीकृति पाइएको हो।
केमोथेरापीले काम नगरेको वा क्यान्सर दोहोरिएको अवस्थामा प्रभावकारी हुने यो प्रविधि नेपालमै उपलब्ध भएपछि जटिल प्रकारका रगतका क्यान्सर उपचारका लागि भारत वा चीन जानुपर्ने बाध्यता हट्ने र उपचार खर्चमा ठुलो राहत मिल्ने चिकित्सकहरूको भनाइ छ।
यस ऐतिहासिक उपलब्धिमा डा. प्रसुन उपाध्याय, डा.सुधांशु केसी, जेनेटिसिस्ट बलराम गौतम, लिंकन विश्वविद्यालयका प्रा. डा. ओम कुर्मीका साथै अन्तर्राष्ट्रिय विज्ञहरू प्रा. लुका गाटिनोनी, प्रा. लियो हान्समान, डा. दिलिप शर्मा र वेदानन्द पराजुली लगायतको महत्त्वपूर्ण प्राज्ञिक तथा प्राविधिक सहयोग रहेको छ।
सीआरएम नेपालले स्थानीयस्तरमै वैज्ञानिक विशेषज्ञता, जनशक्ति र प्रयोगशाला पूर्वाधार तयार भइसकेकाले अब धेरैभन्दा धेरै सर्वसाधारण बिरामीसम्म यो उन्नत सेल थेरापीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।








