गएको दश वर्ष यता हेरियो भने प्रचण्डले २८ महिना र ओलीले ६५ महिना सरकार चलाए । देउवाले चुनावी सरकारको भूमिका बाहेक कुनै अवसर पाएनन् । दुई पटक पार्टी सभापति भएका उनले पछिल्लो समय ओलीसंग सत्ता सम्झौता गरे । भ्रष्ट, माफिया र तस्करहरुको संरक्षणमा हात मिलाउँदै आएका देउवा गएको भदौ २४ मा भकुरिएपछि बल्ल होसमा देखिए ।
गएको असोज २८ गतेको केन्द्रिय समिति बैठकबाट आफू सक्रिय राजनीतिबाट बाहिरिएको सन्देश दिएका उनी गगन विश्वले अघि सारेको विशेष महाधिवेशन रोक्न हर कोशीस गरे । तर, हजारौ कार्यकर्ताको अघि सीमित नेता बोकेर उनी राजनीतिको उत्तार्धमा होस् या जीवनको उत्तार्धमामा आफ्नै इतिहासलाई कलंकित बनाए । संसद व्युउँताएर ज्योतिषको भविष्यवाणीलाई सार्थक बनाउन तम्सिएका उनी आफैले तीन भल्ट्याङ खाए ।
विशेष महाधिवेशनको तागतमा गगनले पार्टीभित्रको अलोकतान्त्रिक र व्यक्ति केन्द्रीत दललाई पार्टी केन्द्रीत बनाए । वर्षाैदेखि बुढानिलकण्ठमा द्रव्य चढाएर चुनावी टिकट पाउने कुप्रथा खारेज मात्रै गरेनन् । १६५ निर्वाचन क्षेत्रमा १०६ जना युवा अनुहारलाई चुनावी मैदानमा उतारे । गगन विश्वको पार्टीभित्रको विद्रोहले कांग्रेसभित्र लेउ लागेर फोहोर भएको संरचनामा समेत सफाइ गरियो । कांग्रेस कांग्रेस जस्तो देखिन थाल्यो । कम्युनिष्टसंग मिलेर कांग्रेसको भोट बेच्दै आएका देउवा र उनका आसेपासे पार्टी नेतृत्वबाट बढारिएपछि कांग्रेस सफा नदी जस्तो देखिन थालेको हो । गाउँ गाउँमा मुर्झाएको कांग्रेस फेरि बौरिएको हो ।
वर्षाैदेखि कांग्रेसलाई माया गरेर रुखमा भोट हाल्दै मतदाता र शुभचिन्तकहरुलाई देउवाले हसियाँ हथौडा र कलममा हाल्न आदेश थिए । २०७९ को निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर १ मा कलममा भोट हालेका थिए, भने दाङ २ मा हसिंयाहथौडामा अनि चितवन गोर्खा लगायतका जिल्लामा कांग्रेसीहरुले रुखमा भोट समेत हाल्न पाएनन् ।
तर, गएको दश वर्ष देउवाको सत्ता लेनदेनले वाक्कदिक्क बनेका कांग्रेसीहरु यस पटक भने निकै उत्साहित भएका छन् । धेरै वर्षपछि रुखमा भोट हाल्ने वातावरण गगन विश्वले मिलाएको भन्दै फागुन २१ मा कांग्रेसी उम्मेदवारलाई भोट दिने उनीहरुको योजना छ । देउवाकै कारण निस्सासिएको कांग्रेस यतिबेला के नगर के गाउँ सबैतिर सक्रिय छ । चारतारे झण्डासहित रुख चिन्ह लिएर उम्मेदवारहरु घरदैलोमा पुगेका छन् । लगभग विघटनकै भड्खालोमा जाने अवस्थामा पुगेको कांग्रेसलाई गगनले रिभाइभ गरेपछि गाउँ नगरमा कांग्रेस बौरिएको हो ।
देशभरको १६५ निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै भिडिरहेको छ । गगनलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सारेको कांग्रेसले फागुन २१ मा कस्तो नतिजा ल्याउँछ त्यो त्यत्तिबेलै थाहा होला । तर, सत्य कुरा के हो भने गाउँमा शीर झुकाएका तल्लो तहका कांग्रेसी कार्यकर्ता यतिबेला शीर ठाडो पारेर आफ्नो दलको उम्मेदवारको पक्षमा मत मागिरहेको देखिन्छ । शेरबहादुरले डुबाएको कांग्रेसलाई गगनले बौराएको भन्दै उनीहरुले जनताको अथाह मत लिएर फागुन २१ पछि अबकी बार गगन सरकार भन्दै प्रचार प्रसार गरिरहेका छन् ।
गाउँमा देखिएको कांग्रेसीहरुको यो उत्साहले संसदमा कति सीट हात लाग्छ, त्यो त्यत्तिबेलै थाहा होला । तर, गगन नेतृत्वमा आएपछि कांग्रेस बौरिएको मात्रै छैन। जनताको आशा र भरोसा पुनः भर्न थालेको अनुभव गाउँमा हुने गरेको छ । आज दाङ लगायतका विभिन्न जिल्लाका नगर र गाउँबस्तीमा कांग्रेसमा नयाँ जागरण आएको छ । गगन नेतृत्वमा आएपछि कांग्रेसमा देखिएको यो उत्साह फागुन २१मा मतमा बदलियो भने अबको भावी प्रधानमन्त्री गगन बन्नेमा द्धिविधा नहोला की ?०००








