१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

यसरी हुँदैछ, संस्कृतिमाथिको अतिक्रमण !


१५ श्रावण २०८१, मंगलबार  


पृष्ठभूमि :
संस्कृति राष्ट्रको पहिचान हो । संस्कृतिविना समाज असभ्य बन्छ । जनसंख्याको एक मात्र प्रतिनिधि संस्कृति हो । यसले जनसमुदायलाई जीवनमार्ग दिन्छ । समुदायले सामना गरेका समस्याको समाधानमा संस्कृतिको भूमिका देखिन्छ । संस्कृतिले हामीलाई व्यक्तिगत रूपमा नभई सिंगो राष्ट्रका लागि सोच्न सिकाउँछ । यसले परिवार, राज्य आदिको प्रधानता हेर्छ । सांस्कृतिक मूल्य–मान्यताका कारण समाजको आफ्नो पहिचान निर्माण हुन्छ । यो पुरानो पुस्ताद्वारा नयाँ पुस्तामा सिकाइसँगै हस्तान्तरण गरिन्छ । एक पुस्ताबाट अर्को पुस्तामा संस्कृतिको प्रभावकारी हस्तान्तरणका लागि सचेत हुदै । सामाजिक प्रतीकहरू, कला, धर्मको सेवा जस्ता सांस्कृतिक मूल्य पुस्तागत हस्तान्तरण गरिन्छ। मानिसले पालन गर्ने रीतिरिवाज, परम्परा, तिनले मनाउने चाडपर्व, वेशभूषा, खानापान आदिसँगै तिनले पालना गर्ने सामाजिक मूल्यका अस्तित्वभित्र सांस्कृतिक रूपले बाँधिएका हुन्छन् । त्यस विशेष संस्कृतिका मानिसलाई सांस्कृतिक मूल्यले नै एकताको भावना उन्न मद्दत गर्छ । यसर्थ संस्कृति त्यो समग्र वस्तु हो, जसमा अनुभव, विश्वास, कला, नैतिकता, कानुन, परम्परा र अरू कुनै पनि क्षमता र व्यवहार, जो मानवले समाजको एक सदस्यको हैसियतले प्राप्त गरेका छन्, सबै पर्दछन् ।

विषयगत : यस्ता विविध संस्कृतिको मालामा उनिएको छ, नेपाली समाज ।दुनियाँमा नेपाली मौलिक संस्कृति र पहिचान विशिष्ट अनि विशेष खालको छ। बहुजाति बहुधार्मिक नेपाली समाजमा आदि अनादिकालेदेखि विकसित यो हाम्रो संगीत कला, संस्कृति,सभ्यता , मूल्य मान्यता र संस्कारहरुको गुरुत्व यति धेरै छ,की जहाँ संसारभरका मानिसहरु लालयित हुुन्छन्। नेपाली माटोमै विकसित र विस्तारित मौलिक संस्कृति र कलाको गहिराइ निकै छ, भन्छिन्, अमेरिकन गायिका आना स्टार । उनी भन्छिन्,प्रकृतिको अनुपम तथा कलात्मक रचना यो नेपाली धर्तीमा सिर्जित यस्ता मौलिक संस्कृति र कलाले सबैलाई मोहित बनाउँछन्। पृथक र विशिष्ट नेपाली संस्कृतिको जर्गेना गर्नेतिर सबैको ध्यान जानुपर्दछ। जुन संस्कृति र कलालाई संसारका मानिसहरुले औधि रुचाउने गरेका छन्। तर, पछिल्लो समय नेपाली मौलिक संस्कृति र कलामा विकृति र विसंगति देखिन थालेको छ, ,यस्ता गलत प्रवृत्तिबाट मुक्त राख्दै नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्छ, सबै ।

हो,पक्कै पनि गायिका आनाले भने जस्तै हाम्रो संस्कृति कला र संगीतमाथि निरन्तर प्रवृत्तिगत आक्रमण भइरहेका छन्। यसको मुल कारण स्वयं नेपालीहरु नै हो । पछिल्लो समयममा सामाजिक सञ्जालको विकास र विस्तार भएपछि विकृतिको जरो झनै मौलाएको छ, फैलिएको छ। लोक गीत होउन्,या तीज गीत सबैतिर विकृतिको डढेलो निमाउन मुश्किल हुने गरी सल्किएको छ। लोक पहिरन अनि लोक नाँचसहित गाइने लोक दोहोरी गीतमा आजभोलि छाडा, अशिष्ट, उत्ताउलो, र अराजक शब्दहरुको प्रयोग हुने गरेको छ।यस्तै छ, लोकगीतहरुमा पनि उस्तै विकृति। जहाँ सामाजिक मूल्य मान्यता,मर्यादा र शिष्टतालाई खर्लप्पै निलेर अश्लिल शब्द र अश्लिल दृष्य मिसावट गरेर उत्पादन गर्ने गरिएको छ। नग्नता र स्वच्छदताले बजार निलेको मात्रै छैन, भाइरल बन्ने र डलर कमाउने स्वार्थले अश्लिल दृष्यहरुसहितका म्यूजिक भिडियो बन्ने गरेका छन्।

रुपमा लोकगीत भनिएपनि सारमा छाडा गीतहरुको कम्पोज गरेर डिजिटल बजारमा धमाधम ल्याउनेहरुको होडबाजी छ। तीज पर्व नेपाली महिलाहरुको मौलिक पर्व हो, जुन दिन महिलाहरु माइती देशमा पुगेर साथीसंगीसंग संघर्ष, दुख र भविष्यका कहानी भरिएका मौखिक र मौलिक रचना गरेर रमाइलो गर्दछन्। दुःखसुख साट्ने यो पर्व ज्यादै मौलिक पर्व हो, जुन पवर्का दिन गाइने गीतका शब्दहरु पनि त्यत्तिकै मोलिक र मर्यादित हन्छन्, र थिए पनि ।

अघिल्लो पुस्तासम्म यस्ता मौलिक तीज गीत र संगीतको अनुभव र आनन्द लिन सकिन्थ्यो। तर,पछिल्लो समय नयाँ पुस्ताका नाममा संस्कृतिमाथि विकृति थोपरिएको छ। तीज सम्बन्धित सार्वजनिक म्युजिक भिडियो बाबाआमासंग बसेर हेर्न नसकिने छन्। तीज महिलाहरुको विशुद्ध पर्व हो, तर, ती म्यूजिक भिडियोमा महिला भन्दा पुरुषहरुकै बोलवाला देखिन्छ। कुनै सामाजिक र सांस्कृतिक सन्देश दिने हैसियत नभएका यस्ता तीजका नाममा सिर्जना गरी बजारमा ल्याइएका सांगतिक उत्पादनले समाजलाई धुमिल बनाइरहेका छन्। यति मात्रै होइन,तीज पर्व आउनुपूर्व महिनादिन अगावै तारै होटेलहरुमा दर खाने भद्दा र भड्किलो प्रथाले पनि उस्तै गाँजेको छ। तीजको दर खाने बाहनामा धनीहरु धनको स्वाङ देखाउँदै तीज अगावै तारे होटेल र रिसोर्ट धाउँछन्। गरिबहरु यो प्रवृत्तिले थप प्रताडित हुन्छन्। यति मात्रै होइन, तीजका दिन महंगा साडी र बुहमूल्य गरगहनाको होडबाजी झनै उदेकलाग्दो छ। भगवान शिवको नाममा गरिने यो धार्मिक र पूण्य काममा पनि यस्तो धन दौलत र गहनाको प्रदर्शन गर्ने प्रथाले समाजलाई थप विभाजित मात्रै गरेको छैन, भ्रष्ट संस्कारको पनि उन्नती भइरहेको छ।

धर्म र संस्कृति :
धर्म र संस्कृति अलग अलग विषय हुन्। धर्म नैतिक आचरणसंग सम्बन्धित छ भने संस्कृति पूरै मानवीय जीवन र सभ्यतासंग अन्योन्याश्रित छ। माक्र्सले भने जस्तै धर्म अफिम होला या नहोला ।तर, धर्मले हामीलाई अनुशासनमा राख्न र बाँध्न मूख्य भूमिका निर्वाह गरिरहेको हुन्छ। यस्तै नेपाली संस्कृतिहरुको एक विशिष्ट पर्व हो, तीज । पौराणिक कालमा पार्वतीले शिवलाई प्राप्त गर्न तपस्या गरेको सन्दर्भमा मनाइने गरिन्छ, यो पर्व । शिव पार्वती अस्तित्वमा थिए या थिएनन्।तर, प्रेम, त्याग र समर्पणको सन्देश अवस्य छ, तीजमा । तीजका नाममा गरिने तडकभडक सबै ढोङ र आडम्बर हुन्। कुनै पनि भगवानले दान दक्षिणा जे जसरी भएपनि गर भनेर आदेश वा फर्मान जारी गरेको हुदैन। तैपनि मानिसहरुले देखाउनकै लागि यस्ता अविज्ञानवादी व्यवहार गरेर संस्कृतिलाई धुमिल बनाउने गर्दछन् । धर्म निर्जिव जड मूर्तिप्रतिको श्रद्धा पनि होइन, आस्था र विश्वास पनि होइन। यो त दायित्व बोधको एउटा कर्तव्यपरायणताको प्रक्रिया हो। जस्तै सूर्यले ताप र प्रकाश दिन्छ,पानीले प्यास मेटाउँछ। मानवले मानवीयता दर्शाउँछ यही नै धर्म हो ।

यही अनुशासनको सीमा रेखाभित्र रहेर मर्यादित संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने धर्म हो । तर, आज नयाँ पुस्ता विकृतिको कारक बनिरहेको छ। शिक्षा र चेतनाले अब्बल भनिएको भएपनि नयाँ पुस्तासंग संस्कृतिप्रतिको माया र गौरव भन्दा विकृति र उश्रृंखता बढी देखिन्छ। जुन हाम्रो संस्कृतिमाथि विभिषणकारी अतिक्रमण हो । आफ्नै मौलिक संस्कृतिमा पाखण्डता र अन्धता देख्ने पुस्ताले संस्कृतिभित्रको विज्ञानसम्मत कुराको गहिरो अध्ययन गर्दैन। यति भनिरहँदा हाम्रा संस्कृतिभित्र जडता र अन्धता, पाखण्डता नभएका पनि होइनन्। तर, तिनलाई बदलिदो समयको पदचापसंगै परिमार्जित र परिस्कृत गरिनुपर्छ। संस्कृति गीता होइन, जो बदल्न मिल्दैन। संस्कृति गतिशील र रुपान्तरणकारी प्रक्रिया हो । समाजशास्त्री माक्स वेबरका अनुसार संस्कृति मानव सभ्ययताको जीवन्त दस्तावेज हो। तर यही संस्कृतिको नाममा ढोङ र लहडमा प्रदर्शन गरिने अस्वभाविक व्यवहार र चरित्रको सघन शल्यक्रिया गरिनुपर्छ, निशर्त ।

निष्कर्षः
भगवान छन् या छैनन्, हाम्रो पूजा आरधनाले उनी खुशी हुन्छन्, या हुदैनन्। त्यो अर्काे बहसको विषय होला। यहाँ इश्वरवादको प्रवद्र्धन गर्न खोजिएको पनि होइन। तर, हाम्रा पूर्खाले हजारौ वर्ष लगाएर निर्माण गरेका मौलिक संस्कृतिभित्र गाँजिएको विकृतिको चिरफार अवस्य हो । शरीर विज्ञानसंग पनि जोडिएको पर्व हो, तीज जुन दिन व्रत बस्नु कुनै अमूक भगवानलाई खुशाउन पनि होइन। वर्षदिनमा शरीरलाई एकदिन निराहार राख्दा स्वस्थकर हुन्छ भन्ने कुरा मेडिकल साइन्सले सिद्ध गरिसकेको छ। यही विज्ञानसम्मत र आचरणसंग पनि सम्बन्धित भएकोले तीजप्रतिको आस्था र विश्वास आदि अनादि कालदेखि यथावत छ। कालान्तरमा तीजको महिमा र महत्व कसरी हुन्छ, त्यो भाविले बताउला नै ।

तर, यतिबेलाको पुस्ताले हाम्रा मौलिक संस्कृति र परम्पराहरुको जर्गेर्ना गर्दै नयाँ पूस्तालाई हस्तान्तरण गर्ने दायित्वबाट कदापि चिप्लिनु हुदैन । बरु, संस्कृतिलाई धुमिल बनाउने पात्र र प्रवृत्तिलाई नियन्त्रण र नियमन गर्न राज्यको कानमा बतास चल्नुपर्छ, लोकगीतमा अश्लिल शब्द र दृष्य राखिएको भन्दै कारबाही गर्ने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले बताउँदै आएको थियो , रिता थापा अध्यक्ष रहेको प्रतिष्ठानले गृह मन्त्रालयसम्म हार – गुहार गरेपनि सरकारी निकाय मौन देखिन्छ। सामाजिक विकृति फैलाउने यस्ता प्रवृत्तिहरुलाई निरुत्साहित गर्ने समाज सुधार ऐन २०३९ पनि छ। तर, त्यसको कार्यान्वयन गर्ने स्थानीय प्रशासन पनि मौन छ। राज्य तहबाटै पहलकदमी लिन नसक्दा संस्कृतिमा छिरेका गलत प्रवृत्तिहरु सल्बलाएका हुन्। तिनीहरुको नियन्त्रण र नियमन गर्न अब सरकार आफै व्यूझिनु पर्ला की ?

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : ५७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित