२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

बन्दुन्क समाएका विप्लव हातमा गुलाब,बुलेट त्यागेर ब्यालेटको यात्रा ?


२४ पुस २०८२, बिहिबार  


राजनीति निर्मम हुन्छ,जो सधैं वक्ररेखाबाट अघि बढ्छ। राजनीतिमा स्थायी शत्रु र मित्र हुदैनन् । नैतिकता विनाको राजनीति लाजनीति हो। परिवर्तन विद्रोह वा सशस्त्र संघर्ष होईनन्। यी त माध्यम अर्थात् साधन मात्रै हुन्।

परिवर्तन भनेको जनताको मनमा शान्ति र चेहरामा कान्ति छाउनु हो । सबैले अस्तित्व ,अपनत्व र अधिकार प्राप्त गर्नु हो। समाजको विभेद ,उत्पिडन, शोषण र अत्याचारको अन्त्य हुनु हो। त्यो उदेश्य प्राप्तिका लागि शान्तिपूर्ण या सशस्त्रका माध्यमबाट समाज बदल्नु पर्छ या बदलिनु पर्छ।

परिवर्तनको हरेक आन्दोलनमा बदलिँदो विश्व परिस्थिति,भूराजनीतिक अवस्था र हरेक समाजको बुझाइ र मनोविज्ञानले ठूलो अर्थ राख्छ । नेपाली समाजको मनस्थिति ,वस्तुस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको सही मूल्यांकन वा प्रक्षेपण गर्न नसकेमा परिवर्तनको आन्दोलन आफैमा निर्थक र आत्मघाति बन्न सक्छ र बनेका पनि छन् ।

मानव जातिको मुक्ति लागि संसार भएका धेरै आन्दोलनहरू उदेश्य र लक्ष्यमै नपुगि तुहिएका उदाहरण छन् । उदाहरणका लागि जस्तै श्रीलंकाको तमिल वि८द्रोह होस् या ,भारतको नक्सलवादी या नेपालकै माओवादी जनयुद्ध अधुरा आन्दोलन हुन्।

संसार भरका क्रान्तिहरू अनुभव र अध्ययनबाट भन्दा पनि क्रान्तिकारी उन्माद, लफ्फाजी , उत्तेजना, महत्वकांक्षा र ठोस परिस्थितिको ठोस विश्लेषणविनाको रोमान्टसिजममा भएको पाइन्छ । नेपालमा पनि माओवादी जनयुद्ध होस्,झापा विद्रोह या कांग्रेसको मुक्ति आन्दोलनलाई उदाहरण लिन सकिन्छ । यी आन्दोलनहरूले परिवर्तनको बाटो त देखाए। तर, जे घोषित लक्ष्य र उदेश्य थिए। ती अधिकांश अधुरै रहे।

कारण समाजको बुझाइ,समयको पदचाप,अन्तर्राष्ट्रिय परिस्थिति र वस्तुवादी चिन्तनको चरम अभाव हुनुले हो। नेपाली माटो अनुसारको विचार भन्दा पनि आयातित विचारलाई प्रयोग गर्दा यस्तो परिणाम आएको हो ।माटोमा सिर्जित विचारले मात्रै त्यही माटोमा भएको विभेदको अन्त्य गर्न सक्छ।जो आफैमा प्राकृतिक सिधाान्त हो। तराईमा स्याउ फल्दैन ।तर आँप फल्छ। कारण माटो र हावापानी अनूकुल हुनुपर्छ ।त्यही माटोमा मात्रै फल लाग्ने गर्दछ।जहाँ अनुकूल हावापानी र माटो हुन्छ।

हो,माओवादी जनयुद्ध परिवर्तनको उदेश्य थियोे ।तर,मनस्थिति र परिस्थितिमा थिएन।यो क्रान्तिकारी रोमान्सिजम नै थियोे । जनयुद्ध भनिएपनि यो पार्टीको नेता र कार्यकर्ताले बन्दुक उठाएको राजनीतिक लडाइँ थियो। जनताले नै बन्दुक उठाएको हुन्थ्यो भने यसले घोषित उदेश्य र लक्ष्य हासिल गर्ने थियोे ।जुन आज सिद्ध भएको पनि छ।

बन्दुकको नालबाट सत्ता जन्मिन्छ भन्ने माओत्सेतुङको दीर्घकालीन जनयुद्धको लक्ष्य बोकेको माओवादी १० वर्षमा संसदमा छिर्यो। २०५२ सालमा संसदलाई खसीको टाउको राखेर खसीको मासु बेच्ने पसल भन्ने माओवादी घुमिफिरी रूम्जाटार भने झै २०६३ माघ १ गते संसदमा छिर्यो। करिब २० वर्ष संसदमा रमाएको माओवादीको प्रचण्ड समूह अधुरो लक्ष्य सहित संविधान लिएर शान्तिपूर्ण राजनीतिमा रमाउन थाल्यो। संसदीय गणित हेरेर सत्तामा प्रचण्डहरू रमाइरहदा विप्लव -वैद्यले संसद बहिष्कार गर्दै सं८घर्ष गर्न थाले ।२०६९ असारमा प्रचण्डसंग अंश बण्डा गरेका विप्लव -वैद्य २०७१ मंसिरमा अलग भए ।

