बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले संस्कृतिको संरक्षणका लागि संस्कृत भाषा बचाउनुपर्नेमा जोड दिएका छन् ।
आ ईतबार छहारी युवा क्लबले कान्ति भैरव गुरुकुल उत्तरबाहिनी गोकर्णमा आयोजना गरेको एक कार्यक्रम उनले यस्तो बताएका हुन्।
क्लबद्वारा योजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले संस्कृत भाषा विना नेपालमा प्रचलित कुनै पनि समुदायको संस्कृति र संरक्षण हुननसक्ने बताएका छन् । राज्यले संस्कृत भाषाको संरक्षणको कार्यलाई पहिलो प्राथमिकता राख्नु पर्ने सुझाएका छन।
कार्यक्रममा मन्त्री ठकुरीले क्लवका तर्फबाट गुरुकुललाई रु ५१ हजार १११ पुरस्कार प्रदान गरेका थिए। यसैगरी कार्यक्रमा वेद विषयका विज्ञ तथा कान्ति भैरव गुरुकुलका संस्थापक अध्यक्ष प्राडा ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको थियो । अभिनन्दित प्राडा पोखरेलले संस्कृतिको जगेर्नाका लागि गुरूकुल स्थापना गरिएको बताएका छन् ।
गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले गुरुकूल शिक्षालाई संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाले गुरुकुललाई आवश्यकताका आधारमा सहयोग गरिरहेको पनि जानकारी गराए।
कार्यक्रममा प्रतिष्ठा नामक संस्कृत भाषाको नाटक प्रदर्शनी गरिएको थियोे ।नाटकलाई १० हजार पुरस्कार दिइएको थियोे ।