२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

सुशीला कार्की ‘साहसी र हिम्मतवाली’ प्रधानमन्त्री !


२० फाल्गुन २०८२, बुधबार  


२०७३ असारमा पहिलो महिला प्रधानन्यायाधीश भईन्,प्रधानमन्त्री सुशीला कार्की । देशको परिस्थितिले पनि उनलाई पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर र चुनौति दुबै दियो । तर, उनले प्रधान्यायाधीश हुँदा महाअभियोग झेल्नुपर्यो ।तत्कालीन सञ्चार मन्त्री जेपी गुप्तालाई पदमा रहेको बेला जेल पठाउने साहसिक फैसला उनले गरेकी थिइन् ।

उनै साहसिक प्रधान्यायाधीश कार्कीले ८० जना दलका कार्यकर्ता भर्ती गर्न असहमति राखिन्।हक्की स्वभावकी सुशीला डगिनन् । तत्कालीन माओवादी र कांग्रेसका २५१ तत्कालीन प्रतिनिधि सभाका सांसदले २०७४ बैशाखमा उनी विरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरे । तर, उनी महाअभियोग प्रस्तावसंग पनि डराइनन् ।


न्यायीक क्षेत्रमा राम्रो छवि बनाएकी उनले दलको आदेश नमानेपछि महाअभियोगको हतियार देखाएर तस्राउन खोजियो । उनी टसमस भईनन्। जतिबेला अहिलेका महामहिम राष्ट्रपति राचन्द्र पौडेले पनि महाअभियोगमा पक्षमा थिए । तत्कालीन गठबन्धनको अहंकार र दम्भले एउटा स्वच्छ छविको न्यायमूर्तिलाई कसरी डस्छन् भन्ने यो एउटा उदाहरण हो। नेपालको इतिहासमा महाअभियोगको सामना गर्ने कार्की पहिलो प्रधानयायाधीश हुन् । सुशीला कार्कीलाई महाअभियोग लगाउनुको मुख्य कारण आइजीपी नियुक्ति प्रकरण नै थियोे ।


२०७३ असार २७ गते कार्यभार सम्हालेकी थिइन् । कार्यभार सम्हालेको १० महिना पुग्दानपुग्दै उनी विरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियोे । तर,उनीविरुद्धको महाअभियोग अघि नबढाउन तत्कालीन न्यायाधीश चोलेन्द्र शमशेरको एकल अन्तरिम आदेशले रोकिएको थियोे ।

सत्य कुरा के छ, भने समय गतिशील छ र परिवर्तनशील पनि छ। पृथ्वी गोलो छ। राजनीति र समाजको चर्खा पनि उस्तै गरि घुम्छ।यही चर्खाले कसलाई कहाँ पुराउँछ। त्यो कुरा त्यतिबेला कसैलाई पनि थाहा हुदैन । बुढापाकाले भने जस्तै यो भाग्यको खेल जस्तो पनि लाग्छ। यद्यपि यसमा विश्वास गर्ने या नगर्ने अर्को कुरा हो। तर,सुशीलाको जीवनमा यस्तै यस्तै भैदियो। नेपालको पहिलो महिला प्रधानयायाधीश र महाअभियोग खेप्ने पनि पहिलो बनेकी थिइन् ।उनी विरूद्धको यो अन्यायको विरू्दधमा त्यतिबेला एमालेले डिफेन्स गरेको थियोे ।तत्कालीन प्रतिपक्षी एमाले र सर्वोच्चकै कारण उनी महाअभियोगले दामिनु परेन ।

यस्ता थुप्रै र कठिन चुनौति झेलेकी सुशीला न्याय र सुशासनको पक्षमा वकालत गर्दै आएकी थिईन्। देशमा कुशासन र भ्रष्टाचारको जालो व्यापक फैलिरहेको थियोे ।यसको विरूद्ध गएको भदौमा जेनजी विद्रोह भयो । २७ घण्टाको युवा आन्दोलनले तत्कालीन ओली सरकार गएको भदौमा २४ मा सत्ताच्यूत भयो। त्यसपछि मुलुक रिक्तताको अवस्थामा पुग्यो। देशको स्वतन्त्रता ,स्वाधीनता र सार्वभौमिकता नै नरहने हो कि भन्ने डरलाग्दो स्थिति बन्यो ।सबैतिर त्रास ,भय, अराजकता र आतंकको धुवाँ फैलिरहेको स्थिति थियोे । सुरक्षा अवस्था अत्यन्तै जटिल थियो । ७६ जनाको हत्या र २४ सय बढी घाइतेको रगतले देश लत्पतिएको थियोे । राजनीतिक अविश्वास ,सामाजिक अराजकता र असुरक्षाको बीचमा कसैले पनि सत्ता सम्हाल्ने स्थिति र मनस्थिति थिएन।

यस्तो कठिन घडीमा पनि सुशीलाले जेनजीकै माग र महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको आग्रहमा उनी जोखिम मोल्न तयार भइन्। निवृत्तको यो उमेरमा परिवारसंगै बस्ने र आराम गर्ने बेला हो। यी कुरा उनका पक्कै पनि चाहना थिए होलान्।तर,निजी खुशीलाई एकातिर थन्काएर उनी संकटको राष्ट्र सम्हाल्न पुगिन् ।

नैतिक धरातलमा बलियोसँग उभिएको एक व्यक्ति कति धेरै बलियो हुन्छ भन्ने कुराको प्रमाणित प्रधानमन्त्री सुशीला कार्कीले गरिन् । उनको निष्ठा, नैतिकता र जवाफदेहीता नेपाली समाज र राजनीतिका लागि एक मार्ग दर्शन बन्यो । गएको भदौ २७ मा प्रधानमन्त्रीको शपथ लिदै यही २१ फागुनमा निर्वाचनको लागि सिफारिस गरिन् र भदौ २३ र २४ को नरसंहार र विध्वंसको छानबिन गर्न आयोग बनाईन्।यद्यपि आयोग प्रतिवेदन सार्वजनिक भएको छैन ,त्यो पनि अवस्य सार्वजनिक होला नै ।

मुल कुरा त उनले जेनजीको नाममा भइरहेको अत्याइ, दलहरूको घुर्की, भगौडा कैदी ,लुटिएका हतियार र दुर्गा प्रसाईंको अराजकताको बीचमा पनि उनले अन्ततः एकै चरणमा प्रतिनिधि सभा सदस्यको चुनाव सम्पन्न गर्न तयार भइन्।मुलुकको संकट टार्ने बाटो निर्वाचन बाहेक अरू केही थिएन र हैन पनि ।निर्वाचनबाट मुलुकलाई ट्रयाकमा ल्याउन उनले अदम्य साहस, आँट र हिम्मत गरिन्।

कतिपय कुरा हामीले अपेक्षा गरे अनुसार नभएको पनि होलान्।तर, मुख्य कुरा मुलुकमा एकै चरणमा चुनाव गर्न सम्भव भयो। २०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा मंसिर १० र मंसिरमा २१ मा दुई चरणमा चुनाव सम्पन्न गरेका थिए। जबकि त्यतिबेला अहिले जस्तो असहज, अप्ठ्यारो स्थिति थिएन।घरेलु र बाह्य दबाब झेल्न परेन ।तर, सुशीलाले स्वदेशी तथा विदेशीका दबाब र प्रभावको समाना गरेरै भएपनि कर्तव्य र दायित्व पूरा गरिन्। जुन काम आफैमा अदम्य साहसको उदाहरण हो।

उनले मनोनित गरेका मन्त्रीले बीचमै छोडे । उनी कदापि विचलित भईनन्।पितृसत्तात्मक सोच भएको हाम्रो नेपाली समाजमा उनले पनि उस्तै टीका टिप्पणी झेलिन्। महिला भएकै कारण उनका शारीरिक समस्यामाथि पनि नकारात्मक टिप्पणी गर्नेहरू कमी थिएनन् र छैनन् पनि।अत्यन्तै असहज र अप्ठ्यारोको बाटोमा पनि कत्तिपनि उनी विचलित ,अधीर र अस्थिर नभइ सति साल झै आफ्नो जिम्मेवारी र कर्तव्यमा अडिग भईन्। जुन काम आफैमा महान थियोे र हो । सर्वोच्चदेखि सिँहदरबारसम्मको जिम्मेवारीमा उनले देखाएको यो साहस हरेक महिलाका लागि ज्यादै अनुकरणीय छ ।सिंगो मानव समाजका लागि उदाहरणीय छ।


नेपालको राजनीतिक इतिहासमा उदाहरणीय काम गरेर सिंगो महिला जगतका लागि पनि उत्तिकै प्रेरणा बनेकी सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई हाम्रो पनि नमन, श्रद्धा र सम्मान छ। प्रधानमन्त्री कार्कीले गरेको राष्ट्र प्रतिको यो अतुलनीय योगदान वर्तमान पुस्ताले मात्रै होईन, भावी पुस्ताले पनि स्मरण कसो नगर्ला र ?

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ९ : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित