२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

रोल्पामा ‘बलिया वर्षमन’ फराकिलो मतान्तरले तेस्रो पटक पनि विजयी हुनेमा ढुक्क !


१८ फाल्गुन २०८२, सोमबार  


२१ फागुनको निर्वाचनले धेरै हेविवेट नेतालाई पिरोलिरहेको छ। झापा ५ मा ओलीलाई गाह्रो छ,सर्लाही ४ मा गगनलाई अमेरशको चुनौति छ भने दाङ २ मा शंकरलाई विपीनले असिनपसिन गराइरहँदा रोल्पामा भने वर्षमन पुन अनन्त ढुक्क छन् ।

साविकको माओवादी केन्द्र अर्थात् हालको नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रोल्पामा उम्मेदवार बनेका वर्षमन पुन बलियो संगठन र व्यक्तित्वका कारण ढुक्क देखिएका हुन्। पार्टीको बलियो संगठन र जनताकाे विश्वासकाे जगमा ठूलो मतान्तरले यश पटक पनि चुनाव जित्ने नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका वर्षमन पुन ‘अनन्त’ बताउँछन् । तेस्रोपटक पनि राेल्पाबाट अत्यधिक मतका साथ शानदारढंगले विजयी हासिल गर्नेमा उनी ढुक्क छन् ।

२०४८ को संसदीय निर्वाचनमा संयुक्त जनमोर्चालाई होस्, या २०६४ को पहिलो संविधानसभा हुँदै २०७९ सम्म पनि रोल्पामा हालको नेकपालाई जित निकाल्न कुनै सकस थिएन, भएन र छैन पनि । रोल्पाको भौतिक तथा मानवीय विकासमा साविकको माओवादीको ठूलो योगदान छ।

साविकको माओवादीको दोश्रो वरीयतामा रहेर काम गरेका वर्षमनको योगदान पनि उल्लेखनीय भएकोले उनलाई जीत निकाल्न सहज देखिएको स्थानीय बताउँछन् । वर्षमन पुनप्रति पनि प्रश्न नभएका होइनन्,तर,रोल्पाको विकासका लागि अझै पनि वर्षमनको विकल्प नभएको उनीहरूको भनाइ छ।

२०७९ मा कांग्रेससंग गठबन्धन गरेको साविकको माओवादी केन्द्र अहिले नेपाली कम्युनिस्ट पार्टी बनेको छ। तारा चुनाव चिन्ह लिएर वर्षमन पुन तेस्रो पटक रोल्पामा चुनावी भिडन्तमा छन् । जेनजी विद्रोहपछि विशेषगरी बालेनको देशव्यापी प्रभाव र दबदबा भइरहेको बेलामा पनि रोल्पामा भने वर्षमन पुनलाई निर्वाचन जित्न सहज देखिन्छ। तत्कालीन माओवादीको आधार इलाका रोल्पा अहिले पनि वर्षमन पुनप्रति उत्तिकै विश्वस्त देखिएको छ। विकास र जनाधार नै नेकपाको २१ फागुनको चुनाव जित्ने महत्त्वपूर्ण तागत हो।

एक सफल अर्थमन्त्रीको छवि बनाएका पुन गएको निर्वाचनमा देशभर अत्यधिक मत लिएर संसद हुदै सरकारमा पुगेका नेता पनि हुन्। २०७४देखि रोल्पामा निर्वाचन जित्दै आएका वर्षमन पुन अनन्तले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ललितपुर १ बाट चुनाव जितेका थिए। तत्कालीन माओवादी अर्थात अहिलेको नेकपा भित्र समझदारी र समन्वयकारी नेताको रूपमा स्थापित वर्षमन मुल नेतृत्वको पक्षमा पार्टी स्थापनादेखि कदापि विचलित छैनन्, बरू पार्टी र नेतृत्वको रक्षाका लागि सतिसाल झै प्रतिवद्ध छन् ।

उनका समकालीन नेताहरू नेत्रविक्रम चन्द विप्लव ,जनार्दन शर्मा प्रभाकर लगायतका नेताले पार्टी र नेतृत्वको खिलाफमा नयाँ दल खोलेका छन् । नयाँ दल खोलेका विप्लव यीनै वर्षमनसंग चुनाव लड्न हिम्मत गरेनन् ।उता जनार्दनलाई रूकुम पश्चिममै गोपाल शर्माले आत्थु आत्थु पारेका छन् ।पार्टीको मुल धारालाई छोडेर छुट्टै कुनिके पसल खोलेकाहरूको यतिबेला कन्तविजोग भएको देखिन्छ ।

२१ फागुनको निर्वाचनका लागि रोल्पामा १ लाख ४९ हजार ५९७ मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार यश पटक रोल्पामा ४ हजार १सय २६ मतदाता थपिएका छन् । २०७४ मा एमालेसंग र २०७९मा कांग्रेससंग गठबन्धन थियोे । गठबन्धनमा कांग्रेसको धेरै मत गएन, द्वन्द्वको तुसकै कारण माओवादीले अपेक्षित मत पाएको थिएन।


यश पटक कांग्रेसले अर्थविद् डाक्टर सुदनकुमार वलीलाई चुनावी मैदानमा उतारेको छ,भने एमालेले गोकुल घर्तीलाई अघि सारेको छ। तर,एमाले र कांग्रेसलाई यश पटक पनि वर्षमनलाई हराउन त्यति सहज देखिन्न।

यसो हुनुमा नेकपाको बलियो संगठन र पूर्व अर्थमन्त्री वर्षमन पुनको व्यक्तित्व नै मुल आधार भएको स्थानीय जानकारहरू बताउँछन् ।हालको नेकपा माओवादीले विप्लवलाई प्रतिस्पर्धामा उतारेको भए वर्षमनको मत काटिने सम्भावना थियोे ।तर,विप्लवले हिम्मत नगरेपछि वर्षमनलाई चुनाव जित्न थप सहज भएको हो।

नेकपाका रोल्पा निर्वाचन कमान्डर राजबहादुर बुढा अविनाशले ०७९ को जति मत खसेमा २२ हजार मतको अन्तरले अहिले पनि जितिन्छ भन्नेमा ढुक्क भएको बताउँछन् ।कांग्रेसको मत रास्वपामा जाने भएको र एमालेको मत स्थीर हुने भएकोले वर्षमनले ४२ हजार मत लिएर जित्नेमा आफूहरू ढुक्क भएको चुनावी कमान्डर बुढाको भनाइ छ।

रोल्पामा गएको २०७९ को स्थानीय निर्वाचनमा ७२ वडामा ४८ वडा साविकको माओवादीले जितेको थियोे । २०८१ मंसिर १६ मा भएको स्थानीय उपनिर्वाचनको ४१ सीटमा हालको नेकपाले ८ वडाध्यक्ष, १ गाउँपालिका अध्यक्ष ,२ गाउँपालिका उपाध्यक्ष र १ उपमेयर जितेको थियो देशभर भएको स्थानीय उप निर्वाचनमा पनि साविकको माओवादीले धेरै स्थानीय जितेको हो ।साविकको माओवादी स्थानीय तहमा बलियो देखिएको थियो । वडा निर्वाचन नै दलहरूको वास्तविक धरातल हो।

रोल्पाका ७२ वडा मध्येमा ४८ वडामा जित निकालेको नेकपालाई एकीकरणले थप बल मिलेको नेकपा केन्द्रीय सदस्य पुरण केसी बताउँछन् ।रोल्पा नगरपालिकका संस्थापक नगरप्रमुख समेत भएका केसी यश पटकको निर्वाचनमा पनि नेकपाको जीत शानदार हुने दाबी गर्छन् । सबै पार्टी मिल्दा पनि जितिन्छ भन्नेमा ढुक्क भएको केन्द्रीय सदस्य केसी बताउँछन् ।

तत्कालीन माओवादी केन्द्रका उपमहासचिव पुन ४१ हजार सात सय १४ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत ल्याएका थिए। माओवादीका पुनले एमालेका बुढालाई २५ हजार दुई सय २९ मतान्तरले पराजित गरेका हुन्।यसपटक नव पुस्ता मतदाता ४ हजार १२६ थपिएका छन् । नेकपा निकट जेनजी रेड फोर्समा आबद्ध युवाहरू धेरै भएकोले पनि मत वर्षमनकै पक्षमा जाने देखिन्छ ।

भौतिक तथा मानवीय विकासमा साविकको राप्तीमा रोल्पा अगाडि :

एकताका यस्तो समय थियोे ,घर रोल्पा भन्दा डोल्पा सुन्थे,मानिसहरू।तर, दस वर्षे जनयुद्धले रोल्पाको पहिचान र परिचय मात्रै फेरिएन । यहाँको भौतिक तथा मानवीय विकासमा ठूलो बदलाव ल्याइदियो । तत्कालीन सञ्चार मन्त्री कृष्णबहादुर महराले हात हातमा मोबाइल घर घरमा इन्टरनेटको नारा दिए । जसको परिणाम सूचना प्रविधिमा रोल्पाले ठूलो उपलब्धि हासिल गर्यो।

फोन गर्दा सेनाको निगरानीमा त्यो पनि दिनभर लाइन बस्ने नियतिको अन्त्य मात्रै भएन,रोल्पा सूचना प्रविधिको क्षेत्रमा विश्वजगतसंग जोडियो ।यतिबेला रोल्पाका दुरदुराजमा बसेर संसार हेर्न र बुझ्न सहजै सकिन्छ । आज हरेक रोल्पालीको हातमा स्मार्ट फोन र आइफोन छन् ।क्रान्तिकारी चेतसंगै रोल्पाली जीवन बदलिएको छ।यद्यपि युद्धले छोडेका सबै डोबहरू त अझै पुरिएका त छैनन् ।तर, युद्धको डोबहरूलाई पुरेर शान्ति बहाली कोशीस निरन्तर जारी छ।

यस्तै गरि सडकमा पनि क्रान्ति भएको छ। २०५० सालतिरको कुरा हो,दाङ पुग्न खाल्डे सडकमा १२ घण्टा समय लाग्थ्यो ।तर शान्ति प्रक्रियापछि चिल्लो सडकमा विजुली गाडी चढेर सरर ३ घण्टामा दाङ मज्जाले पुगिन्छ । भालुबाङ लिबाङ १०७ किलोमिटर सडक होस्, चाहे घोराही लिबाङ ८२ किलोमिटर सडक उत्तिकै सहज हुदै गएको छ। दाङको दुइखोली बाजबाङ लिबाङको ६२ किलोमिटर सडक स्तरोन्नतिको चरणमा छ। यतिमात्र होइन, सुलिचौर थबाङ, होलेरी थबाङको चक्रपथ नै किन नहोस्,।सडक पूर्वाधारले रोल्पा जेलिएको छ। अब क्रान्तिकारी चेत र पूर्वाधारलाई उत्पादन र रोजगारीमा वृद्धि गर्ने दायित्व निर्वाचित जनप्रतिनिधिको हुनेछ र हुनुपर्छ पनि ।

यस्तै रोल्वामा विगतमा लाहुरे प्रतिस्पर्धा हुन्थ्यो आज निजामती क्षेत्रमा प्रवेश गर्नेहरूको ठूलो भीड छ।देशभर लोकसेवाको नतिजामा रोल्पा सधैं गणना हुने गर्दछ।जबकि २० वर्ष अघि लोकसेवाको तयारी गर्ने विरलै भेटिन्थे। अधिकांश रोल्पालीहरू भारतीय र ब्रिटीस लाहुरेका लागि तयारी गर्थे। त्यता नभए भारतीय बजारमा ज्याला मजदुरीमा जाने गरिन्थ्यो ,भने पछिल्लो समय खाडी क्षेत्र गन्तव्य बनेको छ।सरकारी जागिर खाने अत्यन्तै कम हुन्थे ।विज्ञान र गणितको शिक्षक मधेशबाट ल्याईन्थ्यो।किनकि एकताका गणित र विज्ञानको शिक्षक रोल्पामा पाइन्न थिए। आ ज रोल्पामै जनशक्ति उत्पादन हुन्छ। शिक्षक मात्रै होईन,निजामतीको उच्च तहदेखि डाक्टर पाइलट र इन्जिनियर जति पनि छन् ।

सरकारी विद्यालयहरू देशभरका सूचिमा गणना हुन्छन् । शिक्षा र स्वास्थ्यमा पनि ठूलो परिवर्तन आ एको छ। जनताको जीवनशैलीदेखि उत्पादन र रोजगारीमा बदलिएको छ, रोल्पा।यी सबै सूचकहरूले रोल्पालाई साविकको राप्तीका अन्य जिल्लाको तुलनामा अब्बल देखाउँछन् ।

दस स्थानीय तह भएको रोल्पामा एक नगर र ९ गाउँ सरकार छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार रोल्पाको जनसंख्या २ लाख ३६ हजार २२६ रहेको छ। १८ सय ८९ वर्ग किलोमिटर क्षेत्रफल रहेको रोल्पामा मगरहरूको बाहुल्यता छ। जनयुद्धको त्यो कहालीलाग्दो अवस्था होस्,या शान्ति प्रक्रियाका सयौ घुम्तीहरूमा रोल्पाले ठूलो कुर्बानी गरेको छ। द्वन्द्वमा एक हजार बढीको ज्यान गएको छ। जिल्लामा सबैभन्दा बढीको मृत्यु जेलबाङमा भएको थियोे ।

शान्ति गाउँ जेलबाङले सधै परिवर्तनको पक्षमा मत जाहेर गर्दै आएको छ।यद्यपि साविकको माओवादी केन्द्र होस्,या अहिलेको नेकपाले जनतासंग गरेका बाचाहरू सबै पूरा नभएको भने सत्य हो। यश पटकको निर्वाचनमा विजयी भएपछि पूर्व अर्थमन्त्री समेत भैसकेका वर्षमनले जनतासंग गरेका सबै बाचा पूरा गर्न सक्नुपर्ने रोल्पाली मतदाता बताउँछन्

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ८ : ०७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित