हतारमा निर्णय र फुर्सदमा पछुतो भने जस्तै एमाले क्याम्पमा पनि त्यस्तै भैदियो । विशेष गरी कम्युनिष्टहरुमा यस्तो समस्या ज्यादा देखिन्छ । विधि र विधान भन्दा पनि व्यक्तिको निर्णयलाई बलजफ्ती लागू गर्ने शैलीका कारण उनीहरु आफ्नै निर्णय आफै उल्टाउँछन् ।
एमालेले उल्टाएको त्यस्तो निर्णय हो, अर्बपति तथा भाटभटेनीका संचालक मीनबहादुर गुरुङले दान दिएको करोडौको जग्गा फिर्ता प्रसंग । काठमाडौका कलंकीमा रहेको बहुमूल्य जग्गा डेढ वर्षपछि एमालेले फिर्ता गर्ने ग¥यो । दानवीरहरुले पार्टी भवन निर्माण गर्न जग्गा दिएको भन्दै ओली पक्षहरुले निकै प्रशंसा र गुणगान गरेका थिए ।
तर, एमालेभित्रका क्रान्तिकारी सोच र स्वस्च्छ छवि भएका नेताहरुले विरोध गरे । पार्टी दान लिनु गलत भएको भन्दै विरोध गर्ने डा विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६ महिना निलम्बन गरेको ओली नेतृत्वको एमालेले अहिले आएर उनै पाण्डे र तिमिल्सनाको लाइनमै फर्कियो । सर्वत्र आलोचनाका भएपछि नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट लिएको ‘दान’ फिर्ता गर्ने भएको हो ।
व्यवसायी गुरुङले एमालेका लागि जग्गासहित अर्बौ रुपैयाँको अत्याधुनिक भवन बनाइदिने प्रक्रिया अघि बढेको थियो।तर, विवादले पार्टीको छवि नै धुमिल भएपछि एमालेले जग्गा फिर्ता गरेको हो । केपी प्रधानमन्त्री रहेकै बेलामा गुरुङको दान स्वीकार गर्दै कलंकीमा २०८१ असोज २३ गते दिनमा भवनको शिलन्यास भएको थियो ।
भवन बन्ने क्रममा रहे पनि एमाले अब यस प्रस्तावलाई अस्वीकार गर्ने भएको छ । अध्यक्ष ओलीले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा धन्यावादसहित प्रस्ताव अस्वीकार गर्ने प्रस्ताव गरेका हुन् । अब पार्टीको कार्यालय मदनगर बल्खुमै बनाउने धारणा ओलीले अघि सारे । भाटभटेनी सुपर मार्केटसहित धेरै खालका व्यवसाय गरिरहेका गुरुङले जग्गासहित पार्टी कार्यालय बनाइदिने निर्णय सार्वजनिक भएपछि एमालेभित्रैबाट चर्को आलोचना भएको थियो। ।
कर छलिसहित बालुवाटारको जग्गा प्रकरणमा समेत मुछिएका मीनबहादुर गुरुङले एमालेका लागि जग्गा र भवनसहित करोडौ दान गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई ओली समूहले हौसिदै दान लिएको थियो र पार्टी कार्यालय भवनको शिलन्यास समेत गरिएको थियो । तर, अन्तमा मच्चियो मच्चियो अन्तिमा थच्चियो भने जस्तै एमाले आफ्नै निर्णयमै थच्चिएको हो ।
एमालेलाई जग्गा दान दिएको भन्दै भाटभटेनी संचालक गुरुङले पनि ठूलो क्षति बेहोरे । गएको भदौमा भएको जेनजी विद्रोहको बेलामा भाटभटेनीले ठूलो क्षति बेहोर्न परेको हो । एमालेसँगको सम्बन्धकै कारण जेनजी आन्दोलनका क्रममा भाटभटेनीका संचालक गुरुङको १४ भाटभटेनी सुपर मार्केट आगजनी गरेर पूर्णरुपमा क्षति पु¥याइएको थियो। गएको निर्वाचनमा एमालेको झण्डै १४ लाख मत घट्नुको कारण पनि ओलीले गरेका यस्तै गल्तीहरुको नतिजा हो । ०००००








