२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

घोराहीका चोक–चोकमा नेताका शालिक, तर, भेटिन्नन् सार्वजनिक शौचालय !


११ कार्तिक २०८१, आइतबार  


घाेराही उपमहानगरपालिकाका चोकहरुमा तपाई जो कोही पुग्नु भयो, भने तपाईलाई सबै भन्दा ठूलो समस्या हुन्छ, शाैचालयकाे। नगरका चाेकचाेकमा अमूक नेताका शालिक भेटिन्छन् तर, तपाईंलाई सार्वजनिक शौचालय भेटाउन मुश्लिक हुन्छ।

तपाईदाइ शौच लाग्याे भने, कि होटल रेष्टुरेन्टमा छिर्नु पर्छ। त्यहाँ पनि तपाईंले केही खाने कुरा खाएपछि मात्रै शौच गर्ने मौका पाउन सक्नुहुन्छ। घाेराहीमा यस्तो हैरानी एक जनाले एक दिन, मात्रै होइन । यो सधै र सबैले भोगिरहेको दीर्घ समस्या हो । यस्तै समस्या भोग्दै र झेल्दै आएका एक मानिस हुन्, यमराज खनाल ।

अटाे -चालक यमराज खनाल

यमराज खनाल अटो चालक हुन्, उमेरले ५० को वरिपरी फन्को मारेपनि घर चलाउन उनी दैनिक अटोसंगै भिडिरहेको भेटिन्छन्। घोराहीको हापुुर घर भएका उनी घोराहीका चोकहरुमा अटो सेवा दिन थालेको पनि धेरै वर्ष भयो ।दुइ लाख बढी जनसंख्या भएको घारोहीमा सार्वजनिक शौचालय उनी कतै भेट्दैनन्। सुन्दर दाङ,समृद्ध दाङ भन्ने नारा पनि उहिल्यैदेखि उनले सुन्दै आएका छन् । तर, शौच लागे कतै भेटिन्न सार्वजनिक शौचालय। उनै अटोचालक खनाल भन्छन्, “होटल नपसी शौच गर्न पाइदैन। शौच गर्नु अघि केही किनेर खानुप¥यो।, केही नखाइ शौचालय छिर्न पनि मिल्दैन । यस्तो सास्ती खेपेको कसैले बोध गरेको छैन। जनतालाई शौचालयको खाँचो छ। तर, हाम्रो घोराहीमा कतै सार्वजनिक शौचालय छैन। जुन चोकमा पुग्छु, त्यहाँ नेताका शालिक मात्रै भेटिन्छन्, नेताका यी शालिक हेर्न मात्रै काम लाग्छन्, यस्ता शालिक किन र कसका लागि बनाएको हो ? मै आफै अनविज्ञ छु ।”

रझेना चाेक


पक्कै पनि अटोचालक खनालले भने झै यी शालिक बनाउने पैसोले सार्वजनिक शौचालय बनाएको भए, शौचालयको लागि आम जनताले हैरानी भोग्नुपर्ने थिएन । तर, जनताका यी दर्द सुन्ने पो कस्ले ? खनाल जस्तै अटो चालकहरुले हरेक वर्ष घोराही उपमहानगरपालिकालाई कर वापत २० हजार रुपैया तिदै आएका छन्। सडकको अवस्था उस्तै छ। सार्वजनिक शौचालय छैन। न्यूनतम सुविधा समेत उनी पाएका छैनन्। पुलिसले उस्तै दुःख दिन्छ, उनीहरुलाई । कर तिरेर पनि सुख छैन। पुलिसको हैरानी उस्तै ।नगरपालिकाले कर उठाउने मात्रै हो। जनतालाई सेवा केही दिएको छैन।

कांग्रेस नेता वीपीकाे शालिक राखिएको चाेक


राजनीतिक परिवर्तनका लागि योगदान गरेका नेताहरुको शालिक बन्नु गलत नभएपनि जनताको आवस्यकता पहिलो के भन्ने कुरा राज्यका निकायमा पुग्नेहरुले हेक्का राखेको देखिन्न। नेताकै गुणगान गाउन र उनीहरुकै भक्तिगानकै लागि सार्वजनिक स्थल ओगटेर दलका नेताको शालिक बनाउने प्रतिस्पर्धा छ। शालिक, भ्यूटावर र गेटका नाममा अर्बाै खन्याइएको छ। तर, उपादेयता केही देखिन्न। राज्यको सार्वजनिक ऋण बढेर २५ खर्ब माथि पुगेको छ।सत्ताको दुरुपयोग गर्दै जनताको प्राथमिकता र आवस्यकतामा नपरेका शालिक बनाउने हरेक पालिकामा देखिन्छ। घोराहीकै हकमा शालिक, गेट र भ्यूटावरको नाममा कति सरकारी पैसा खर्चियो, त्यसको विवरण पनि कतै भेटिन्न।

