२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गाेरखा दरबारबाट काठमाडौस्थित हनुमानढोकामा पठाईयाे,फूलपाती


२४ आश्विन २०८१, बिहिबार  


गोरखाबाट काठमाडौंस्थित हनुमानढोका दरबारमा भित्राउने फूलपाती गोरखा दरबारस्थित कालिका मन्दिरको दसैंघरबाट पठाइएको छ ।

बिहीबार विधिवत रुपमा गोरखाबाट फूलपाती काठमाडौं हनुमानढोका पठाइएको हो ।

बा २ झ २१२८ नम्वरको सवारी मार्फत् फूलपाती लिएर गोरखा दरबारका पूर्व कर्मचारी तथा ढुङ्गगाढे भगवतीका पुजारी लोकप्रसाद भट्टराई काठमाडौं गएका छन् । बिहीबार बिहान परम्परागत बाजा, फूलपातीको डोलीको लावालस्कर सहित हर्षोउल्लासका साथ गोरखाबाट फूलपाती पठाइएको हो । गोरखा दरबारको फूलपाती हनुमान ढोका पुगेपछि दसैंको रौनक बढ्ने र दसैं भित्रियो भन्ने प्रचलन छ ।

हनुमानढोका फूलपाती पठाउन बुधबार षष्ठिको दिनबाटै तयारी शुरु भएको थियो । बुधबार गोरखा नगरपालिका–९ पिप्लेमा वेल निमन्त्रण पूजा गरेर फूलपाती संकलनको प्रक्रिया सुरु गरिएको गोरखा कालिका मन्दिरका मूल पुजारी शारदा प्रसाद भट्टराईले बताए ।

‘पुरोहित र सुसारेहरुले वलिसहितको पूजा गरेपछि गोरखा दरबार भित्राउने र हनुमानढोका पठाउन फूलपाती संकलनको सुरु हुन्छ,’ उनले भने । गोरखा नगर क्षेत्रको पस्लाङ, रिप, अमराई लगायतका बन क्षेत्रबाट संकलन गरेको नवपत्र काठमाडौं पठाइएको उनले बताए ।

संकलन भएको नवपत्रमध्ये केहि गोरखा दरबारमा भित्राउने केहि हनुमानढोका लागि पठाउने प्रचलन छ ।

पुख्यौली थलोको कूल देवतामा चढाइने फूलपाती हनुमानढोकको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरुले नै सुरु गरेको अग्रजहरु बताउँछन् ।

गोरखा दरबारमा फूलपाती भित्राउने प्रचलन शाहवंशका संस्थापक राजा द्रब्य शाहले १६१६ बाट सुरु गरेका उनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १० : ५८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित