३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

विकास र विश्वास गुमाएको मेरो ‘मातृभूमि’


१६ भाद्र २०८१, आइतबार  


प्राकृतिक स्रोत र साधनले भरिपूर्ण मेरो मातृभूमि पहाडमै भए पनि बडो सुन्दर छ। वि. सं. २०४८ साल भन्दा पहिलेका सबै कुराहरू याद छैनन्। त्यसपछि भने विद्यार्थी जीवनको सुरुवात भयो। आफ्नो दिनचर्यालाई थाँती राखेर भौतिक र सामाजिक विकासको कुराहरू गर्नुपर्दा रत्तिभर परिवर्तन भएको छैन आजसम्म। यो चिन्ताजनक विषय हो।

नजिकै स्थानीय बजार स्कूल गाउँ विकास समिति र प्राथमिक स्वास्थ्य केन्द्र वर्षौं पहिले थिए नै। माध्यमिक विद्यालयको रुपमा रहेको स्कूलमा १२ देखि १५ जनासम्म शिक्षक हुनुहुन्थ्यो। हरेक अभिभावकलाई शिक्षकहरू प्रति पूर्ण विश्वास र भरोसा थियो। शिक्षकहरूको सहकार्य सम्पूर्ण अभिभावकसँग हुन्थ्यो।

जात, धर्म–संस्कृति या धन सम्पत्तिको भन्दा पनि पढाइलेखाइमा कुन विद्यार्थी अग्रसर छ। कुन शिक्षकले विद्यार्थीहरूलाई सही बाटो देखाइराखेको छ जस्ता कुराहरूको मूल्यांकन हुन्थ्यो, समाजमा। दिन दुःखीहरूको पारिवारिक गरिबी र बेरोजगारीका समस्याहरू समाधान गर्न सक्ने क्षमता भएका सक्षम राजनीतिज्ञहरूको कमी थिएन समाजमा ।

सैघा काभ्रे लोहारपानी हाँसीपुर जस्ता कैयौं विकट एरियाको छेउमा रहेको हाम्रो स्युजा विकासशील बाटोमा लम्कदै थियो त्यतिबेला। समयको गतिसँगै स्कुलमा विद्यार्थीहरूको संख्या बढ्दै थियो। अन्यत्रका विद्यार्थीहरू भन्दा यहाँका विद्यार्थीहरू राम्रो श्रेणीमा उत्तीर्ण हुन्थे। हरेक अभिभावकहरूले छोराछोरीलाई शिक्षित बनाउन लागि पर्नु राम्रो पाटो थियो।

स्वास्थ्य चौकी सानै भए पनि सेवा र सुविधा पर्याप्त थियो। औषधि उपचारका लागि प्युठान, रोल्पा, रुकुम जस्ता अन्य जिल्लाहरूबाट समेत आवतजावत हुन्थ्यो। व्यापार व्यवसाय गर्नेहरूलाई फाइदाजनक माहोल थियो। राजनीति गर्नेहरूको मात्रा सीमित र सरल थियो। मनमुटाव, तछाडमछाड गर्नेहरू न्यून थिए। गाउँघरमा कसैलाई बिसञ्चो या हिँड्न कठिन भएको अवस्थामा घरमै पुगेर औषधि उपचार गर्ने स्वास्थ्यकर्मीहरू हुनुहुन्थ्यो।

बेसहारा गरिबका छोराछोरीले पढ्न नपाएको खण्डमा निःशुल्क शिक्षा प्रदान गर्ने शिक्षकहरू हुनुहुन्थ्यो। अविस्मरणीय छ आज पनि ती महान व्यक्तित्वहरूको योगदान। अन्य पहाडी क्षेत्रहरुलाई हेरेर हाम्रो केही परिवर्तित र सुविधासम्पन्न हुनु खुसीको कुरा थियो त्यो समयमा।

बिस्तारै माहोल समाज चहलपहल र राजनीतिक प्रक्रिया फेरियो। लाखौँ खर्च गरी स्कुलको आकार फेरियो तर पठनपाठन गर्ने तरीका र श्रेणी फेरिएन। त्यसैले विद्यार्थीहरू पहिलेजस्तो उत्कृष्ट छैनन् आजभोलि। करोडौँ पैसा झ्वाम पारेर निर्माण गरिएको स्वास्थ्य केन्द्र स्थानीयहरूले सामाजिक सञ्जालको भित्ताहरू रङ्गागाउँन मात्र काम आएको छ, कुनै गतिलो डाक्टर भेटिदैन।

सबै सरकारी कामकाज हुने त्यस बेलाको गा.वि.स.भवन आजभोलि केटाकेटीलाई उछलकुद गर्न या काम नभएका बेरोजगारहरूले गफ्फा मार्ने जंक्शन बनेको छ। पहिले जस्तै नजिकै पाइने सुविधाहरू पाउनलाई अब दुई तीन घण्टाको बाटो धाउनुपर्छ। दश वर्ष पहिले नै प्लस टु बन्नुपर्ने माध्यमिक विद्यालय बल्ल तल्ल बनेको त छ। तर विद्यार्थीको मात्रा न्यूनतम छ, त्यो महत्वहीन नै भएकोछ । फेरिएको छ त मात्र भवनको आकार फेरिएको छ। पढ्ने विद्यार्थी र पढाउने शिक्षकहरू फेरिएका छन्।

यो ठाउँमा विकास गरौँ भनेर कुनै राजनीतिज्ञ या पहुँच भएकाहरूको मन फेरिएको छैन। विकासको नाममा आएको लाखौँ बजेट कुम्ल्याउने होडबाजीमै छन् स्थानीय स्तरका नेताहरू। साँच्चिकै भन्नुपर्दा आज दयनीय अवस्था छ मेरो मातृभूमिको।

विनाश मात्र बढ्दै जाँदा कमाइ गरेकाहरूले गाउँ छोड्नु स्वभाविकै हो। बेरोजगारी सामाजिक मनमुटाव घिनलाग्दो राजनीतिकरण जस्ता विविध कारणहरूले गरिबहरू पनि खिन्न भएर मौका मिल्नासाथ सुइँकुच्चा ठोक्ने तयारीमा छन्।

१५ वर्षपहिले पहाडी भेगमा सबैभन्दा विकसित ठाउँ आज सबैभन्दा पिछडिएको छ। शिक्षा हासिल गर्ने विद्यालयभित्र राजनीतिक छिरेको छ। प्रधानाध्यापकदेखि लिएर व्यवस्थापन समितिको गठनसम्म पार्टीगत आधारमा निर्माण गरिन्छ, जस कारण सक्षम र क्षमतावान व्यक्तिले भन्दा पनि नेताहको चापलूसी गर्नेहरूले मात्र अवसर पाएको प्रष्ट देख्न सकिन्छ ।

स्वास्थ्य चौकी एवं सामाजिक कार्यमा पनि त्यही नियम लागु भएको छ। त्यसैले मेरो मातृभूमि दयनीय अवस्थामा छ। वर्षौँ पहिले बसाइसराइ गरेर गएका केही व्यक्तिहरूले राजनीति गर्नका लागि मात्र एक टुक्रा अंश राखेर जनतासँग खेलवाड गरिरहेका छन्। चुनाव नजिकिदा साथ गाउँ छिर्ने ती राजनीतिज्ञहरूले जनतालाई विभिन्न प्रकारका लोभलालच देखाएर पेन्डुलम बनाएर जिताउँछन् अनि फेरि अर्को चुनाव नआउञ्जेल पाइला फर्काउँदैनन्।

त्यसैले मेरो मातृभूमि दयनीय अवस्थामा छ। वर्खायाममा हिलोले सडक लतपत हुन्छ। खडेरीमा धुलोले शरीर छोपेको हुन्छ। सबै आफ्नो प्रचारप्रचारका लागि अर्कैलाई दोष लगाउँदै घुमिरहेका हुन्छन्। कसैले सिन्को भाँचेको देखिदैन, सत्तापक्ष या प्रतिपक्ष दुबैतिरका अग्रसर मान्छेहरू पानी मुनिको ओभानो बनेर मज्जाले स्वार्थ लुटिरहेका छन्।

त्यसैले दयनीय अवस्था छ मेरो मातृभूमिको। थाहै नपाउने गरी मानसिक यातना दिएर कैयौँ निर्दोषहरूलाई आत्महत्या गर्नसम्म बाध्य बनाउने तत्वहरू सक्रिय छन् आज समाजमा। सरकारी स्रोत र साधनहरूलाई आफ्नै बाबुको बिर्ता सम्झेर हस्तक्षेप गर्ने ती कुलंगार हरूलाई गतिलो सामाजिक झापट नलगाउञ्जेल विकासको अपेक्षा गर्नु बालुवामा पानी हाले सरह हो।

विभिन्न स्तरमा आएका बजेटहरूको चासो राख्न पनि हामीजस्ता सर्वसाधारणलाई अधिकार दिएको छैन। समाजको हक र हितका लागि बोल्ने मान्छेलाई निष्क्रिय पार्न खप्पिस छन् यहाँका मुख्य नाइकेहरू। त्यसैले मेरो मातृभूमिको दयनीय अवस्था छ। मुस्किलले साँझ बिहानको छाक टर्ने ती दुःखी गरीब र बेसहाराहरूलाई माध्यम बनाएर लाखौँ बजेट तहसनहस पर्नेहरू विरुद्ध समाज सचेत नभएसम्म जिन्दगी कष्टकर बन्नेछ यहाँका स्थानीयहरूको।

लेखक- चेतन खनाल ( दाह्रीवाला)
प्रशिक्षक – विश्व नेपाली साहित्य महासंघ दाङ शाखा

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १० : ५८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित