
ऋषि मुनिकाे तपस्वी भूमि सरजु नदी शीर। दाङ उपत्यकाको पूर्वी भागमा अवस्थित। जुन समुद्री सतहबाट करिब १३ सय मिटरकाे उचाइमा रहेको छ। चुरे(शिवालिक) काे उपल्लो खण्डमा रहेकाे घना वन जंगलकाे बीचमा अवस्थित गुफाबाट उत्पत्ति हुन्छिन् सरजु नदी ।जसले जेसुकै तर्क वितर्क गरेपनि मनाेरम जंगल भित्रबाट छङ्छङ् गर्दै निस्किन्छिन्, गुफाबाट निस्किएर झरना बन्दै यात्रा प्रारम्भ हुन्छ,सरजुकाे। प्रकृतिको अनुपम छटाले सिंगारिएकाे वन क्षेत्र भित्र सुसाउदै सरजु भगवान श्रीरामकाे पवित्र जन्मभूमि अयाेध्या भेट्न कुद्छिन्,र गंगा नदीसंग अंकमाल गर्दै समुद्रमा पुग्छिन्,जुन प्रक्रिया हजारौं वर्षदेखि अविछिन्न छ।

पहाडी टाकुरोबाट निस्किएको याे पवित्र छ,जुन पवित्र जलले शीर सिंचन गरेमा पूण्य प्राप्ती हुन्छ,अाफूले अघि सारेका सबै कामना पूरा हुन्छन् भन्ने लाेक विश्वास छ।जुन कुराकाे वर्णन ग्रन्थहरूमा गरिएको पाईन्छ भन्छन्, संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक नारायण अाचार्य। हाे,प्रध्यापक अाचार्यले भने जस्तै सुखसागर ग्रन्थमा यसकाे वर्णन गरिएको छ,ऋषि तपस्वीहरूलाई पानीको हाहाकार भएपछि भगवान विष्णुले धनुषवाण हानि जलकाे उत्पन्न गरिएको पाैराणिक कथामा उल्लेख छ।प्राकृति रूपले हाेस् या धार्मिक हिसाबले सरजुकाे शीरकाे जल निकै पवित्र छ।यही पवित्र जल शीरमा छर्किनाले माेक्ष प्राप्ति हुने धार्मिक विश्वास रहेको पाईन्छ ।

प्राप्त विवरण अनुसार सरजुकाे उद्गम स्थल रामपुरकाे मालझाँक्री सामुदायिक वनदेखि ४ सय किलोमिटर लम्बाइ छ।दाङ उपत्यकाको पूर्वी भाग महाभारतकाे काखमा उत्पत्ति भएकी सरजुसंग दाङका सिस्ने,कटुवा, सेवार ,गुर्जे,गुहार, पत्रेसहतका खाेला मिसिन्छन्,दाङको अन्तिम भाग पुरन्धाराकाे बन्चरेमा पुगेपछि शारदा र सरजुकाे मिलन हुन्छ।सरजुमा शारदा मिसिएपछि बर्दिया राष्ट्रिय निकुञ्जको बाटाे हुँदै अयाेध्या पुग्छिन् सरजु।सरजुलाई कतै बबई त कतै भादा भनेर पुकारिन्छ।

पछिल्लाे समय बबई नामले धेरै चिनिने गरिएको छ,रैथाने भाषामा बाबाजीबाट बबई भएकाे अध्येताहरू बताउँछन् ।पाैराणिक नाम सरजु भएपनि अध्ययन अनुसन्धान ,अन्वेषण र प्रचारकाे अभावमा अहिलेसम्म याे विषय र नाम अाेझेलमै परेको हाे।

सरजु नदीकाे पाैराणिक ,प्राचीन र पुरातत्त्विक महत्त्व वर्षाै मालझाक्री वनकाे जंगलमै कुँजियाे,यसकाे अध्ययन ,अनुसन्धान र अन्वेषणका लागि कुनै मानवीय काेशीस भएनन् ।तर, पछिल्लो समय स्थानीय अगुवाहरूले यसकाे उत्खनन् र प्रवर्धनकाे लागि अभ्यास प्रारम्भ गरे।राज्यले सरजुकाे विषयमा बुझेकाे पनि देखिन्न र बुझ्न पनि चाहान्न ।किनकि अयाेध्यासंग पाैराणिक साईनाे जाेडिएकाे सरजुकाे विषय भारतीय स्वार्थसंग बाझिने पनि हुन सक्छ । धर्म राजनीतिले सत्तामा पुगेका माेदीलाई नेपाली शासकहरूले चिढाउन कदापि चाहान्नन् ,याे उनीहरूकाे सत्ता सुरक्षा कवज पनि हुन सक्छ। जसमा भारतीय सत्ताले लाभ र हानीकाे क्याकुलेर थिचेपनि नेपाली र भारतीय जनताबीच धार्मिक र सांस्कृतिक अनुपम सम्बन्धहरू छन् ।करिब सवा कराेड भारतीय हिन्दूहरूकाे पनि अास्थाकाे संगम भएकोले सरजुकाे शीरकाे अवलाेकन भ्रमण र दर्शन गरि भगवान श्रीरामप्रति श्रद्धा व्यक्त गर्नेछन् ।किन कि उनीहरू भगवान श्रीरामलाई अाैधि श्रद्धा गर्छन् ।यति मात्रै हाेईन, धार्मिक अास्था र विश्वासलाई कुनै पनि मुलुककाे सीमा र सत्ताकाे पर्खालले छेक्दैन।

यही तथ्यलाई हृदयंगम गरि स्थानीय युवाहरूले यसकाे प्रवर्धनमा जुटेका बताउँछन् ,स्थानीय अगुवा खेमराज खनाल । सरजु मुहान छेवैमा राम मन्दिर निर्माण गरेका उनीहरूलाई साथ दिएका छन्,वडाध्यक्ष राममणी पाण्डेले पनि ।सरजुकाे प्रवर्द्धनका लागि घाेराही उपमहानगरपालिकाले नीतिगत निर्णग गरेका पनि उनै वडाध्यक्ष पाण्डे बताउँछन् ।सरजुकाे विकास र प्रवर्द्धनका लागि स्थानीय सरकारदेखि संघीय सरकारकाे ध्यानाकर्षण गराउने वडाध्यक्ष पाण्डेले सरजु अनलाइन डटकमलाई जानकारी दिए।