एमाले नेता ,नेत्रलालकाे शालिक राखेको चाेक

यसरी पार्टी पिच्छे र अपारदर्शीरुपमा अमूक नेताका शालिक चोकचोकमा बनाएको देखेर वाक्क्दिक्क भएका व्यक्ति यमराज खनाल मात्रै होइनन्। बस व्यवसायी हरिबहादुर वली पनि उस्तै उदेकलाग्दखो भएको बताउँछन् । दैनिक घोराही तुल्सीपुर र लमहीमा सवारी चलाउदै आएका उनी सडकको दुरावस्था देखेर रुष्ट छन्। सडकका बीचमा नेताका शालिक बनाइएको छ, चोकैपिच्छे नेताका शालिक कसका लागि र किन हो ? त्यो थाहा भएन भन्छन्, उनी । व्यवसायी वली थप्दै भन्छन्, पहिले चार लेन सडक भनियो । भएको सडक पनि भत्काइयो। अहिले सडक टालटुल पारेर जनताको आँखामा छारो हालिएको छ। यस्तो जनता ढाँट्ने नेता हुनु नै दाङका लागि दुर्भाग्य हो। सडकको हैरानीले वाक्कदिक्क भएका उनी आक्रोशित हुँदै भने, नेतालाई जनतालाई ढाँटेपनि पत्रकारले पनि नलेखेपछि विकास कसरी हुन्छ ? बस व्यवसायी वली कड्किदै उल्टै प्रतिप्रश्न गरे ।


घोराही तुल्सीपुरका यी समस्या व्यवसायीहरुको मात्रै होइन आम नगरबासीको हो । घोराही उपमहानगरपालिका देशकै ठूलो उपमहानगर हो। शहरउन्मुख नगरपालिका भएपनि न्यूनतम पूर्वाधार सेवा भने निकै दयनीय छ। उपमहानगरभित्र केही सडकहरु राम्रा भएपनि सार्वजनिक शौचालय छैनन कतै । खुला दिशामुक्त नगर उहिल्यै घोषणा गरिएको हो । तर, नगरभित्र गतिलो सार्वजनिक शौचालय नहुनु नगरका लागि लज्जाको विषय भएको विश्लेषक सर्जन गौतम बताउँछन्। विश्लेषक गौतम भन्छन्, “आम जनताको प्राथमिकताको विषय शालिक होइन, सडक सार्वजनिक शौचालय, शुद्ध पिउने पानी र सरसफाइ हुन्। तर, यहाँ चोक चोकमा नेताका शालिक बनाइएको छ। सडक र शौचालयको हालत .बेहाल छ। यस्तो हुनुमा विकासको प्राथमिकता के हो भन्ने नीति निर्माता दूरदर्शी चेत नहुनु हो ।”


नयाँ संरचना अनुसार घोराही उपमहानगरमा १९ वडा रहेका छन्। १९ वडामा करिब एक सय टोल रहेका छन्। अधिकांश टोलहरुमा सार्वजनिक शौचालय रहेका छन्। घारोहीको मुख्य बजार १४ र १५ नम्बर वडामा समेत सार्वजनिक शौचालय भेटिन्नन्। ट्राफिक चोक लगायतका केही स्थानमा सार्वजनिक शौचालय भएपनि व्यवस्थित नभएको स्थानीय बताउँछन् ।


सार्वजनिक शौचालयको विषयमा हामीले घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई प्रश्न गरेका थियौ। हाम्रो प्रश्नमा उनी भन्छन्, “सार्वजनिक स्थलको अभावमा शौचालय बनाउने छैन । १९ वडा भएको यस उपमहानगरमा ८ वटा सार्वजनिक शौचालय बनाइएको छ। नगरले सार्वजनिक स्थान पाएमा वार्षिक ७ करोडसम्म बजेट खर्च गरेर पनि व्यवस्थित शौचालय बनाउने योजनामा छ।”

मेयर नरुलाल चौधरीले भने जस्तै शहरउन्मुख घोराहीमा ८ वटा सार्वजनिक शौचालय पर्याप्त हुँदै होइन। मानिसको ठूलो चाप भएको घोराहीमा हरेक चोकहरुमा नेताका शाकिल भन्दा पहिले सार्वजनिक शौचालय बनाउनतिर ध्यान दिनुपर्ने देखिन्छ। राष्ट्रिय जनगणना २०७८ अनुसार घोराही उपमहानगरको जनसंख्या २ लाख बढी छ। कुल घरधुरी सख्या ४९ हजार ७६१ रहेको छ। सबै भन्दा बढी घरधुरी वडा नम्बर १५ र सबै भन्दा कम १२५३ घरधुरी भएको १ नम्बर वडा हो । ५ सय२२ वर्गकिलोमिटर रहेको घोराहीमा २ लाख ५ सय तीस जनाको बसोबास रहेको छ। दाङकै मुकाम समेत रहेकोले यस नगरमा मानिसको चाप पनि बढ्दो छ। शहरउन्मुख घोराहीमा भने गतिलो सार्वजनिक शौचालय समेतको व्यवस्था नुहँदा यहाँको गरिमा नै गुमेको जानकारहरु बताउँछन् ।

तुल्सीपुर चाेक घाेराही।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ५८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित