गएको बिहीबारदेखि तीन दिन परेको अविरल वर्षाका कारण आ एकाे बाढी पहिरो र डुबानका कारण मृत्यु हुनेकाे संख्या १७० पुगेको छ।
प्रहरीका अनुसार विपद्मा परेर कम्तीमा ४२ जना अझै बेपत्ता छन् बाढीपहिरोले ३ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आइतबार अबेरसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी धादिङमा ३८ जनाले ज्यान गुमाएका छन् । काभ्रेमा ३४, ललितपुरमा ३०, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १० र मकवानपुरमा ७ जनाको मृत्यु भएको छ ।
भक्तपुर, पाँचथर, दोलखा र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत प्रमुख सेनानी (कर्णेल) मिलन केसीले पनि पहिरोमा परी ज्यान गुमाएका छन् ।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४, बिमरेनी जंगल नजिकै सिन्धु बिच रिसोर्टमा रहेका बेला केसीलाई शनिबार पहिरोले पुरेको हो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ । झ्याप्ले खोलामा पुरिएका सवारीसाधन मध्ये बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट शनिबार १४ जनाको शव निकालिएको थियो ।
चितवनबाट काठमाडौंका लागि छुटेको बा३ख १३१५ नम्बरको माइक्रोबसमा सवार १६ र गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बसमा सवार ५ जनाको शव आइतबार निकालिएको छ । ती शव नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निकालेको हो ।
घटनास्थल पुगेका सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार बुटवलबाट आएको माइक्रोबसमा ८ पुरुष, ५ महिला र एक बच्चा, चितवनबाट आएको माइक्रोबसमा १२ पुरुष र ४ महिला तथा गोरखाबाट आएको बसमा रहेका ५ पुरुषको शव निकालिएको हो । त्यसमा ठाउँमा अरू केही बस पुरिएको भए पनि मानवीय क्षति नभएको प्रवक्ता थापाले बताए ।
बेपत्ताहरूको शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको कुल संख्या अझै बढी हुन सक्ने उनलेे बताए । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बेपत्ता भएकाहरूको खोजतलासमा सुरक्षाकर्मी खटिएका छन् । आवश्यक उपकरणको अभावले खोज तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरी अधिकारीहरूको भनाइ छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले विपद्मा फसेका ३ हजार ६ सय ९५ जनाको सकुशल उद्धार गरेका छन् । उद्धार गरिएका मध्ये घाइते १ सय ११ जनाको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयका बरिस्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
बाढीपहिरो र डुबान/कटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन् । गृह मन्त्रालयको प्रारम्भिक विवरणअनुसार ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन् । बाढीपहिरोमा २ सय ७२ वटा पशु/चौपाया मरेका छन् ।
काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोले ३ सय २२ घरमा क्षति पुगेको छ । २९ वटा प्रहरी कार्यालय, ६ वटा अन्य सरकारी कार्यालय र विभिन्न राजमार्ग ७५ स्थानमा भत्किएको गृहको तथ्यांक छ । विपद्बाट भएको मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।