एकीकृत जनक्रान्तिको घोषणा गरेका विप्लव १२ वर्षपछि शान्तिपूर्ण राजनीतिमा आए। एकीकृत जनक्रान्तिको झण्डा अलपत्र पारेर उत्पादन क्रान्तिको बाटो हुदै उनीहरू संसदीय क्रान्तिको ढोकामा आइपुगेका छन् । यो राजनीतिक कदम स्वभाविक र उचित छ।तर, हिजो क्रान्तिका नाममा देखाइएका सपनाहरूको एक एक जवाफ विप्लवले दिनुपर्छ। जनताका छोराछोरी मर्न र मार्न तयार हुन प्रशिक्षण गर्ने नेतृत्वले त्यसको औचित्यता पुष्टि अवस्य गर्नु पर्छ।त्यसको सही जवाफ नदिइ विप्लवलाई पनि शान्ति मिल्ने देखिन्न ।

प्रचण्डले अलपत्र पारेको क्रान्तिको झण्डा फेरि उठाएको नेताले किन सशस्त्र क्रान्तिको झण्डा विसायोरु क्रान्तिको बाटो गलत थियोे या थाकियो ? त्यो कुरा जनतालाई भन्नै पर्छ। सशस्त्र क्रान्तिको बाटो भन्दा शान्तिपूर्ण संसदीय आन्दोलन नै ठिक हो भने जनयुद्ध र एकीकृत जनक्रान्ति किन गरेको ? यी संगीन र युगीन प्रश्नको बीचमा विप्लव चुनावी मैदानमा होमिएका छन् ।

हिजो जनतासंग बोलेका बाचा पूरा नगर्दा ओली,देउवा र प्रचण्डको जे हालत भयो। त्यो स्थिति भोलि विप्लवले झेल्नु हुदैन । रोल्पाकै हकमा पनि यतिबेला जनताले वर्षमनमा सुन सम्झिन्छन्, विप्लवमा गुण देख्छन् ।जनतालाई ढाँट्नेहरू अन्ततः कठघरामा पुग्छन् ।यसर्थ विप्लवले सत्य बोलून्,सत्य भनून्।

बन्दुकको बलमा श्रेष्ठता असम्भव छ भन्ने निचोड निकालेर उनी ब्यालेट बक्समा आइ पुगेका हुन्। ढिलै भए पनि विप्लव समूहले सही बाटो समाएको छ। दुनियाँमा लोकतन्त्रको विकल्प लोकतन्त्र हो।जनता अजय शक्ति हुन्।उनीहरूको विवेकपूर्ण फैसला आफैमा लोकतान्त्रिक हो।उनै जनताले गर्ने फैसलाले श्रेष्ठता हासिल गर्नु नै असली जनवाद हो।मदनले भने जस्तै पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु असली जननेता हो। बन्दुक होइन,विचारले समाज रूपान्तरण सम्भव छ र हुन्छ ।त्यसका लागि उच्च नैतिकता चाहिन्छ ।

नैतिकता विनाको शक्ति र लोकपृयताको उचाइ पानीको फोका जस्तै हो। पछिल्लो समय अनैतिक र लोकपृयतावादीहरूबीच संघर्ष छ। यी दुबै मुलुककै लागि हानिकारक छन् । अझ भनौ, सञ्जालबाट उदाएकाहरूको आयू अझै छोटो हुन्छ । संघर्षबाट स्थापित भएकोहरूले नैतिकतालाई पोलिखाँदा सत्ताबाट जनताले लघारेका थिए।

जनयुद्धबाट उपलब्धि केही पनि भएन भन्ने होइन।यसले दमित उत्पीडित ,सिमान्तकृत र बहिष्कृतहरूलाई आफ्नो अधिकार,अपन्त्व र अस्तित्वको खोजी गर्ने चेतना दियो। यो राष्ट्र हाम्रो पनि हो। हामी अनागरिक होईन। नागरिक हौ भन्ने कुरा कुरालाई संवैधानिक,राजनीतिक र सामाजिक रूपले स्थापित गरिदियो।तर, जनताको व्यवस्था बदलिएपनि अवस्था बदलिएन।जसको परिणाम जेनजी विद्रोह भएको हो।यश विद्रोहमा विप्लवले नेतृत्व र पहलकदमी लिन चुककै हुन्।यसको संश्लेषण गर्न भने विप्लव तयार देखिएनन् । यो उनको कमजोरी थियोे र हो।यद्यपि उनी विषयमा मौन छन् ।

यसर्थ विप्लवले यी दुबै प्रवृत्तिबाट आफूलाई अलग राखेर जनताको सेवा गर्न सकून्। शान्तिपूर्ण राजनीतिबाट धेरै कुराको परिवर्तन गर्न सकिन्छ ।सशस्त्र क्रान्तिमा बलियो बन्दुक हुन्छ भने शान्तिपूर्ण राजनीतिमा नैतिकता र निष्ठा बलिया औजार हुन्। संसदीय निर्वाचनको पहिलो अनुभव गर्न थालेको यश दलले जनताको मन जित्न सकोस्।वेदागी नेता र पार्टी भएकोले पनि जनविश्वास अन्यको भन्दा धेरै छ।जनमत प्राप्तपछि पनि अहिले जत्तिकै नैतिकता र निष्ठा देखाउन सकोस्।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ९ : ४० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित